भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको धवलागिरी गाउँपालिका–५, मल्कवाङको स्वास्थ चौकी, विद्यालय र वडा कार्यालय भवनमा इन्टरनेट जडान गरिएको छ ।

नेपाल सरकारको सुचना तथा प्रविधी मन्त्रालयको आर्थिक सहयोगमा सेवा प्रवाहमा सहज हुने गरी टेकमाइन इन्टरनेट नेटवर्कमार्फत जडान गरिएको हो । गाउँको सरकारी विद्यालय तथा स्वास्थ्यचौकीमा निःशुल्क इन्टरनेटसहितको सूचना केन्द्रको रुपमा विकास गर्न इन्टरनेट जडान गरिएको स्थानीय अगुवा अमर छन्त्यालले बताए । ‘अनलाइन रिपोर्टिङमा सहज हुन्छ,‘बिरामीको उपचारमा समेत इन्टरनेटको प्रयोग गर्न सकिन्छ’ छन्त्यालले भने । उनले हालसम्म इन्टरनेट नपुगेका कारण मोबाइल डाटाको प्रयोग गरी काम गर्ने गरेको बताए ।

इन्टरनेट जडान गएिपछि विद्यालयको तथ्याङ्क समयमै बुझाउन सकिने, अनलाइनबाटै बैठक बस्ने लगायत आवश्यक जानकारी लिन समेत इन्टरनेटको प्रयोग गर्न सकिने सेवाप्रदायक संस्थाले जनाएका छन् ।

टेकमाइन कम्पनीका प्रतिनिधि सुवास श्रेष्ठले इन्टरनेटको विस्तारसँगै नियमित मर्मत तथा सञ्चालनमा समेत जानकारी गराएको बताए । यसअगाडी वडा, स्वास्थ्य र विद्यालयमा इन्टरनेट नहुदाँ तथ्याङ्क बुझाउन पालिका र बेनीमै आउनुपर्ने बाध्यता रहेको थियो।

 

Leave a Reply