म्याग्दीको रघुगंगा गाउँपालिकाले भौगोलिक विकटता र विकास पूर्वाधारका हिसाबले निकै पछि परेको क्षेत्रलाई समेटेर छुट्टै गाउँपालिका बनाउन प्रस्ताव गरेको छ । नवौँ गाउँसभाले वडा नं ५ झिँ, वडा नं ६ पाखापानी र वडा नं ८ कुईनेमंगलेका (साविकको गाविसको वडा नं १, २ र ३ वडा) लाई समेटेर छुट्टै गाउँपालिका बनाउन गाउँसभाबाट बहुमतले पारित गरेको प्रमुख प्रशाकीय अधिकृत अमृत सुबेदीले बताए ।

‘गाउँसभाको निर्णयलाई सम्बन्धित निकायमा पठाउँछौ,‘आवश्यकता अनुसार थप पहल समेत गर्ने गाउँसभाको म्यान्डेट छ’ सुबेदीले भने । बेनी नगरपालिका र धवलागिरी गाउँपालिकासँग समेत समन्वय गरी पायक पर्ने स्थानहरुलाई समेटेर गाउँपालिका बनाउन सकिने आधारहरु भएकाले छलफलमा जाने गरी गाउँसभाले निर्णय गरेको छ ।

छुट्टै गाउँपालिका बनाउन तत्काल झिँ र पाखापानीमा दुई वडा थप्ने र वडा नं ८ कुईनेमंगलेको प्रस्तावित एक भागलाई समेत वडा बनाएर तत्काल पाँच वडाबाट गाउँपालिका बनाउने गाउँसभाबाट निर्णय भएको जनाइएको छ। गाउँपालिका भित्र ८ वडा रहेको छ ।

नेपालको संविधानमा सामाजिक, सांस्कृतिक संरक्षण र आर्थिक विकासका लागि अल्पसंख्यक समुदायको सघन बसोबासका आधारमा विशेष, संरक्षित र स्वायत्त क्षेत्रहरू निर्माण गर्न सकिने उल्लेख छ । हिमाली क्षेत्रमा जनसंख्या र भूगोलका आधार मानेर गाउँपालिका बनाउन कम्तीमा १५ हजार जनसंख्या आवश्यकता पर्छ ।

झिँ, पाखापानी, कुईने क्षेत्रका बासिन्दालाई रगुगंगा नदी पार गरी गाउँपालिकाको केन्द्र मौवाफाँटसम्म सेवा लिन आउन समस्या भएको अवस्थामा उक्त प्रस्ताव लिएर गाउँपालिकाको टोली नै केन्द्रसम्म पुग्ने तयारीमा छ । यता वडा नं ३ पिप्लेलाई समेत विभाजन गर्ने प्रस्ताव गरिएको छ ।

जसमा वडा नं ३ पिप्ले र मौवफाँटलाई टुक्राउँदै मालिका, अक्षखेत, कलेजबाङ, मौवाफाँट, फुलबारी, कुतवाङ क्षेत्रलाई छुट्टै वडा बनाउने गाउँसभाले निर्णय गरेको छ । यसअगाडी गाउँपालिकाको सिफारिसमा जिल्ला समन्वय समितिबाट समेत रघुगंगालाई दुई वटा स्थानीय तह बनाउन प्रस्ताव गरिएको थियो ।

बेगखोलाको स्वास्थ्यचौकी झिँ स्थानान्तरको प्रस्ताव
रघुगंगा गाउँपालिका–१ बेगखोलामा १० शैयाको अस्पताल बन्ने भएपछि करिब १ करोड ३६ लाखमा बन्ने स्वास्थ्य चौकी भवनलाई वडा नं ५ झिँ मा स्थानान्तर गर्न सम्बन्धि निकायलाई आवश्यक प्रस्ताव गर्ने निर्णय भएको छ ।

गाउँसभाले महेन्द्र माविको जिर्ण भवनमा रहेको स्वास्थ्य चौकीलाई सुविधासम्पन्न भवन सहित आवश्यक उपकरणका जडान गर्ने गरी बेगखोलामा परेको बजेटलाई जिल्ला आयोजना कार्यान्वयन इकाई म्याग्दी र बागलुङ, केन्द्रीय आयोजना कार्यान्वयन इकाई, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा समेत प्रस्ताव गर्ने गाउँपालिकाले जनाएको छ ।

उक्त प्रस्ताव लिएर गाउँपालिका अध्यक्ष सहितको टोली समेत जाने तयारी गरेको छ । त्यस्तै चिमखोलामा समेत स्वास्थ्य चौकी भवन बनाउन गाउँपालिकाले यसैबर्ष आवश्यक प्रक्रिया सुरु गर्ने तयारी गरेको छ ।

गाउँपालिकाको प्रशासकीय भवन बन्ने
गाउँपालिकाको केन्द्र मौवाफाँटमा रहेको जग्गामा प्रशासकीय भवन बनाउने कार्यले तिब्रता पाउने भएको छ । भवन निर्माणका लागि चालु आवमा २० लाख बजेट विनियोजन गरिएको छ ।

तत्कालिन जिविसबाट गाउँपालिकालाई विनियोजित ६० लाखले काम सुरु गर्ने र प्रदेश सरकारले समेत भवन बनाउने स्थानीय तहलाई १ करोड अनुदान दिने प्रतिबद्धता जनाइसकेको र संघीय सरकारबाट कार्यविधिमा भवन बनाउन ९ करोडसम्म बजेट विनियोजन गर्न सकिने उल्लेख भएकाले भवन निर्माणलाई अगाडी बढाउने गाउँपालिका अध्यक्ष् भवबहादुर भण्डारीले बताए । केन्द्रमा आवश्यक संरचनालाई तिब्रता दिने बताउँदै जग्गा ब्यवस्थापन भइसकेको अवस्थामा भौतिक संरचनालाई गति दिने अध्यक्ष भण्डारीले बताए ।

Leave a Reply