म्याग्दी बहुमुखी क्याम्पसमा स्नातक तहका विभिन्न संकायमा पढ्न चाहने विद्यार्थीले अब प्रवेश परीक्षा दिनुपर्ने भएको छ। कक्षा १२ को नतिजा सार्वजनिक भएपछि स्नातक तहमा भर्ना हुने तयारीमा रहेका विद्यार्थीले भर्ना अगाडी क्याम्पसले सञ्चालन गर्ने प्रवेश परीक्षामा अनिवार्य सहभागी हुनुपर्ने भएको हो ।

पढाइको गुणस्तर सुधार्न प्रयासमा रहेको क्याम्पसले आगामी फागुन १८ गते देखि चरणबद्ध रुपमा प्रवेश परीक्षा सञ्चालन गरिने क्याम्पसले जनाएको छ ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा क्याम्पस प्रमुख गोरखबहादुर जिसीले स्नातक अध्ययन गर्ने योग्यता पुगेका विद्यार्थीलाई आफ्नो छनौटको विषयको तयारी गर्न अनुरोध गर्नुभएको छ ।

‘विद्यार्थीलाई सिधै कक्षामा प्रवेश गर्नुभन्दा अगाडी आफ्नो क्षमता जाँच गर्न पनि प्रवेश परीक्षा आवश्यक छ,‘क्याम्पस तहको पढाई पुरा नगरी छोड्ने समस्यालाई न्यूनिकरणमा समेत यसले सघाउँछ’क्याम्पस प्रमुख जिसीले भन्नुभयो ।

क्षमताभन्दा फरक विषय छनौट गरेका धेरै विद्यार्थीले पढाई पुरा नगरी क्याम्पसबाट बाहिरिएको तथ्याङ्कलाई मध्यनजर गरी परार्मशको आधारमा विद्यार्थीलाई सही निर्णय लिने मौका दिने समेत प्रवेश परीक्षामा जोड दिइएको उहाँको भनाई छ ।

तोकेको समयमा प्रवेश परीक्षामा सहभागी नहुने विद्यार्थीलाई अर्को पटक प्रवेश परीक्षाको समय निर्धारण नगरिने क्याम्पस प्रमुख जिसीको भनाई छ । व्यवस्थापनको बिबिएस, मानविकी तथा शिक्षाशास्त्र संकायमा भर्नाका लागि सीमित कोटा निर्धारण भने गरिएको छैन् ।

विद्यार्थीको रुचि, क्षमता र करिअरमा मेल खाने विषयमा अन्य विषयले समेत जोड्ने गरी अन्य शैक्षिक गतिविधिलाई क्याम्पसले जोड दिएको छ । विद्यार्थीको चापलाई मध्यनजर गरी यसबर्षदेखि ब्यवस्थापन संकायमा अंग्रेजी र नेपाली माध्यममा कक्षा सञ्चालन गरिनेछ । प्रवेश परीक्षा लिएकै दिन नतिजा सार्वजनिक हुने सहायक क्याम्पस प्रमुख श्रीधर सुबेदीले जानकारी दिनुभयो ।

यसैबीच स्नातक तह शिक्षाशास्त्र संकायमा भर्ना हुन चाहने विद्यार्थीले जिपिए २.१ भन्दा माथि ल्याउनुपर्ने क्याम्पसले जनाएको छ। विश्व विद्यालय अनुदान आयोगबाट अन्तराष्ट्रियस्तरको गुणस्तर प्रमाणपत्र प्राप्त गरेपछि क्याम्पसमा विद्यार्थीको चाप ह्वात्तै बढेको छ ।

आन्तरिक परीक्षा सहित विभिन्न शैक्षिक गतिविधिले बार्षिक परीक्षामा उत्र्तिणा प्रतिशत ३४.३ प्रतिशत पुगेको क्याम्पस सञ्चालक समितिका अध्यक्ष बालकृष्ण सुबेदीले बताउनुभयो । क्याम्पसले कम्यूटर ल्याब सहित अन्य शैक्षिक सुविधाहरु समेत विस्तारको तयारीमा रहेको छ ।

माध्यामिक तहको कक्षा ११, १२ देखि ब्यवस्थापनतर्फ स्नातकोत्तरसम्मको पढाई हुने क्याम्पसको नतिजा साविकको धौलागिरी अञ्चल भित्र सञ्चालित क्याम्पसहरुमै उत्कृष्ट छ ।

पत्रकार सम्मेलनमा निर्वतमान क्याम्पस प्रमुख टिकाराम सापकोटा,सहायक क्याम्पस पशुनाथ ढकाल,प्राध्यापक संघका अध्यक्ष नारायण सुबेदी लगायतको उपस्थिती रहेको थिया। करिव ४५ रोपनी क्षेत्रफलमा फैलिएको क्याम्पसमा म्याग्दीका साथै छिमेकी जिल्ला पर्वत र बागलुङबाट समेत अध्ययन गर्न आउने गरेका छन्।

Leave a Reply