नेकपा एमाले म्याग्दीका पाँच हस्ती नेकपा एमालेको चितवनमा शुक्रबारदेखि सुरू भएको १० औ राष्ट्रिय महाधिबेशनमा केन्द्रीय सदस्यका आकांक्षी देखिनुभएको छ ।
महाधिवेशनमा प्रचारप्रसार नगरी वर्तमान स्थायी कमिटी सदस्य थममाया थापा, केन्द्रीय सदस्य भुपेन्द्रबहादुर थापा, प्रदेश कमिटीको सचिवालय सदस्य एवम् संविधानसभा सदस्य नवराज शर्मा, पूर्व सामाजिक विकासमन्त्री नरदेबी पुन र जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठले केन्द्रीय सदस्यमा आफ्नो दावी प्रस्तुत गर्नुभएको हो ।
जारी महाधिवेशनमा महिला नेतृ थापाले आफ्नो पूरानो पदलाई कायम गदैं थप जिम्मेबारीका लागि लविङ गरिरहेको बताइएको छ भने संघीय सरकारको पूर्व राज्यमन्त्री तथा गण्डकी प्रदेशमा समेत सामाजिक विकास मन्त्रालयको जिम्मेबारी सम्हालिसकेकी पुनको समेत यसपटक केन्द्रीय सदस्यका लागि यात्रा सजिलो बनेको छ ।
प्रदेश सांसद पुनलाई खुल्ला र जनजाति दुबैतर्फबाट केन्द्रीय सदस्यका लागि बाटो खुल्ला छ । नेकपा एमालेले यसपटक पुनलाई केन्द्रीय सदस्य बनाउन जिल्लाको लविङ धेरै आवश्यकता नपर्ने एक एमाले नेताले बताए । ‘उहाँको राजनीतिक र शैक्षिक योग्यताको समेत पार्टीमा चर्चा हुन्छ,‘यसपटक चितवनमा उहाँको माहोल छ’ महाधिवेशनमा सहभागी बेनी नगरपालिकाका एक नेताले बेनीअनलाइनलाई भने ।
त्यस्तै प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाको समेत केन्द्रीय सदस्यमा कुनै समस्या नभएको एक नेताले बताए । पूर्व मन्त्री थापा र सांसद थापा अघिल्लो कार्यकालका केन्द्रीय कमिटीमा समेत रहेकाले यसपटक समेत निरन्तरता पाउने अवस्था रहेको छ । त्यस्तै संविधानसभाका सदस्य शर्माले नेकपा तथा एमालेको सरकारमा समेत प्रदेश कमिटी बाहेक अन्य राजनीतिक जिम्मेबारी नपाएकाले यसपटक काठमाण्डौमै बसेर नेताहरूलाई केन्द्रीय राजनीतिका लागि अनुकुल बाटो बनाइदिन अनुरोध गर्नुभएको छ ।
हाल जिल्ला अध्यक्ष रहनुभएका श्रेष्ठले समेत दुई कार्यकाल जिल्लाको अध्यक्षको जिम्मेबारी सम्हालेकाले अब केन्द्रीय राजनीतिको विकल्प नभएकाले आफ्नो मुल्याङ्कन हुनेमा विश्वस्त हुनुहुन्छ । केन्द्रीय सदस्यका पाँच उम्मेदवार मध्ये थापा, पुन, शर्मा जिल्लाबाट निर्वाचित तथा सामनुपातिकतर्फ संघीय र प्रदेश सांसदमा प्रतिनिधित्व गरेपनि जिल्ला अध्यक्ष श्रेष्ठले भने जिल्लाकै जिम्मेबारीमै हुनुहुन्छ ।
नेता श्रेष्ठ केन्द्रीय कमिटीमा अट्ने सम्भावना धेरै भएपनि एक निर्वाचन क्षेत्र रहेको म्याग्दीले आकांक्षी सबैलाई केन्द्रीय कमिटीमा ब्यवस्थापन गर्न सक्ने अवस्था भने पार्टीमा नरहेको बताइएको छ । नेकपा एमालेबाट माधव नेपाल पक्ष अलग भएपनि हाल केन्द्रीय सदस्यका उम्मेदवारहरु सबै अध्यक्ष केपी शर्मा ओली निकट हुनुहुन्छ । महाधिवेशनपछि नेकपा एमाले म्याग्दीको अधिवेशन समेत हुने भएकाले अव जिल्लाको नेतृत्व कस्ले गर्छ भन्नेमा समेत बहस सुरु भएको छ।