चाडपर्वमा कोरोना संक्रमणको जोखिम बढ्ने भन्दै पर्वतको जलजला गाउँपालिकाको वारीबेनीमा ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रममार्फत अभियान सुरु भएको छ ।

देशभरका विभिन्न राजमार्गबाट लुकिछिपी आवतजावत गर्ने, बेनीको होल्डिङ सेन्टरमा जानुपर्ने भन्दै विभिन्न बाहना बनाउने जस्ता गतिविधिले कोरोना संक्रमणको जोखिम बढेको भन्दै वारीबेनी प्रहरी चौकीको सक्रियतामा अभियान सुरु भएको हो ।

मंगलबार वारीबेनीमा आयोजित कार्यक्रममा अनावश्यक घरबाहिर ननिस्कने,चाडपर्वको महिना भएकोले किनमेल गर्दा सामाजिक दुरी कायम गर्ने, मास्कको अनिवार्य प्रयोग गर्ने, समुदायमै कोरोना फैलिएका जिल्लाबाट घरमा पाहुना बोलाउन कडाई गर्ने निर्णय समेत भएको वारीबेनी चौकीका प्रहरी नायव निरिक्षक भरत गौतमले बताउनुभयो ।

‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रममार्फत वडाका जनप्रतिनिधि सहित लायन्स क्लव पर्वत मल्लाज, न्यू होराईजन आवासीय मावि, टोल सुधार समिति लगायतका संघसंस्थाले समेत साथ दिने प्रतिबद्धता जनाएको लायन्स क्लवका सदस्य किरण कार्कीले जानकारी दिनुभयो ।

पछिल्लो समय बेनी– मालढुंगा सडकखण्डमा विभिन्न जिल्लाबाट आएका यात्रुले समेत वारीबेनीबाट आएको भन्दै म्याग्दीको सदरमुकाम बेनीबजारमा प्रवेश गर्ने क्रम बढेको छ । कार्यक्रमको अध्यक्षता जलजला–३का अध्यक्ष देविन्द्र भण्डारीले गर्नुभएको थियो ।

Leave a Reply