म्याग्दीमा आईतबार ३१ जनामा कोरोना भाइरस कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसबाट आइतबारसम्मको तथ्याङ्कअनुसार जिल्लाभर हालसम्म कुल ३ हजार १ सय ४६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा बेनी नगरपालिकामा पिसिआर विधिबाट ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । यसैगरी एन्टीजेन विधिबाट गरिएको कोरोना भाइरसको परीक्षणमा मंगला गाउँपालिकामा २४, रघुगंगामा २ र बेनी नगरपालिकामा १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो ।

म्याग्दीमा पिसिआर विधिबाट १ हजार ९ सय ६० जना र एन्टिजेन विधिमार्फत परीक्षण गर्दा १ हजार १ सय ८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख लम्सालले बताउनुभयो । त्यस्तै हाल जिल्लामा कोरोनाका १ सय २७ जना सक्रिय संक्रमितहरु रहेकोमा आज ८ जना संक्रमित निको भएर आईसोलेशनमुक्त भएका छन् ।

पछिल्लो समय म्याग्दी जिल्लाको सदरमुकाम बेनीसहित ग्रामीण भेगसम्मै कोरोना भाइरस संक्रमण फैलिरहेको छ । यसबाट बच्नका लागि सरकारले जारी गरेको जनस्वास्थ्यका मापदण्डहरुको पूर्ण रुपमा पालना गर्ने, मास्क लगाउने, भीडभाडमा नजाने र कुनै पनि स्वास्थ्य समस्या देखिएमा तुरुन्तै स्वास्थ्य संस्थामा पुगेर परीक्षण गरेको खण्डमा कोरोना भाइरसको संक्रमणबाट बच्न सकिने स्वास्थ्यकर्मीले बताएका छन् ।

Leave a Reply