म्याग्दीको बेनी नगरपालिका–४, तातोपानीमा सञ्चालित सरस्वती माध्यमिक विद्यालय म्याग्दीखोला कटानको चपेटामा परेको छ । वर्षेनी वर्षात्को समयमा खोलामा आउने भलबाढीको चपेटामा पर्दै आइरहेको विद्यालय यसवर्ष भने म्याग्दीखोलाको कटानबाट उच्च जोखिममा परेको हो ।

 

गएको जेठ अन्तिम र असारको पहिलो साता भीषण वर्षासँगै खोलामा आएको बाढीले कटान गर्दा विद्यालय उच्च जोखिममा परेको छ । म्याग्दीखोला नदी किनारदेखि केही मिटर मात्रै माथि रहेको विद्यालयले वर्षामा आउने बाढी, पहिरो र भू–क्षयबाट बढ्दो जोखिमको सामना गरिरहेको छ ।

सरस्वती माविको विद्यालय भवनसँगै उपल्लो तातोपानी बजार क्षेत्र, मसारको मानव वस्ती र सडक समेत जोखिममा परेको स्थानीयवासीले बताएका छन् ।वर्षासँगै म्याग्दीखोलाको कटानबाट स्थानीयको करिब १६ रोपनी खेत नष्ट भएको छ भने विद्यालयसँगै तातोपानी जलमाई भगवती आमा समूहको भवन समेत उच्च जोखिममा परेको छ । गएको जेठ ३१ र असार १ गते परेको अविरल वर्षाका कारण म्याग्दी नदीको कटानले विद्यालयको क्यान्टिन बगाएको छ भने विद्यालयको चारकोठे भवन तथा शौचालय उच्च जोखिममा परेको सरस्वती माध्यमिक विद्यालय तातोपानीका प्रधानाध्यापक सुरत बानियाँले गुनासो गर्नुभयो ।

तत्काल विद्यालय संरक्षण गर्नका लागि आवश्यक कदम चाल्न नसकेमा विद्यार्थीहरु समेत तितरबितर हुन सक्ने विद्यालयको भनाइ छ । सरस्वती माविको सेवा क्षेत्र ठूलो रहेकोमा अहिले २ सय ५० जनाभन्दा बढी विद्यार्थीहरुले अध्ययन गर्दै आइरहेका छन् । वर्षाका कारण म्याग्दी नदीको कटानले बेनी–दरबाङ सडकखण्ड अन्तर्गतको तातोपानीको उपल्लो बजार भएर आवतजावत गर्ने वैकल्पिक सडकमा पनि क्षति पु¥याएको छ । म्याग्दीखोलाको कटानले सडक तथा विद्यालयको क्यान्टिन बगाउनु, स्थानीयको खेतीयोग्य जमिन नष्ट गर्नु र आमा समूहको भवन तथा मानव वस्तीलाई नै जोखिममा पारेको हो ।

वर्षातका कारण नदी कटानको जोखिम नरोकिएको हुँदा त्रासका बाबजुद पठनपाठन सञ्चालन गर्नुपर्ने बाध्यता रहेको विद्यालयले जनाएको छ । यसवर्ष परेको वर्षाका कारण मसार क्षेत्रमा बाढीको कटानले उच्च जोखिममा रहेका १४ घरमध्ये ८ घर विस्थापित भएका छन्भने उनीहरुलाई आफन्तकोमा स्थानान्तरण गरिएको वडा कार्यालयले जानकारी दिएको छ । म्याग्दीखोलाको कटानबाट हुने क्षतिलाई रोक्न र संरक्षणका लागि डिपिआर निर्माण गरेर सम्बन्धित निकायमा पठाइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

२०२८ सालमा स्थापना भएको विद्यालयमा हाल कक्षा १० सम्म अध्ययन तथा अध्यापनको कार्य हुँदै आइरहेको छ । विद्यालयमा पछिल्लोपटक कम्प्युटर तथा साइन्स ल्याब, पुस्तकालय र विद्यालय भवनसहित भौतिक संरचनाहरु समेत थपिएका छन् । म्याग्दी सदरमुकाम बेनीबजारदेखि ९ किलोमिटरको दुरीमा तातोपानी पर्दछ । मानव वस्तीदेखि नजिकै रहेको म्याग्दी नदीको कटानलाई रोक्न र विद्यालय तथा वस्ती जोगाउन सम्बन्धित निकायले समयमै आवश्यक पहल गर्नुपर्ने आवश्यकता देखिन्छ ।

Leave a Reply