नेपाली समाजमा दशैँ पर्व भन्ने बित्तिकै प्रायः मासु खाने पर्वका रुपमा लिइन्छ । दशैँमा मासु, केरा, कुराउनी, स्याउलगायत फलफूलहरुको बढी प्रयोग हुन्छ । दशैँलाई नेपालीहरुको महान पर्वका रुपमा मानिएको छ ।
दशैँपछि लगत्तै आउने अर्को दोस्रो ठूलो पर्व हो, तिहार । तिहार भनेपछि खासगरी सेलरोटी, झिनियाँलगायत परिकारलाई सम्झिन्छ । तिहारमा मुख्य रुपमा सेल पकाउने र झिनियाँ बनाउने गरिन्छ । नेपाली समाजको आफ्नै खाले विशेषता भएकाले चाडपर्वअनुसार विभिन्न परिकारहरु बनाएर खाने चलन छ।
तिहार पर्व विशेषतः दाजुभाइ र तीज पर्व भने दिदीबहिनीहरुका लागि नेपाली समाजको परम्पराको रुपमा रहेको छ।
तीजमा दाजुभाइहरुले आफ्ना दिदीबहिनीलाई बोलाएर मीठोमीठो खुवाउने र तिहारमा दिदीबहिनीहरुले मीठोमीठो परिकार बनाएर आफ्नो माइतीघर लैजाने, दाजुभाइलाई तिहारको भाइटीका लगाएर खुवाउने चलन रहिआएको छ । तीज र तिहार पर्व नेपाली समाजमा दाजुभाइ र दिदीबहिनीका लागि निकै महत्त्वपूर्ण छन्।
यतिबेला नेपालीहरुको घर, आँगन, दैलामुनि र बारीका डिलमा सयमत्री, मखमली, तिहारे फुललगायत विभिन्न फूलहरु ढकमक्क फुलिरहेका छन् । कार्तिक कृष्णपक्षको त्रयोदशीदेखि सुरु हुने तिहार पर्व नेपाली समाजको घर आँगनमा भित्रिसकेको छ।
नेपाली समुदाय तिहारलाई स्वागतसँगै झिलिमिली बनाउन तल्लीन छन् । तिहारलाई उज्यालो पर्वका रुपमा मानिन्छ । दाजुभाइ र दिदीबहिनी बीचको सम्बन्धलाई अझ गहिरो बनाउन तिहार पर्वले पनि विशेष भूमिका खेलेको पाइन्छ।
यसैक्रममा हिमाली जिल्ला म्याग्दीका महिला उद्यमीहरुलाई तिहारका लागि झिनियाँ बनाउन भ्याइनभ्याइ छ । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार पर्व आएलगत्तै उनीहरुलाई झिनियाँ बनाउने चटारो सुरु भएको हो ।
बेनी नगरपालिका–८ हस्पिटलचोककी महिला उद्यमी भुलकुमारी रोका यतिबेला झिनियाँ बनाउने, सुकाउने र बिक्री गर्ने काममा व्यस्त हुनुहुन्छ । बेनी ओर्लिएपछि २०६० सालबाट झिनियाँ बनाउने काम सुरु गर्नुभएकी उहाँले पछि बिस्तारै व्यावसायिक रुपमा झिनियाँ बनाउन थाल्नुभयो ।
सुरुवातको समयमा सामूहिक रुपमा पाँच जनाले झिनियाँ बनाएकोमा अहिले उहाँसँगै दुईजना छन्।
