मेरले ६ दशक पार गरेकी बेनी बजारको विरेन्द्रचोक निवासी हिराकुमारी शर्मा (६१) आफ्नो पाँच तले घरको सिरानको कोठामा १० दिनसम्म होम आइसोलेशनमा बसिन् । वैशाख २२ गते कोरोनाको रिपोर्ट पोजेटिभ आएपछि जेठ १ गतेसम्म होम आइसोलेसनमा बसेकी शर्मालाई परिवारका सदस्य,आफन्त,इष्टमित्र र अस्पतालका चिकित्सकहरुले फोन गरेर वा प्रत्यक्ष भेटेर यति धेरै माया र हौसला दिए कि उनलाई म बिरामी भएकी छु भन्ने महशुस नै भएन ।

‘म सबैकी यति प्यारी मान्छे रैछु भन्ने कुरा मलाई कोरोनाले बुझाइ दियो’, उनले टेलिफोनमा भनिन् ‘परिवार,आफन्त,इष्टमित्र र भगवानरुपी डाक्टरहरुको शुभेच्छाका अघि टिक्न सकेन कोरोना, १०दिनमै भाग्यो ।’

हिराकुमारीले आफ्नो अनुभव सुनाउँदै भनिन् ‘बिरामी भएर ओछ्यान परेपछि मनले नानाभाँतीका कुरा सोच्न थाल्दो रहेछ,त्यतिबेला परिवार र आफन्तको साथ,सहयोग,माया, हौसला र समयसमयमा औषधी तथा पोषणयुक्त खानेकुरा पाएपछि रोगलाई जित्न सकिँदो रहेछ ।’

विज्ञान विषयमा स्नातोकोत्तर (एमएससी) गरेका बेनी २ बगरफाँटका हरि घिमिरेको अनुभव पनि हिराकुमारी शर्मासँग ठ्याक्कै मेल खान्छ । सामान्य खोकी लागेर स्वाव परीक्षण गराउँदा कोरोना पोजेटिभ रिपोर्ट आएपछि गत वैशाख १८ गतेदेखि घिमिरे पनि होम आइसोलेशनमा बसे ।

हरि घिमिरे

त्यतिबेलासम्म बगरफाँट गाउँमा कसैले पनि स्वाव परीक्षण गराएका थिएनन् । फेसबुकमा स्टाटस पोष्ट गर्दै आफूले स्वाव दिएर आएको र रिपोर्ट नआउन्जेलसम्म कसैसँग पनि सम्पर्कमा नआउने बताए । ४ दिनपछि रिपोर्ट पोजेटिभ आयो । उनले आफू कोरोना पोजेटिभ भएको र ४ दिन अघिसम्म आफ्नो नजिक बसेका (कन्ट्याक ट्रेसिङ) हरुलाई सचेत रहन आग्रह गरे ।
‘जब मैले आफू कोरोना पोजेटिभ भएको र सम्पर्कमा रहेकालाई सचेत रहन आग्रह गर्दै फेसबुकमार्फत जानकारी गराएँ, मेरो घरको बाटो भएर मानिसहरु हिँड्नै छोडे’,घिमिरेले भने,‘परिवारको हार्दिकतापूर्ण साथ,बेनी अस्पतालका डा.नवराज वस्ताकोटी र केही साथीहरु बाहेक गाउँका मानिसहरुले के कस्तो छ भनेर सोधपूछसम्म गरेनन्, गाउँलेहरुको सान्त्वना र हौसला नपाए पनि परिवार र चिकित्सकको आत्मीय व्यवहार र मायाले मैले ८ दिनमै कोरोनालाई जितें ।’
बगरफाँट गाउँमा अहिले १९ जना कोरोना संक्रमितहरु छन् ।

