बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले म्याग्दीको सदरमुकाम बेनी न.पा. वडा नं. २,७ र ८ मा बसोवास गर्ने २० हजार जनसंख्यालाई शुद्ध पिउनेपानी वितरण गर्दै आईरहेको छ । शुद्ध एवं स्वच्छ खानेपानी पिउन पाउने मानवको नैसर्गिक अधिकारका भएको बताउँदै बेनी बजार क्षेत्रमा २४ सैं घण्टा खानेपानी वितरणको बातावरण बनाउन हरेक बर्ष संरचना र पाईपलाईन बिस्तारलाई प्राथमिकता दिएको संस्थाका अध्यक्ष माधव प्रसाद रेग्मीले बताए । हालै सम्पन्न अधिवेशनबाट अध्यक्षमा चयन भएका रेग्मीसंग गरेको कुराकानी ।

संस्थाको अध्यक्षमा चयन हुनुभएकोमा बधाई छ ।

सर्वप्रथम त हालै सम्पन्न बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २१ औ बार्षिक साधारण सभा तथा १० औ अधिवेशनबाट मेरो नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ संचालक समिति चयन भएको छ । यसमा मलाई सहयोग गर्नुहुने सम्पुर्ण सभासद, संस्थाका पूर्व अध्यक्ष, सल्लाहकारहरु, कार्यसमितिका सम्पुर्ण सहकर्मि साथिहरु एवं संञ्चार जगतप्रति हार्दिक आभार प्रकट गर्दछु ।

बेनीबजार तथा आसपासको क्षेत्रमा कसरी स्वच्छ र शुद्ध खानेपानी वितरण भइरहेको छ त ?
कुल लागत ६ करोड १५ लाख २७५ रुपैयाँमा पुनःनिर्माण सम्पन्न भैं थप २० लिटर प्रति सेकेण्ड पानी
उपलव्ध गराई अन्नपूर्ण गाउँपालिका वडा नं. ८ राम्चेको डाँडाखर्क मुहान, रिठ्ठाखर्क मुहान, पुम्दीखोला र भकिम्लीको कोप्रे तथा दुधेखोलाबाट ३ वटा मेन ट्रान्समिसन पाईपलाईनबाट प्रति सेकेण्ड २५ देखि ३० लिटर पानी सेडिमेन्टेसन टंकीमा जम्मा गरी बेनी बजार क्षेत्रको २० हजार जनसंख्यालाई नियमित रुपमा पानी वितरण गर्दै आएका छौ ।

संस्थामार्फत कति घरधुरीलाई खानेपानी वितरण भईरहेको छ ?
यस संस्था मार्फत बेनी नगरपालिका वडा नं. २, ७ र ८ मा अवस्थित कुल १०६९ घरधुरीमध्य ९८१ घरधुरी व्यक्तिगत रुपमा र ८८ घरधुरी सरकारी कार्यालय तथा संघ संस्थाहरुमा पानी वितरण भईरहेको छ ।

जनसंख्याको चापलाई मध्यनजर गरी पूर्वाधार विस्तारको काम गर्नुभएको छ त ?
अहिले मेरो प्रमुख उद्देश्य भनेकै स्वच्छ र सफा पानी उपभोक्ताहरुलाई सुनिश्चत गर्नुका साथै जनसंख्याको चापलाई मध्यनजर राखी पूर्वाधार विस्तारको कार्य गर्नु हो । हालै संस्थाको भौतिक संरचनाहरुको क्षमता बृद्धि गर्न एक्जुकेटिभ कन्सलटेन्र्सीबाट रफिङ्ग फिल्टर, प्रयोगशाला ल्याव र डिस फिल्टरको डि.पि.आर. तयार गर्ने कार्य भईरहेको छ ।

संघिय खानेपानी तथा ढल व्यवस्थापन आयोजना पोखरा कास्कीबाट ७५ लाखको योजना परेको छ । उक्त रकम संस्थाको १ लाख घमी. रिर्जभ टंकी चक्रिएर बन्द अवस्थामा रहेकोे हुनाले संस्थालाई आवश्यक पर्ने १ लाख ७५ हजार घमीको आरभिटि टंकी निर्माण र म्याग्दी खोलाबाट पम्पिङ गरी पानीको बैकल्पिक आपूर्तिका लागि डि.पि.आर. गरि कार्य शुरु गरिनेछ ।

बर्षादको समयमा बाढी पहिरो तथा बाटो निर्माण गर्दा संस्थाको भौतिक संरचनामा व्यापक क्षती भएकोले पुनःनिर्माण एवं संचालन गर्न संघिय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, पोखरा कास्कीबाट क्षतीग्रस्त संरचना निर्माण तथा पुनस्थापना गर्न रु.५० लाखको योजना परेकोमा उक्त कार्य संस्थाको आन्तरिक कोषबाट खर्च गरी निर्माण गरिएको हुनाले उक्त योजनाको रकम संस्थालाई आवश्यक पर्ने सामाग्रीहरु खरिद गर्न आवश्यक प्रक्रिया अगाडी बढेको छ ।

अर्को कार्य भनेको म्याग्दी खोलाबाट पम्पीङ्क गरी बैकल्पीक खानेपानीको व्यवस्था गरी जस्तो सुकै परिवेशमा पनी आम बेनीबजार क्षेत्रका उपभोक्तालाई पानी वितरणको सुनिश्चितता गर्नुरहेको छ । यस संस्थाबाट वितरण गरिएको क्याम्पस हिलसाईड, मंगलाघाट हिलसाईड र महारानीथान क्षेत्रको मेन वितरण पाईपलाईनमा यअर लक हुने समस्या भई पानी वितरणमा देखिएको कठिनाई समाधान गर्न प्रयत्न गरिनेछ ।

