आधुनिक बसपार्क निर्माण गरेका स्थानमा केही वर्ष अघिसम्म लहलह धान झुल्थे । जिल्लामा व्यवस्थित बसपार्कको अभाव देखेका स्थानीयले बागलुङ नगरपालिकालाई आफ्नो धान फल्ने खेतमा निःशुल्क रुपमा बसपार्क निर्माण गर्न दिन तयार भए ।

फलस्वरुप बागलुङमा आधुनिक बसपार्क निर्माण गर्ने सपना १९ वर्षपछि पुरा त भयो । आधुनिक बसपार्क सञ्चालनमा भने अझै केही चुनौती बाँकी नै छन् । यसले बसपार्क सञ्चालन र व्यवस्थापनमा केही समय अझै घर्किने संकेत देखिएको छ । सो बसपार्क सुविधा सम्पन्न र नमूना डिजाइनमा तयार पारिएको छ ।

सो स्थानमा पुग्ने सडक तथा जग्गा दाताका लागि घडेरी व्यवस्थापनले बसपार्क सञ्चालनमा भने केही कठिनाइ देखाएको छ । यसलाई राष्ट्रिय राजमार्गले नछुँदा, बसपार्क पुग्ने सडक साँघुरो हँुदा र सम्झौता अनुसारको घडेरी व्यवस्थापनमा ढिलाई हुँदा सञ्चालमा ढिलाई भइरहेको छ ।

मध्यपहाडी लोकमार्ग र बेनी बागलुङ सडक नजिकै बसपार्क निर्माण भए पनि बस्तीको बीचमा साँघुरो सडक हुँदै जानुपर्ने भएकाले ठूला बस सञ्चालनमा कठिनाई हुँदा बैकल्पिक मार्ग तयार गर्नुपर्ने नगरपालिकालाई चुनौती छ ।

बसपार्क निर्माणका लागि बागलुङ बजारबासीले उपल्लाचौरका दाबगरामा व्यक्तिगत जग्गा नगरपालिकालाई हस्तान्तरण गरेको १९ वर्षपछि बसपार्क निर्माण गरे पनि अन्य जग्गामा बस्ती व्यवस्थापनाका लागि उपर्युक्त घडेरी व्यवस्थापन गरी जनतालाई फिर्ता गर्ने कार्यमा ढिलाइ भएको जनाइएको छ ।

लामो समय सरकारी उदासिनताका कारण अलपत्र परेको बसपार्क निर्माण जनप्रतिनिधिको आगमन सँगै २०७५ सालमा नगरपालिकाको पहलमा गति लिएको थियो । गत असारमै सम्पन्न भएको बसपार्क कहिले सञ्चालनमा आउला भन्ने चिन्ता र चासो स्थानीयमा छ । स्थानीयले उपलब्ध गराएको ५९ रोपनी जग्गाबाट साढे १७ रोपनी जग्गामा बसपार्क र अन्य जग्गामा व्यवस्थित बसोबासका लागि एक सय २७ वटा घडेरी निर्माण गरेर स्थानीयलाई फिर्ता गर्नुपर्ने छ ।

नगरपालिकाले घडेरी व्यवस्थापनाका लागि पटक÷पटक बजेट विनियोजन गदै आएको र छिट्टै बसपार्क सञ्चालनमा ल्याउने नगर प्रमुख जनकराज पौडेलले बताउनुभयो । उहाँले व्यवस्थित घडेरी निर्माण गरी स्थानीय जग्गादातालाई हस्तान्तरण गरिने बताउनुभयो ।

“ठूलो चुनौतीका बाबजुद नगर विकास कोषबाट ऋण लिएर बसपार्क निर्माण गरेका हौं, स्थानीयले दिएको जग्गामा सम्झौता बमोजिम बसपर्का बनाएको र बाँकी रहेको जग्गालाई व्यवस्थित गरी दातालाई बुझाइनेछ, केही समय लाग्ला छिट्टै बसपार्क सञ्चालनमा आउनेछ” उहाँले भन्नुभयो “जग्गा व्यवस्थापनका लागि नगरपालिकाले हाल सम्म एक करोड ३५ लाख बजेट बिनियोजन गरिसकेको छ, बसपार्क चलाउदै घडेरी बनाउदै लैजाने योजना छ ।”

उहाँका अनुसार शुरुमा घडेरी निर्माण गर्न रु ४० लाख, पर्खाल लगाउन रु २० लाख दिइसकिएको छ, चालु आार्थिक वर्षमा रु ७५ लाख बजेट विनियोजन गरेको र यसपटक घडेरीले आकार लिने उहाँको भनाइ छ ।

Leave a Reply