जन्मदिन मनाउने आ–आफ्नै शैली हुन्छन् । कतिपयले आफ्नै तौर तरिकाअनुसार आफ्नो जन्मदिन मनाउने गरेको पाइन्छ । कोहीले मठ मन्दिरमा पुगेर पनि जन्मदिन मनाउँदै आएका छन् । पछिल्लो समय जन्मदिन मनाउने नाउँमा धेरै खर्च गर्ने गरिएको पनि छ । यस्तो अवसरमा साथीभाइलाई बोलाएर भोजभतेर समेत दिइन्छ । पछिल्लो समय भने जन्मदिन मनाउने तरिका सामाजिक सेवाको भावनातर्फ मोडिएको छ ।

आफ्नो जन्मदिनको अवसर पारेर बालबालिकाहरुलाई शैक्षिक सामग्रीहरु वितरण गर्ने, अपाङ्ग र अशक्तलाई आर्थिक सहयोग गर्ने अनि अस्पतालमा बिरामीलाई फलफुल तथा जुस वितरण गर्ने गरिएको छ । यसैक्रममा म्याग्दीका एक युवाले आफ्नो जन्मदिनको अवसरमा शारिरीक रुपमा अपाङ्गता एक व्यक्तिलाई सानो भए पनि आर्थिक सहयोग गरेका छन् ।

बेनी नगरपालिका–६, अर्थुङ्गेस्थित डम्बरा स्थायी घरभई हाल बेनीको हुलाकचोक निवासी प्रकाश कार्कीले आफ्नो जन्मदिनमा आर्थिक सहयोग गरेका हुन् । उनले आफ्नी धर्मपत्नी गंगा थापा कार्कीमार्फत बेनपा–२, ज्यामरुककोटका शारिरीक रुपमा अशक्त एवं अपाङ्ग कृष्णबहादुर घिमिरेलाई नगद पाँचहजार एकसय रुपैयाँ सहयोग हस्तान्तरण गरेको बताए । जन्मदिनको नाममा अनावश्यक क्षेत्रमा फजुल खर्च गर्नुभन्दा पनि आर्थिक रुपमा विपन्न, असहाय तथा समस्यामा परेका व्यक्तिहरुको उत्थानमा सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग गरेको उनको भनाइ छ ।

उक्त सहयोग उनकी धर्मपत्नी गंगाले मङ्गलाघाटस्थित घिमिरेको निवासमै पुगेर हस्तान्तरण गरेकी छन् । आगामी दिनमा पनि सामाजिक क्षेत्रमा सहयोगका हातहरु फैलाउने र समस्यामा परेकालाई निरन्तर सहयोग गर्ने गंगा थापाले बताइन् । शारिरीक रुपमा अपाङ्ग घिमिरे वैदेशिक रोजगारीबाट घर फर्किएको क्रममा घर नजिकै रुखबाट लडेर घाइते भएका थिए । हाल प्रकाश कार्की वैदेशिक रोजगारको सिलसिलामा मकाउमा कार्यरत छन् ।

Leave a Reply