लगातारको वर्षाका कारण म्याग्दी जिल्लाभर १ सयभन्दा बढी घरधुरी विस्थापित भएका छन् । सोमबार रातिदेखिको बर्षाले जिल्लाको ६ वटै स्थानीय तहमा बाढीपहिरोले घर भत्किने र चिराचिरा परेपछि बासस्थान छोडेर विद्यालयका साथै आफन्त र छिमकीको घरमा स्थानान्तरण गरिएको छ ।

जिल्लामा बेनी नगरपालिका ४५ घर, धवलागिरी गाउँपालिका २०, अन्नपूर्ण गाउँपालिका १५, रघुगंगा गाउँपालिका १० र मंगला गाउँपालिका १० घर परिवार सानो–ठुलो पहिरोबाट तत्काल घरमा बस्न नसकिने अवस्थाका कारण विस्थापित भएका छन् ।

बाढीपहिरोबाट अन्नपूर्णमा २ र मंगलामा २ जना घाईते भएकोमा चारै जनालाई थप उपचारका लागि सडक र हवाईमार्ग हुदै पोखरा पठाइएको छ ।

जिल्ला प्रशासन कार्यालयमा हालसम्म ७९ घरपरिवारका ३ सय २२ जना विस्थापित भएको तथ्याङ्क उपलब्ध भएको सहायक प्रजिअ सुवास शर्मा पौडेलले बताए। सदरमुकाम समेत रहेको बेनीबजारमा समेत बस्तीमाथिबाट खसेको भलबाढीसँगै कालिगण्डकी र म्याग्दी नदीको कटानले उच्च जोखिममा परेको छ ।

भिरालो जमिन, कमजोर माटो, भूमिगत जलप्रवाह, बस्ती नजिकबाट सडक विस्तार लगाएत विभिन्न कारणले बर्षेनी म्याग्दीमा बाढीपहिरोले वितण्डा मच्चाउने गरेको छ । जिल्लामा रहेको कुल २ हजार २९७.०६ वर्ग किमी क्षेत्रफलबाट ३७ लाख ४५ हजार, ६९० घन मिटर मलिलो माटो बग्ने गरेको कारण ग्रामिण क्षेत्रमा ठूलो परिमाणमा भू–क्षय र पहिरो जाने गरेको तथ्याङ्क छ । जिल्लाको कुल बर्ग किलोमिटरमा प्रतिबर्ष बग्ने मलिलो माटोले जिल्ला बाढीपहिरोमा उच्च जोखिममा रहेको देखिएको छ ।

Leave a Reply