गण्डकी प्रदेशका ११ जिल्लामा सबैभन्दा धेरै डेंगु र स्क्रबटाइफसका बिरामी म्याग्दीमा भेटिएका छन् । गएको बैशाख महिना यता म्याग्दीमा डेङ्गुका ६४ र स्क्रबटाइफसका ४३ बिरामी फेला परेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

गतबर्ष म्याग्दीमा १२ जनामा डेंगु र एक बिरामीमा स्क्रबटाइफसको बिरामी भेटिएकोमा यसबर्ष हरेक महिना बिरामीको संख्या देखिन थालेपछि म्याग्दीमा जोखिम बढेको छ । प्रदेशमा म्याग्दीपछि सबैभन्दा धेरै कास्कीमा २०, लमजुङमा १०, स्याङ्जामा चार, नवलपरासीमा तीन, बागलुङमा दुई, पर्वत र गोरखामा एक–एक जना डेङ्गुका बिरामी भेटिएको स्वास्थ्य निर्देशनालयका दिवाकर शर्माले जानकारी दिए ।

हालसम्म मुस्ताङ, तनहुँ र मनाङ बाहेकका सबै जिल्लामा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुका बिरामी फेला परेपनि म्याग्दी बाहेक अन्य जिल्लामा गतबर्षको तुलनामा कम भएको बताइएको छ ।

कडा ज्वरो आउने, आँखाको गेडी रातो हुने, शरीरमा बिमिरा आउने, आन्तरिक रक्तश्राव हुने, जोर्नी, मांशपेशी दुख्ने, नाक तथा गिजाबाट रगत बग्नेजस्ता लक्षण देखिएका बिरामीको उपचारको क्रममा डेंगु र स्क्रबटाइफस पोजेटिभ देखिएको बेनी अस्पतालका मेडिकल कोअर्डिनेटर डा. नवराज बस्ताकोटीले बताए ।

‘दैनिकजसो नै बिरामी भेटिन थालेका छन्,‘ट्राभल हिस्ट्री नभएका ग्रामिण क्षेत्रमा बस्नेमा धेरै देखिएको छ’ डा. बस्ताकोटीले भने ।

उनका अनुसार एउटै मानिसमा डेंगु दोहोरिएमा र समयमै उपचार नभएमा आन्तरिक रक्तश्रावले पनि बिरामीको मृत्यु हुनसक्ने भएपनि यो रोगको संक्रमणबाट हुने मृत्युदर भने कम रहेको बताए।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्कमा म्याग्दी धेरै संक्रमति भेटिने नेपालभरी ५ औ जिल्लाभित्र पर्ने बताइएको छ ।

डेंगु सार्ने लामखुट्टेको जीवनचक्र नौ दिनमै पूरा हुने भएकाले लार्भा हुर्काउन पर्याप्त समय पाउने डा. बस्ताकोटीको भनाई छ । मुसामा हुने किर्नाबाट सर्ने स्क्रब टाइफस परजीवीको सङ्क्रमणबाट क्रब टाइफस र एडिस जातको लामखुट्टेको टोकाइबाट डेंगु संक्रमण हुने गरेको छ।

मुसामा हुने परजीवीलाई एक प्रकारको माइट जातिको सूक्ष्म किराको माध्यामले स्क्रब टाइफस मानिसमा सर्ने भएकाले म्याग्दी क्रब टाइफसको उच्च जोखिममा समेत रहेको छ । रोग समयमा पत्ता नलागेमा कलेजो, मिर्गौला, फोक्सो, मुटुलगायत अङ्गमा सङ्क्रमण फैलिई बिरामीको मृत्युसमेत हुन सक्छ ।

बिरामीको संख्या समेत ह्वात्तै बढेसँगै बिरामी भेटिएका क्षेत्रमा खोज र नष्टको अभियान समेत सञ्चालन गरिएको थियो। डेंगु संक्रमण नभएका लामखुट्टेले टोकेमा भने डेंगु सर्दैन। लामखुट्टेले टोकेको ५ देखि ७ दिनभित्र डेंगु संक्रमण हुन्छ।

डेंगु सार्ने लामखुट्टे सफा तथा स्थिर पानीमा बस्ने भएकाले सदरमुकाम बेनीमा यो सर्ने सम्भावना पर्याप्त रहेको छ। जुनसुकै उमेर समूहका व्यक्तिलाई संक्रमण हुने डेंगु डिइएन भी–१, डिइएन भी–२, डिइएन भी–३, डिइएन भी–४ गरी चार प्रजातिका हुन्छ ।

Leave a Reply