महिला उद्यमी रोकाले पाँच हजार रुपैयाँको मेसिनबाट झिनियाँ बनाउन सुरु गर्नुभएको थियो । यसपटक तिहार पर्व नजिकिएसँगै झिनियाँ बनाउन सुरु गर्नुभएकी उहाँले हरेक वर्ष दशैँ, तिहार तथा अन्य समयमा अर्डर अनुसारका विभिन्न रङका झिनियाँ बनाउने गरेको जानकारी दिनुभयो ।
एक बोरा चामलबाट चार हजारभन्दा बढीको झिनियाँ उत्पादन हुने गरेको उहाँले अनुभव सुनाउनुभयो । १ दर्जन झिनियाँलाई एकसय ६० रुपैयाँका दरले बिक्री गर्ने गरेको महिला उद्यमीहरु बताउँछन् ।
रघुगङ्गा गाउँपालिका–६, कोटगाउँकी विमला शेरपुन्जालाई पनि झिनियाँ बनाउन भ्याइनभ्याइ छ । बेनीमा आएर झिनियाँ बनाउन ७/८ वर्षदेखि सुरु गर्नुभएकी उहाँले तीन वर्षदेखि व्यावसायिक रुपमा झिनियाँ उत्पादन गरेर बिक्री वितरण थाल्नुभएको हो ।
उहाँले बिहानको समयमा झिनियाँ बनाउने र सुकाउने गरिरहनुभएको छ । बजारमा सजिलै बिक्री हुने झिनियाँ पोखरा, काठमाण्डौसहित विदेशमा समेत आफन्तहरुले कोसेलीको रुपमा लैजाने गरेको उहाँले जानकारी दिनुभयो ।
रोका र शेरपुन्जा जस्तै सदरमुकाम बेनीबजारदेखि जिल्लाको ग्रामीण भेगसम्मका महिलाहरु तिहार आएसँगै झिनियाँ र सेलरोटी बनाउने तयारीमा जुटेका छन् । दशैँ तिहारमा अन्य परिकारसँगै झिनियाँलाई पनि मानिसहरुले रुचाउने गरेको हुँदा निकै मेहनतका साथ बनाइने झिनियाँ स्वादिलो हुन्छ ।
हरेक वर्ष बडा दशैँ, तिहार पर्व, व्रतबन्ध, विवाह, पूजाआजा र अन्य समयमा झिनियाँ बिक्री गरेरै महिलाहरुले मनग्य आम्दानी गर्दै आइरहेका छन् । चाडपर्वका साथै बर्थ–डे पार्टी, अन्य भोजभतेरसहित माङ्गलिक तथा सामाजिक कार्यमा झिनियाँ खपत हुने गरेको छ ।
म्याग्दीमा उत्पादित झिनियाँ पोखरा र काठमाण्डौको बजारसम्म पुग्ने गरेको छ । झिनियाँको आम्दानीले लगानी उठ्नुका साथै घरखर्च चलाउन, बालबच्चाको पढाइ खर्च जुटाउन, चाडपर्व मनाउन र केही रकम बचत गर्ने गरेको उद्यमी रोकाले अनुभव सुनाउनुभयो ।
सेलरोटी पकाउन झिजो मान्ने वा नसक्नेहरुका लागि झिनियाँ धेरै उपयोगी परिकारका रुपमा रहेको छ।
उज्यालोको पर्वका रुपमा लिइने नेपालीहरुको दोस्रो ठूलो चाड तिहारमा झिनियाँ, सेलरोटी, मिठाइ जस्ता परिकारहरु खाने तथा सयपत्री, मखमली, गोदावरी, तिहारे फुलसहित विभिन्न प्रकारका फूलहरु उनेर बनाएको माला लगाएर तिहार पर्व मनाउने गरिन्छ ।
तिहारलगायत चाडपर्वमा मीठो–मीठो खाने, नयाँ कपडा लगाउने, पिङ तथा चमच्चा (रोटेपिङ) खेल्ने प्रचलन सदियौंदेखि चलिआएको छ ।
कसरी बनाइन्छ झिनियाँ ?
