म्याग्दीमा सोमबार ८ जनामा कोरोना भाइरस कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसबाट हालसम्मको तथ्याङ्कअनुसार जिल्लाभर संक्रमित हुनेको संख्या कुल ३ हजार १ सय ५४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा अन्नपूर्ण गाउँपालिकामा पिसिआर विधिबाट गरिएको परीक्षणमा ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । यसैगरी एन्टीजेन विधिबाट गरिएको कोरोना परीक्षणमा बेनी नगरपालिकामा २, मंगला गाउँपालिकामा २ र रघुगंगामा १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो ।

म्याग्दीमा पिसिआर विधिबाट हालसम्म १ हजार ९ सय ६३ जना र एन्टिजेन विधिमार्फत परीक्षण गर्दा १ हजार १ सय ९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख लम्सालले बताउनुभयो । त्यस्तै हाल जिल्लामा कोरोनाका १ सय १८ जना सक्रिय संक्रमितहरु रहेकोमा आज १७ जना संक्रमित निको भएर आईसोलेसनमुक्त भएका छन् ।

पछिल्लो समय म्याग्दी जिल्लाको सदरमुकाम बेनीसहित ग्रामीण भेगसम्मै कोरोना भाइरस संक्रमण फैलिरहेको छ । यसबाट बच्नका लागि सरकारले जारी गरेको जनस्वास्थ्यका मापदण्डहरुको पूर्ण रुपमा पालना गर्ने, मास्क लगाउने, भीडभाडमा नजाने र स्वास्थ्यमा कुनै समस्या देखिए तुरुन्तै स्वास्थ्य संस्थामा पुगेर परीक्षण गरेको खण्डमा कोरोना भाइरसको संक्रमणबाट बच्न सकिने स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।

Leave a Reply