म्याग्दीमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान मनाउन सुरु भएको छ । ‘लैंगिक हिंसा अन्त्यको प्रतिबद्धताः व्यक्ति, समाज र सबैको एक्यबद्धता’ भन्ने राष्ट्रिय नारासहित बुधबारदेखि देशैभर मनाउन सुरु भएको अभियान म्याग्दीमा पनि मनाउन थालिएको हो ।

यसैक्रममा गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा म्याग्दीले बुधबार साँझ जिल्ला प्रशासन कार्यालय अगाडि मैनबत्ती प्रज्ज्वलन गरेको छ । महासंघको संयोजनमा जिल्लास्थित विभिन्न गैरसरकारी संघसंस्थाको सहभागितामा मैनबत्ती बालेर लैंगिक हिंसाविरुद्ध १६ दिने अभियानको सुरुवात गरिएको गैसस महासंघ म्याग्दी शाखाले जनाएको छ ।
विगतका वर्षमा पनि गैसस महासंघको संयोजनमा जिल्लामा विभिन्न कार्यक्रमहरु आयोजना गर्ने गरिएको थियो ।

तर, यसवर्ष कोरोना भाइरस संक्रमणको जोखिम उच्च रहेकाले अन्य कार्यक्रम तय नभए पनि अभियानलाई निरन्तरता दिनका लागि मैनबत्ती प्रज्ज्वलन कार्यक्रम गरी अभियान मनाउन सुरुवात गरिएको गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष दिपक पौडेलले जानकारी दिए ।

उनले जिल्ला प्रशासन कार्यालय र प्रहरीमा जानकारी गराई भौतिक दुरी कायम गरेर दिप प्रज्ज्वलन गरिएको बताएका छन् । यसैगरी गैरसरकारी संस्था मिलन म्याग्दीले पनि लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानमा एक्यबद्धता जनाउँदै प्रतिबद्धता समेत जनाएको छ ।

कार्यालयमा एक कार्यक्रमको आयोजना गरी मिलन म्याग्दी र सुआहारा कार्यक्रमले पनि लैंगिक हिंसाविरुद्ध एक्यबद्धता जनाएको बताएका छन् । लैंगिक हिंसा हुन नदिन तथा त्यस्तो घटना भएको अवस्थामा हिंसाविरुद्ध आवाज बुलन्द गराउन दुवै संस्थाले प्रतिबद्धता जनाएको मिलन म्याग्दीको कार्यकारी निर्देशक दीवाकुमारी पुनले जानकारी दिएकी छन्।

संयुक्त राष्ट्रसंघको सन् १९९९ को महासभाले नोभेम्बर २५ लाई लैंगिक हिंसा विरुद्धको दिवसका रुपमा मनाउने निर्णय गरेको हो । तसर्थ, हरेक वर्षको २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म १६ दिन लैङ्गिक हिंसाका विरुद्ध ऐक्यबद्धता जनाउन र जनचेतना कायम राख्न विभिन्न कार्यक्रमहरु आयोजना गर्ने गरिन्छ ।

Leave a Reply