नेपाली कांग्रेस म्याग्दीले जिल्लाभर ४५ औँ ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मनाएको छ । नेपाली कांग्रेसले पार्टीका संस्थापक विश्वेश्वरप्रसाद कोइराला (बिपी) लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको सम्झनामा हरेकबर्ष पुस १६ गते मनाउँदै आएको ‘दिवस’को अवसरमा यसबर्ष जिल्लाको ६ वटै स्थानीय तहका वडास्तरमा गोष्ठी, कोणसभा लगायतका कार्यक्रम गरी मनाएको पार्टीका प्रबक्ता अजयमिलन श्रेष्ठले बताए ।

बेनी नगरपालिका वडा नं ७ र ८ ले आयोजना गरेको पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा संविधान सभाका सदस्य रेशमबहादुर बानियाँले संसद विघटनपछि कांग्रेसको काँधमा जिम्मेबारी आएको बताए । ‘जनमतलाई कम्युनिष्ट सरकारले अपमान गर्यो,‘अब कांग्रेसले सरकारको प्रतिगामी कदम बिरुद्ध एकपटक निर्णायक आन्दोलन गर्नुपर्छ’ पूर्व पार्टी सभापति समेत रहेका बानियाँले भने ।

उनले तत्कालीन अवस्थामा नेपालको सार्वभौम सत्ता नै गुम्ने खतरा देखेपछि स्वदेश फर्किएजस्तै अहिले पनि वर्तमान सरकारको कारण संविधान जोखिममा परेको बताए। सोही अवसरमा पूर्व पार्टीसभापति डा. भुपेन्द्रबहादुर खड्का, उपसभापति माधवप्रसाद रेग्मी, सचिव एवम् बेनी नगरपालिका मेयर हरिकुमार श्रेष्ठ, सचिव क्याप्टेन मिनबहादुर कार्की लगायतले बोलेका थिए ।

त्यस्तै नगरपालिकाको वडा नं ४ मा आयोजित कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेकालाई स्वागत गरिएको थियो । मेलमिलाप दिवस बेनी नगरपालिका, मंगला, मालिका, धवलागिरी, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाको वडास्तरमा मनाइएको नेपाली कांग्रेस म्याग्दीले जनाएको छ ।

Leave a Reply