काठमाण्डाै – आँखाको दृष्टि नै गुम्न सक्ने खतरा रहेको सापु रोगका बिरामी बढ्न थालेका छन् ।

पछिल्लो  समय पहाडी जिल्ला गुल्मी, पाल्पा, कास्कीलगायत काठमाण्डौ उपत्यकामा समेत सापु रोगका बिरामीहरु बढ्न थालेका हुन् । सापु रोगको सङ्क्रमण बढ्न थालेकाले सावधानी अपनाउन डाक्टरले सुझाव दिएका छन् ।

सिजनल हाइपरएक्युट पानुभिआइटिस अर्थात सापु रोगको सङ्क्रमण सेतो पुतलीबाट हुने दृष्टि विषेशज्ञ डा. अरुण ढुङ्गानाले जानकारी दिनुभयो । उहाँका अनुसार पुतलीलाई छोएर आँखामा हात लगेमा सङ्क्रमण हुन सक्छ ।

बत्तीको वरिपरि घुम्ने सेतो पुतलीको शरीरमा हुने हानिकारक रसायनको असरले आँखाको दृष्टि नै गुम्ने भएकाले जोगिन डा. ढुङ्गानाको सुझाव छ । विशेषगरी भदौदेखि मंसिर महिनासम्म सेतो पुतलीको प्रजनन सुरू हुने भएकाले यो बेला सापुका बिरामी धेरै देखिने गरेका उहाँले बताउनुभयो ।

कहिलेकाहीँ र कमैमा देखिने भए पनि यो आँखामा लाग्नेमध्येको खतरनाक रोग रहेको आँखा विशेषज्ञले बताएका छन् ।

आँखाको दृष्टि नै गुम्ने खतरा भएकाले सकेसम्म सेतो पुतलीको सम्पर्कमा नआउनु नै सापु रोगबाट बच्ने एकमात्र उपाय हो ।

सेतो पुतलीले छोएको दुई दिनभित्र अस्पताल नपुगे दृष्टि नै गुम्ने खतरा धेरै हुने भएकाले सचेत हुन डाक्टर ढुङ्गानाको सुझाव छ । नेपालमा २०३२ सालमा पहिलो पटक यो रोग देखिएको थियो।

यो रोगको निदान तथा उपचार आँखा विभाग तथा अस्पतालहरुमा मात्र गरिन्छ । सापुको आकस्मिक उपचार सेवा, आँखाभित्र औषधिको सुई लगाएर तथा जटिल अवस्थामा आँखाको शल्यक्रियामार्फत् समेत गरिन्छ । समयमा उपचार भएमा मात्र आँखा निको हुन्छ । नत्र आँखाको दृष्टि नै गुम्न सक्छ।

लक्ष्यणहरु :

-एक्कासी  एउटा आँखा रातो हुने

-उज्यालोमा हेर्न गाह्रो हुने

-आँखाको कालो भागको बीचमा सेता दाग देखिने

-चिप्रा नलाग्ने

-दृष्टि कम हुँदै जाने

-उपचारमा ढिलाइ भएमा कालो नानीमा सेतो देखिनु

बच्ने उपाय :

-सेतो पुतलीबाट जोखिने

-कोठामा पुतली पस्न नदिन झ्यालढोकामा जाली लगाउने

-झुल लगाएर सुत्ने

-सेतो पुतलीलाई सिधै हातले नछुने

-हातले छोइहाले साबुनपानीले राम्ररी हात धुने

-हात नधोइकन आँखामा छुँदै नछुने

-झुक्किएर छोइहाले आँखा सफा गरेर तुरुन्तै आँखा अस्पताल जाने ।

-रोगको लक्ष्यण देखा परेमा वा शङ्का लागेमा तुरुन्तै आँखा विभाग, अस्पताल जाने

-आफूखुसी कुनै पनि आँखाको औषधि तथा जडीबुटी नराख्ने

-डाक्टरको सल्लाहमा उपचार गर्ने  ujjaloonline.com

Leave a Reply