घाँस काट्न गएको समयमा रुखबाट लडेर गम्भीर घाईते भएका बेनी नगरपालिका-५, भिरमुनीका ३६ बर्षिय मिठे दर्जीको उपचारमा अमेरिकाबाट एक दम्पत्तीले ३० हजार सहयोग गरेका छन्।

आर्थिक अभाव भएपछि काठमाण्डौ रिफर गरिएका दर्जीलाई पोखराबाट आफन्तले बेनी फर्किएको समाचार पढेपछि बेनी नगरपालिका–४ बास्कुना स्थायी घर भई भएका म्याग्दी समाज अमेरिकाका अध्यक्ष समेत रहेका इन्द्र र श्रीमति शबी थापाले उक्त सहयोग पत्रकार हरिकृष्ण गौतमको माध्यमबाट बेनी अस्पतालका अध्यक्ष बेलबहादुर कटुवालले घाईते दर्जीका ज्वाई समे विकलाई हस्तान्तरण गरेका हुन् ।

‘घाईतेको अवस्था निकै चिन्ताजनक छ,‘थप उपचारका लागि काठमाण्डौ लैजाने पैसा नहुदाँ बेनी फर्किएपछि अस्पतालमा सकेसम्म उपचार भइरहेको छ’ अध्यक्ष कटुवालले भने ।

उनले उक्त सहयोगले सहज भएको बताए । सोही अवसरमा धवलागिरी गाउँपालिका–७ धारापानी घर भई हाल काठमाण्डौमा रहेका यूवा ब्यवसायी अर्जुन थापाले २ हजार सहयोग गरेका छन् । यसैबीच समाजसेवी सबी थापाले आर्थिक अभावकै कारण उपचारबाट बन्चित भएको समाचारले दुखी तुल्याएको बताईन् ।

‘मेरो सानो सहयोगले उपचारमा केही राहत मिल्ने छ,‘बिरामीलाई थप सहयोग आवश्यकता देखिएकाले सहयोगको अपिल गर्छु’उनले भनिन्। थापामार्फत अभिभावकविहिन ३ जना बालबालिकालाई उच्च शिक्षाका साथै अन्य विभिन्न समस्यामा परेका बालबालिका र बृद्धबृद्धालाई नियमित सहयोग गर्ने गरेकी छन् ।

दर्जीको करङ भाँचिएको, टाउकोमा रगत जमेको छ भने मृगौलामा समेत समस्या रहेको चिकित्सकलले बताएका छन् । गाउँकै विपन्न दर्जीको ३ छोरी, ३ छोरा छन् । दर्जीको शल्यक्रिया सहितको उपचारमा धेरै खर्च लाग्ने भएकाले जुटाउन समस्या भएको पीडित परिवारको भनाई छ ।

Leave a Reply