बजारक्षेत्रमा २४ सैं घण्टा खानेपानी वितरणको बातावरण बनाउन संस्था असफल भएको गुनासो पनि छ, यसलाई के भन्नुहुन्छ ?
बिशेष गरी बर्षादको समयमा बाढी तथा पहिरोले गर्दा संस्थाको मेन ट्रान्समिसन पाईपलाईन बगाउने
गरेको छ । यसले गर्दा बेनी बजारमा कहिलेकाहि त्यस्ता समस्या उत्पन्न हुने गरेको छ । पछिल्लो
समय कालीगण्डकी कोरिडोर कोरला सडक आयोजनाले बाटो निर्माण गर्दा संस्थाको मेन ट्रान्समिसन
पाईपलाईन सडकको दुवैतर्फ रहेकोले बाटो निर्माण गर्दा उक्त पाईपलाईन फुट्न गई यस्तो
किसिमको समस्या देखापरेता पनी हामिले जतिसक्दो छिटो मर्मत गरी पानी संचालन गरेका छौँ ।

यस किसिमको समस्या समाधान गर्न पक्कै पनी म्याग्दी खोलाबाट पम्पीङ्क गरी बैकल्पीक खानेपानीको
व्यवस्था गर्ने र राहुवडाबाट वर्षादको समयमा करिब ७ लिटर पानी आपुर्ती गर्नेगरी व्यवस्था
मिलाएको छौँ । बाँकी अवस्थामा संस्थासंग आपुर्ती भएको ५० प्रतिशत पानी खपत हुने गरेको छ भने
५० प्रतिशत खपत नभई ओभरफलो र चुवाहट हुने गरेको छ । त्यसकारण संस्थासंग पानी प्रप्यात
भएकोले र खपत पनी न्यून हुने गरेकोले पानी वितरणमा संस्था असफल भनेर भन्ने अवस्था रहेको
छैन ।

बाढी पहिरोले बार्षिक कति बराबरको क्षती हुन्छ ?
भौगोलिक जटिलताका कारण यस संस्थाको मेन ट्रान्समिसन पाईपलाईन अति जोखिम र जटिल स्थानमा राखी पानी ल्याउने कार्य भएको छ । जसको फलस्वरुप बर्षादको समयमा बाढी पहिरो गई संस्थाको पाईपलाईन बगाउदा र संरचना पुनःनिर्माण गर्दा बार्षिक रुपमा करिब १० लाख क्षती हुने गरेको छ ।

बेनी–जोमसोम–कोरला सडकमा धेरै क्षती पुगेको देखिन्छ, दिर्घकालीन समाधानका उपाय छैनन् त?
पछिल्लो समय बेनीबजार क्षेत्रमा नियमित पानी वितरणको एक बाधक समस्याको रुपमा कालीगण्डकी
कोरिडोर सडक आयोजना देखा परेको छ । उक्त योजनाले बोटो निर्माण गर्दा व्यापक क्षती भएको छ ।
दिर्घकालीन समाधानका लागी आयोजना, निर्माण कम्पनी, जिल्ला स्थित सरोकारवालाहरु र यस संस्था
बिच पटक–पटक बैठक बसि निर्णय, सम्झौता र छलफल भएको छ ।

बाटो निर्माण गर्दा एचडिपिईपाईप जडान गरी पानी बाईपास गरी बाटो निर्माण गर्ने र बाटो निर्माण सम्पन्न भएपछी दुवै मेन ट्रान्समिसन पाईपलाईन नालीमाथी राखी स्थानान्तरण गर्ने लिखित सम्झौता भएको छ र सो अनुरुप गलेश्वर खडकखण्डमा करिब २२० मिटर स्थायी रुपमा स्थानान्तरण स्वयम निर्माण व्यवसायीबाट नै भएको छ र यो कार्यलाई निरन्तरता दिदै दिर्घकालिन समाधान गरिनेछ ।

दक्षिण कोरियाका इन्सन युनिभर्सिटीको सहयोगमा झण्डै २१ करोड लागतमा स्मार्ट वाटर प्रोजेक्टका योजना कहाँ पुग्यो ?

दक्षिण कोरियाका इन्सन युनिभर्सिटीका प्रतिनिधी, खानेपानी तथा ढल व्यवस्थापन विभाग र नगर बिकास
कोषका प्रतिनिधीहरुद्धारा बेनी खानेपानी आयोजनाको मुहान, मेन ट्रान्समिसन पाईपलाई, ट्रिटमेन्ट प्लान र वितरण पाईपलाईनहरुको शुक्ष्म रुपमा अध्ययन गरी स्माट वाटर प्रविधी लागु गर्न हाल सफल नभएपनी त्यहा स्थित गोष्ठी तथा मेमिनारमा अन्तरराष्ट्रिय स्तरमा बेनी खानेपानी आयोजनाको चर्चा र परिचर्चा हुने गरेको छ, यो पनी एउटा ठुलो उपलव्धी हो । आसा गरौँ उचित समयमा यो कार्यपनी सम्बोधन हुनेछ।

यो प्रोजेक्ट ल्याउन संस्थाको आन्तरिक पनि धेरै खर्च भएछ छ नी, अब प्रोजेक्ट नआउने निश्चित हो त?

यो प्रोजेक्ट ल्याउन केहि रकम खर्च भएको छ हाल यो लागु नभएपनी दक्षिण कोरियाका इन्सन
युनिभर्सिटी, बेनी नगरपालिका र यस संस्था बिच सम्वाद र बिचार बिमर्स भैंरहेको छ । अझै पनि हामीले यो प्रोजेक्टमा बजेट ल्याउन निरन्तर प्रयार गरिरहेका छौ ।

 

Leave a Reply