झिनियाँ बनाउन सबैभन्दा पहिला चामललाई पखालेर घाममा सुकाइ त्यसलाई पिसेर पीठो बनाइन्छ । त्यही पीठोलाई गहिरो तथा ठूलो भाँडो (डेक्ची वा ताउली)मा पानीसँगै रङ मिसाएर भिजाइन्छ र आगोमा मज्जाले पकाउँदै मस्काएर ढिँडो पारिन्छ । त्यसपछि ढिँडो बनेको कच्चापदार्थ (पीठो)लाई झिनियाँ बनाउने मेसिनमा खाँदेर राखिन्छ । त्यहाँ मस्काएको ढिँडो मेसिनमा राखेपछि मेसिनलाई बिस्तारै हातले घुमाएर पेलिन्छ र विभिन्न किसिमका आकर्षक झिनियाँहरु बन्ने गर्दछन् । यसरी बनाएको झिनियाँलाई घाममा सुकाएपछि तेल वा घ्यूमा फुराएर (पकाउने) र त्यो खानका लागि तयार हुन्छ ।
झिनियाँबाट आम्दानी गर्दै उद्यमी
हाते सिपको प्रयोग गरेर बनाएको झिनियाँ बिक्री गरेर महिलाहरुले मनग्य आम्दानी गर्दै आइरहेका छन् । थोरै लगानीमा पनि झिनियाँ बनाउन सकिने भएकाले महिला उद्यमीहरु एकल तथा सामूहिक रुपमा झिनियाँ बनाउने काममा लागेका छन् ।
झिनियाँको प्रति दर्जन १६० रुपैयाँ मूल्य तोकिएको छ । महिला उद्यमीहरुले दशैँ तिहार चाडपर्वमा मात्रै झिनियाँ उत्पादन र बिक्री गरेर एकलाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आइरहेका छन् । बजारमा सजिलै बिक्री हुने झिनियाँबाट आकर्षक आम्दानी हुने उनीहरुको भनाइ छ ।
झिनियाँ बनाउन महिलाको आकर्षण
थोरै लगानी र छोटो समयको अवधिमा पनि झिनियाँ बनाउन सकिने भएपछि म्याग्दीका महिलाहरुको झिनियाँप्रति आकर्षण बढ्दै गएको छ । कतिपय महिलाहरु सामूहिक रुपमै झिनियाँ बनाउने पेसा, व्यवसायमा आबद्ध छन् भने कोही एकल रुपमा लागेका छन् ।
म्याग्दीको सदरमुकाम बेनीमा मात्रै हस्पिटल चोक, शिक्षामार्ग, न्युरोड, हुलाकचोक, बैंक रोड, मङ्गलाघाट क्षेत्रका महिलाहरुले झिनियाँ बनाउँदै आइरहेका छन् । त्यस्तै जिल्लाको ग्रामीण भेगका महिलाहरुले समेत झिनियाँ बनाउन थालेसँगै झिनियाँ बनाउने महिला उद्यमीहरुको सङ्ख्या पनि बढ्दै जान थालेको जनाइएको छ ।
विदेशसम्मै पुग्छ झिनियाँ
म्याग्दीका महिला उद्यमीहरुले बनाएको झिनियाँ सदरमुकाम बेनीबजारसहित ग्रामीण भेग तथा सहर, बजारमा बिक्री हुने गरेको छ । यस्तै पोखरा, काठमाण्डौ हुँदै बेलायत, अमेरिका, कोरिया, अस्ट्रेलिया, साउदीअरब र कतार जानेहरुले समेत झिनियाँ खरिद गरेर लैजाने गरेका छन् ।
विदेशमा बस्ने आफन्तजन तथा अन्य विदेश जानेहरुले काँचो झिनियाँ खरिद गरेर लैजान्छन् । विदेशिने नेपाली दाजुभाइहरुले पनि झिनियाँलाई कोसेलीको रुपमा लैजाने गरेका छन् । खाजाको रुपमा उपयोग गर्न सकिने हुँदा झिनियाँ गाउँदेखि सहर, बजार हुँदै विदेशसम्म पुग्ने गरेको छ ।
उद्यमीलाई सहयोगको आवश्यकता
यसैबीच झिनियाँ बनाउने कार्यमा संलग्न महिला उद्यमीहरुलाई सहयोग गर्नुपर्ने आवश्यकता देखिन्छ । पछिल्लो समय आधुनिक प्रविधिको विकाससँगै झिनियाँ बनाउन सहज हुने विभिन्न प्रकारका मेसिनहरुको आविष्कार भएसँगै उनीहरुलाई उपकरण, औजारलगायत आर्थिक अनुदान सहायताको आवश्यक परेको हो । जुनसुकै समयमा पनि झिनियाँ उत्पादन र बिक्री वितरण गर्न सकिने भएकाले यसका लागि आवश्यक पर्ने कच्चापदार्थसहित उपकरण आवश्यक रहेको महिला उद्यमीको माग छ ।
झिनियाँ बनाउने काममा सक्रिय महिलाहरु आत्मनिर्भर बन्दै गएको हुँदा उनीहरुको व्यवसायलाई अगाडि बढाउन आर्थिक सहयोग गर्नुपर्ने अगुवा महिला भुलमाया तिलिजा बताउनुहुन्छ।