म्याग्दीमा अस्पतालमा भर्ना हुने कोरोनाका बिरामीको संख्या ह्वात्तै घटेको छ । बैशाख र जेठ महिनामा संक्रमितले खचाखच भरिएको अस्पतालमा शुक्रबार ६ जना डिस्र्चाज भएपछि आइसोलेसन वाडमा कुरुवा बाहेक दुई जना संक्रमित उपचाररत छन् । जटिल लक्षण देखिएका कोरोना संक्रमित घटेसँगै अस्पतालमा बिरामीको चाप घटेको अस्पतालका प्रमुख डा.जितेन्द्र कँडेलले बताउनुभयो ।

‘अहिले भर्ना हुन आउने संक्रमितको संख्या निकै न्यून रहेको छ,‘कुनैदिन दैनिक ३५ जना संक्रमतिलाई भर्ना गरेर समेत उपचार गरियो’ डा. कँडेलले भन्नुभयो । कोरोनाको दोस्रो लहर फैलिएपछि बेनी अस्पतालको आकस्मिक कक्ष, आइसोलेसन बाहेक ओपिडीको भवनमा समेत कोरोनाका जटिल विरामीको उपचार गरिएकोमा शुक्रबार आइसोलेसन कक्ष समेत रित्तिएको छ ।

हाल भर्ना भएका संक्रमतिको अवस्था सामान्य भएकाले कोरोनाका जटिल समस्या हुने बिरामीको चाप घट्दै गएको अस्पतालले जनाएको छ । शरीरमा अक्सिजनको अभाव भएपछि भर्ना भएका बिरामीहरु लामो समयसम्म उपचार पछि मात्रै घर फर्किने गरेका छन् ।

संक्रमण दर घट्यो भनेर स्वास्थ्य सावधानी अपनाउन लापरवाही भने गर्न नहुने बेनी अस्पतालका मेडिकर कोअर्डिनेटर डा. नवराज बस्ताकोटीले बताउनुभयो । कोरोनाको लक्षणसँग मिल्ने समस्या देखिएमा तत्काल स्वास्थ्य संस्थामा जानुपर्ने डा. बस्ताकोटीको सुझाव छ ।

म्याग्दीमा शुक्रबार २६ जनामा कोरोना संक्रमणको पुष्टि भएकोमा १६ जना आइसोलेसनमुक्त भएका छन् । बेनी नगरपालिकामा ६ जना , रघुगंगा ५ जना , अन्नपुर्ण १२ जना , मालिका १ जना , मंगला गाउँपालिका २ जना गरी २६ जनामा एन्टीजेन विधिबाट गरीएको परीक्षण गरिएकोमा पोजेटिभ नतिजा आएको थियो । स्थनीय तहले समुदायस्तरमै पुगेर एन्टीजेन परीक्षणलाई तिब्रता दिएका छन् ।

यो संगै म्याग्दीमा कोरोना संक्रमितको संख्या २१९३जना पुगेको छ (पिसिआरबाट १५६५ जना र एन्टिजेनबाट ६२८ ) रहेकोमा ३८ वटा नमुनाको रिपोर्ट आउन बाँकी रहेको छ। अझै म्याग्दीमा २ सय १८ जना सक्रिय संक्रमित छन् । म्याग्दीमा कोरोनाबाट मृत्यु हुनेमा अक्सिजनको अभाव, निमोनियाको समस्या भएका र दीर्घरोगीहरूमा बढी समस्या देखिएको छ । पछिल्लो समय रक्तचाप, मधुमेह लगायत दीर्घरोगीहरू संक्रमणको चपेटामा परेका छन् ।

Leave a Reply