ती संक्रमितहरुलाई घिमिरेले सान्त्वना र हौसला दिँदै कोरोनालाई जित्न सकिने उपायहरु सिकाइरहेका छन् । आफ्नो अनुभव सुनाइरहेका छन् ।घिमिरेले कोरोना दैवी श्राप वा दुसाध्य र घृणित रोग नभएकोले संक्रमितलाई छिःछिः र दूर–दूर गर्ने होइन,उनीहरुलाई माया र प्रोत्साहन दिनु भन्ने सन्देश दिइरहकहो छन् ।

त्यसैगरी नेपाली कांग्रेस म्याग्दीका उपसभापति माधवप्रसाद रेग्मी र सचिव क्या.मीनबहादुर कार्की पनि कोराना जितेर सामाजिक र राजनीतिक काममा फर्किएका छन् । म्याग्दी कांग्रेसका सचिव क्याप्टेन कार्की भन्छन्, ‘नियमित खानपान, औषधी सेवन, चिकित्सकको परामर्श, पारिवारिक तथा सामाजिक सदस्यहरुको रेखदेख,माया र हौसला प्राप्त गर्न सक्ने हो भने कोरोनाले संक्रमण गरिहाले पनि आत्तिइहाल्नु पर्ने अवस्था भने हुँदैन ।’

क्या.मीनबहादुर कार्की

शर्मा,घिमिरे,रेग्मी र कार्की जस्तै म्याग्दीका ३ सय १९ जनाले कोरोना जितेका स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताए । स्वास्थ्य कार्यालयका प्रमुख लम्सालका अनुसार मृत्यु भएकाहरुमा दीर्घ रोग,समयमा नै उपचारको अभाव, शरीरमा अक्सिजनको अत्यधिक मात्रामा कमी लगाएतका समस्याहरु देखिएका छन् ।

चिकित्सकहरुका अनुसार कोरोना सङ्क्रमणको गम्भीर प्रभाव देखिन थालेकाले अझ बढी सजग एवम् सचेत हुनुपर्ने अवस्था छ । त्यसमाथि दीर्घरोगीलाई संक्रमणपछि जटिल समस्या पनि आउने गरेको पाइएको छ ।खासगरी कोरोना मुक्त भएका दीर्घरोगीहरुले आफ्नो स्वास्थ्यको राम्रोसंग ख्याल गर्नुपर्ने बेनी अस्पतालका मेडिकल कोअर्डिनेटर डा.नवराज वस्ताकोटीले बताए ।

डा. वस्ताकोटीका अनुसार पहिलो साता ठीक भएजस्तो हुने अनि दोस्रो सातामा अक्सिजन एक्कासी घट्ने, ज्वरो, खोकी बढ्ने, जीउ दुख्ने, चिलाउने, कमजोर हुने, निमोनिया र अन्य लक्षण थपिनेजस्ता समस्या देखिने गरेको पाइएको छ ।यस्तो अवस्थामा हामीले तुरुन्त चिकित्सकसँग सम्पर्क गरेर उपचार थालिहाल्नु पर्ने उनको भनाइरहेको छ ।

कोरोना नयाँ रोग भएको र दीर्घरोगीलाई यसले अलि बढी असर गर्ने भएकाले आफूले खाइरहेका सम्पूर्ण औषधिको विवरण, कुनै औषधि रोक्नुपर्ने वा थप्नु पर्नेछ कि भनेर उपचार गर्ने डाक्टर र नर्सलाई बेलाबेलामा परीक्षण गराइरहनु पर्ने चिकित्सकहरुको भनाइ छ ।

कोरोनाले जुनसुकै बेला संक्रमित बनाउन सक्ने हुँदा उच्च मनोबल, एकआपसको आत्मीय सहयोग र साथले सजिलै कोरोनालाई जित्न सकिने बेनी अस्पतालका प्रमुख डा. जितेन्द्र कुवँरले बताए ।

डा. कुवँरका अनुसार कोरोना सन्चो हुँदै जाँदापनि लामो समयसम्म यसले असर गर्न सक्छ । महिनौंसम्म जीउ दुख्ने, एकदम कमजोरी हुने, आँखा धमिलो हुने, उठ्न गाह्रो हुने, सुगर बढ्ने, मानसिक समस्या आउने, स्मरणशक्ति घटे जस्तो हुनेलगायत अन्य असर देखिन सक्छन्। त्यसैले संक्रमण मुक्त भइसकेपछि पनि निरन्तररुपमा चिकित्सकको परामर्श लिँदा राम्रो हुन्छ ।

