सँगैका दौंतरी जापान, अमेरिका र युरोपमा छन् । उनलाई पनि अमेरिकाको भुत नचढेको होईन । सरकारी जागिरे बाबु । धन साथमा नभएपनि ऋण सबैले पत्याउँथे ।
बागलुङ नगरपालिका–३ का गणेश शर्मालाई पनि अमेरिकाको भुत चढ्यो र लागे अमेरिकाको यात्रामा । तर दलालमार्फत अमेरिका हिँडेका उनी नत अमेरिका पुगे नत ऋणधन गरेको पैसानै जोगियो । एक महिना लामो परिवारको सम्पर्क बाहिर बसेर २० लाख रुपैयाँ सके तर अमेरिका पुगेनन् ।
एक वर्षको राजाधानी बसाईलाई टुंगो लगाएर गाउँ फर्केका गणेशले अहिले भाडाको जग्गामा भविश्य खोज्दैछन् । बागलुङ नगरपालिका–३ हाडेपाखामा उनका बाबु शिव प्रसाद शर्माले गर्दै आएको परम्परागत पशुपालन व्यवसाय थियो । व्यापारका लागि होईन घरमा दुधघ्युको खाँचो टार्न बाबुले पालेका गाईभैंसीको संख्या गणेशले बढाएका छन् । अमेरिकाको सपना चकनाचुर भएपछि आफ्नै माटोमा सुन्दर भविश्य खोज्न थालेका गणेशको कामका लागि परिवारको राम्रो साथ छ ।
हाडेपाखामा ७ वटा भैंसी र ३ वटा दुधालु गाई भएको फार्म छ । ‘शिव शक्ति गाईभैंसी फार्म’ नाम दिएको उनको फार्ममा बाबु शिव प्रसाद शर्मा, उनी आँफै, आमा गीता र श्रीमती उषा उत्तिकै खट्छन् । विदेश जाने धुनमा लागेको जत्तिको लगानी पनि उनलाई फार्मका लागि लगाउनुपरेको छैन् । १५ लाख रुपैयाँ लगानीमा सुरु भएको उनको फार्मले अहिले दिनमा ६ देखि ७ हजार रुपैयाँ कमाउँछ । ‘लिमे जातको स्थानीय भैंसी र मुर्रा भैंसीको क्रस पालेका छौं’ गाणेश भन्छन् ‘उन्नत जातका गाई पनि सँगै छन्, राम्रो आम्दानी हुँदोरहेछ ।’
आफ्ना बाबुले पहिलेदेखि गर्दै आएको व्यवसाय सम्हाल्न सकेको भए आँफु विदेशको लहटमा लाग्नु नपर्ने उनले बल्ल बुझेको बताए । ‘बाबाले २०६७ बाट नै भैंसी पाल्न थाल्नुभएको थियो, मेरो मन अमेरिकामा थियो, बाटोमा दुःख पाएपछि बल्ल चेत आयो’ शर्माले भने ‘कृषि विकास बैंकको जागिरे जीवन सकेर भैंसी पाल्नुभएका बाबालाई सघाएको भए धेरै माथि पुगिन्थ्यो ।’
उनको फार्ममा अहिले दैनिक ६० देखि ७० लिटर दुध उत्पादन हुन्छ । बागलुङ बजारको छेवैमा रहेकाले दुधको लागि बजारको समस्या छैन् । ‘साँझ–बिहान भाडा बोकेर ग्राहक गोठमा नै आउँछन्’ उनले भने ‘शुद्ध दुध खोज्नेहरु धेरै छन् ।’ मानाको मापनमा बिक्रि हुने दुध उनीहरुले ६० रुपैयाँ बिक्री गर्ने गरेका छन् । गणेशले गाईभैंसीको पालनलाई थप व्यवसायीक र उत्पादनमुखी बनाउने योजना सुनाए । ‘२५ वटा भैंसी पु¥याउने लक्ष छ, २० लाख थप लगानी गर्ने हो’ उनले भने ‘लगानीमा यसो सघाउने निकाय पाए सहज हुन्थ्यो ।’
हाडेपाखामा वार्षिक ५० हजार रुपैयाँ भाडामा लिईएको चार रोपनी जग्गामा उनको फार्म छ । गोठ बनाएर बाँकी रहेको जग्गामा परिवारले तरकारी खेतीसमेत गर्दै आएका छन् । ‘दुधको मात्रै आम्दानी हेरेर बसेर पुग्दैन्, तरकारी फलाएर मुनाफा लिनुपर्ने छ’ उनले सुनाए । घाँसका लागि पुख्र्यौली पाखो र केही भाडामा जग्गा लिएका छन् । बर्खामा घाँस काट्नका लागि ज्यालादारीका मजदुरलाई लगाउँछन् । हिउँदमा भने लाखौं खर्चेर परालको जोहो गर्ने गरेको उनले सुनाए ।
‘अब परिवारमा मात्रै होईन थप रोजगारी सिर्जना हुनेगरी फार्म विस्तार गर्दैछु’ उनले भने ‘उत्पादन बढेपछि मुनाफा बढ्नेमा ढुक्क छु ।’ विदेशको लहटमा लागेको ऋणसमेत दुध बेचेर चुक्ता गर्ने योजना रहेको उनले सुनाए ।

Leave a Reply