पश्चिम म्याग्दीको मालिका गाउँपालिकाले शनिबार दरबाङ बजारमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण भए नभएको चेकजाँच गर्न ’घुम्ती परीक्षण शिविर’ सञ्चालन गरेको छ ।

अत्यावश्यक बाहेकका अन्य सबैखाले सेवाहरु बन्द गरेर दरबाङ बजारमा संक्रमतिको कन्ट्रयाक्ट ट्रेसिङमा परेका बाहेक सर्वसाधारणको घरदैलोमै पुगेर कोरोनाबाट जोगिने उपायका साथै थर्मल गनबाट ज्वरो सहित कोरोनाका लक्षणका बारेमा जानकारी लिइएको छ ।

गाउँपालिकाका केन्द्र दरबाङमा एक सरकारी कर्मचारीमा कोरोना पुष्टी भएपछि समुदायमा संक्रमण फैलिन नदिन मास्क, सेनिटाइजर, भौतिक दुरी लगायतका जानकारी समेत गराइएको गाउँपालिका उपाध्यक्ष खरमायाँ विटालुले बताईन् ।

‘आजदेखि अभियान सुरू भएको छ,‘कोरोनाको कुनैपनि लक्षण देखिएमा तत्कालै स्वास्थ्यकर्मी सहित पुग्छौ’ उपाध्यक्ष विटालुले भनिन् ।

उनले पश्चिम म्याग्दीका साथै छिमेकी बागलुङको ताराखोला, तमानखोला गाउँपालिकाबाट समेत दरबाङका आर्थिक कारोबार सहितका गतिविधि हुने भएकाले नियमित सेवा बन्द गरेर समुदायस्तरमै सचेतनामुलक कार्यक्रम सहितको अभियान सञ्चालन गरेको बताए ।

शनिबार गरिएको घरदैलो अभियानमा प्राथमिक उपचार केन्द्र दरबाङका स्वास्थ्यकर्मी, नेपाल रेडक्रस सोसाईटी, लायन्स क्लव म्याग्दी दरबाङ लगायत स्थानीय संघसंस्थाका प्रतिनिधिको समेत सहभागिता रहेको थियो ।

कोरोनाको लक्षण देखिएका विरामीको स्बाब संकलन गरिने मालिका–६ का वडा अध्यक्ष सन्तनाथ सुबेदीले बताए । उनका अनुसार आगामी कात्तिक २८ गतेसम्म विभिन्न कार्यक्रममार्फत समुदायमा उपस्थित हुने र नियमित कार्यक्रमहरुलाई समेत प्राथमिकता दिने बताए ।

कोरोना संक्रमणको अवस्था बुझन्का लागि पनि ‘कम्युनिटी टेष्ट स्किृनिङ’ मा समेत स्थानीय तहले बल्ल चासो देखाउन थालेका छन् । आइतबार विहानदेखि बेनी नगरपालिकाले समेत वडा नं ७ र ८ मा घरदैलो अभियान सञ्चालन गदैछ।

Leave a Reply