मनोविज्ञानका अध्यता एवम् मनोपरार्मकर्ता जीवराज आचार्यका अनुसार कुनै पनि रोग वा समस्याको आधा उपचार भनेको आफ्नो सम्पर्कमा रहेका व्यक्ति (घरपरिवार,आफन्त,साथी,समाज आदि) को सौहार्दपूर्ण व्यवहार,माया,हौंसला र हेरचाह हो। त्यसैले भोलि मलाई पनि यस्तै पर्न सक्छ भनेर विरामीप्रति व्यवहार गर्नुपर्दछ ।

संक्रमित व्यक्तिले कुनै कुरामा पनि तनाव नलिने,मनोबल खस्कने खालका श्रव्य,दृश्य सामाग्रीहर नहेर्ने, सामाजिक संजालबाट सकेसम्म टाढै रहने ग¥यो भने कोरोनालाई जित्न सघाउ पुग्ने चिकित्सकहरु बताउँछन् ।

कोरोनाको लक्षण देखिने वित्तिकै सवैभन्दा पहिला स्वास्थ्य केन्द्रमा गएर स्वास्थ्य जाँच गराउने, सकेसम्म घर बाहिर ननिस्कने, घरमै बस्दा पनि आफ्नो स्वास्थ्यमा विशेष ख्याल र सजगता अपनाउने, मास्कको प्रयोग गर्ने, हात धुने, सेनिटाइज गर्ने, भौतिक दूरी कायम गर्ने जस्ता सुरक्षाका सम्पूर्ण उपायहरु अपनाउन चिकित्सकहरुले सुझाव दिएका छन् ।

रोगलाई परास्त गर्न बिरामीको आत्मबलसँगै परिवारको अझ बढी साथ, सहयोग, माया र ममता आवश्यक हने शुक्रवारमात्र सङ्क्रमण मुक्त हुनुभएका तीर्थराज सिग्देलले बताउनुभयो ।

उहाँका अनुसार बिरामी भएका परिवारका सदस्यलाई यस्तो बेला अझै बढी माया, ममता र हौसला दियो भने कोरोना विरुद्धको लडाइँमा अझै बलियोसंग जाइलाग्न सकिन्छ ।

त्यसका साथै नियमित ध्यान, प्राणायाम, प्रार्थना र सकिन्छ भने योगाभ्यास गर्ने हो भने शारीरिक तथा मानसिक स्पmूर्ति प्राप्त हुने चिकित्सकहरुको भनाइरहेको छ । त्यसका साथै आध्यात्मिक प्रवचन, भजन तथा आनन्द आउने संगीत सुन्ने र परिवारसँगै समय विताउने प्रयास गर्नुपर्दछ ।

त्यसैगरी सकेसम्म तातोपानी, झोलिलो खानेकुरा र अन्य पौष्टिक खाना बढी खान र आफूखुसी र अरुको लहैलहैमा अनावश्यक एन्टिबायोटिक र अन्य औषधिको प्रयोग नगर्न पनि चिकित्सकहरुले सुझाएका छन् ।

डा.वस्ताकोटीका अनुसार अक्सिजन लेभल सही अनि सन्तुलित राख्न नियमित घोप्टो परेर सुत्ने, गर्नुपर्दछ । यसो गर्दा शरीरमा अक्सिजन लेभल बढाउन र सन्तुलित राख्न सघाउँछ ।चिकित्सकहरुका अनुसार,दह्रो आत्मबल, औषधि र पोष्टिक खानेकुरा, आफन्त र घरपरिवारको हौंसला,प्रोत्साहन र हेरचाह अनि चिकित्सकीय परामर्शबाट कोरोनालाई जित्न सकिन्छ ।

Leave a Reply