बेनी अस्पतालले अस्पतालबाट निस्किएको फोहर आफ्नै परिसरमा जलाउँदा आसपासका क्षेत्रमा प्रदुषण बढ्दै गएको स्थानीयले गुनासो गरेका छन्। अस्पतालबाट निस्किएको फोहर परिसरमै मापदण्ड विपरीत जलाउँदा धुँवाका कारण समस्या भएकाले तत्काल ब्यवस्थापन गर्न स्थानीयले माग गरेका हुन् ।

विहान-बेलुकीको समयमा फोहोर जलाउँदा बालबालिकालाई असर गरेको, खोकी लाग्ने, पिरो हुने जस्ता समस्या देखिएको स्थानीय कमल पौडेलले बताउनुभयो । ‘औषधीको गन्ध आउँछ,‘पटकपटक समस्याका बारेमा जानकारी गराउँदा समेत बेवास्ता भएको छ’ पौडेलले भन्नुभयो ।

अस्पतालमा नष्ट गर्ने क्रममा धुँवाको मुस्लो बस्ती तर्फ आउने गरेको पौडेलको भनाई छ । करिब एक दर्जन घर प्रत्यक्ष मर्कामा परेकाले तत्काल ब्यवस्थापन गर्न अस्पताल ब्यवस्थापन समितिलाई समेत अनुरोध गरिएको छ ।

अस्पतालमा नष्ट गर्ने फोहोर अन्य भन्दा धेरै नै जोखिम र सर्तकता अपनाउनुपर्ने अवस्थामा लामो समयदेखि नष्ट गर्ने गरिएपनि स्थानीय चुपचाप बसेका थिए ।यता अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले स्थानीयको माग जायज भएको बताउँदै करिब १८ लाखमा फोहोर ब्यवस्थापनका लागि आवश्यक संरचना तयार गरिएको बताउनुभयो ।

‘बर्षौदेखिको समस्या अव समाधान हुदैछ,‘दुई सातापछि खुल्ला ठाउँमा जलाउनुपदैन’ कटुवालले भन्नुभयो । हानिकारक फोहरमैलाको निर्मलीकरण, प्रशोधन र व्यवस्थापनका लागि एउटा मेसिन आउन बाँकी रहेकाले अन्य संरचना तयारी भएको जानकारी दिनुभयो ।

निस्काशन हुने सामान्य तथा चिकित्साजन्य फोहरमैला प्रकृति अनुसार स्रोतमै अलग–अलग छुट्ट्याउने, सङ्कलन तथा उचित विर्सजन गर्ने गरिने भएकाले स्थानीयले अब गुनासो गर्नुनपर्ने अध्यक्ष कटुवालको भनाई छ । विगतमा अस्पताल भित्र नष्ट गरिएको औषधीको गन्धले बेनीबजार नै प्रदुषित हुने गरेको थियो ।

Leave a Reply