आमाको गर्भबाट जन्म भएपछि नवजात शिशुलाई सबैभन्दा महत्वपूर्ण र आवश्यक आमाको दूधको हुन्छ। जन्मेदेखि ६ महिनासम्मका शिशुको शारीरिक एवम् मानसिक वृद्धि र विकासका लागि आवश्यक पर्ने सम्पूर्ण तत्वहरूले भरिपूर्ण मानिन्छ ।

तर, म्याग्दीको बेनी नगरपालिका-५, भिरमुनीकी एक महिलाले आफ्नै कोखबाट जन्मिएको नवजात शिशुलाई दूध खुवाउन पाएकी छैनन् ।

विगत दुई वर्षदेखि मानसिक रोगको रुपमा चिनिने डिप्रेसनबाट ग्रसित सोविता परियारले एक वर्षीय छोरा ज्याथिनलाई माइतीमा बसेर गाईभैसी र पाउडर दूध खुवाउन बाध्य छिन् ।

डिप्रेसनसहित विभिन्न समस्याका कारण चिकित्सकले आमाको दूध नखुवाउन अनुरोध गरेपछि बिरामी छोरीलाई औषधि, नातिलाई हुर्काउन स्यानीमायाँलाई हम्मेहम्मे परेको छ ।

आफन्त र छिमेकीको सहयोगमा भैंसीको दूध खुवाउँदै आएकी स्यानीमायाँले नातिलाई धेरै दिन भोकभोकै राखेको बताईन्। ‘छोरी बिरामी छन्, ‘नातिलाई दूध खुवाउने पैसा पनि छैन, ‘ऋण खोजेर नातिलाई दूध खुवाउने गरेको छु’ स्यानीमायाँले भनिन्।

मानसिक समस्या उपचारपछि निको भएलगत्तै परिवारकै सल्लाहमा बेनी नगरपालिका–१ अर्जममा छोरीको विवाह गरेपनि मलेसिया गएका ज्वाई समेत विगत ६ महिनादेखि सम्पर्कमा छैनन्। ‘एक मुठी दूध खुवाउने अवस्था पनि मेरो छैन, ‘छोरीकै उपचारमा लागेको ऋणको दैनिक फोन आउँछ’ स्यानीमायाँले भावुक हुँदै भनिन् ।

करिब डेढ लाखभन्दा बढी ऋण रहेको बताईन् । छोरीलाई नियमित आवश्यक पर्ने औषधि खरिद गर्ने पैसा समेत नभएपछि औषधि नियमित खुवाउन समेत समस्या भएको उनको भनाई छ ।

जन्मिदाँ वित्तिकै आफ्नै काखमा हुर्किएको नातिलाई घरमा भैसी नभएपछि छिमेकीको पसलबाट लिएर खुवाउने गरेको बताउँदै समयमै पैसा तिर्न नसक्दा रित्तै फर्काउने गरेको गुनासो गरिन् ।

‘छोरी–नातीको अवस्था देखेर आँसु थाम्ने शक्ति मैले पाएको छैन,’लुकाउन खोज्छु अवस्था देखेर एकैछिनमा आँसु बगिहाल्छ’ उनले भनिन्। पैसा नहुदाँ र उधारोमा दूध नदिँदा भोकभोकै राख्ने गरेको स्यानीमायाँको भनाई छ ।

एकपटक भित्र गएर हेनुहोस्, मेरो घरको अवस्था देखेर तपाईको आँखामा जति पटक पुछे पनि बलिन्धारा आँशु खसिरहन्छन्’ नातिलाई सुताउने कपडा देखाउँदै स्यानीमायाँले भनिन् । एकदिनमा विहान र बेलुकी दुईपटक मात्रै दुध खुवाउने गरेको उनको भनाई छ ।

‘गरिबको घरमा भगवानको पनि बास हुन्न भन्थे सत्य रहेछ, ‘मेरो घरमा सधै दुःख र पीडाको मात्रै बास भयो’ स्यानीमायाँले बिलौना गर्दै भनिन् । यता भिरमुनीकी महिला स्वंयमसेविका राजकुमारी परियारले पीडा सुन्न नजिकै पुग्ने सबैको आँखा रसाउने गरेको बताईन्।

उनले परोपकारी संस्था ओमकुमारी शान्ति कोषमार्फत आमाको उपचारमा सहयोग मिलेको बताउँदै शिशुलाई नियमित दूध लगायत पोषणतत्व मिल्ने विभिन्न खानाको आवश्यकता रहेको बताईन्। उनले आमाको दूध चुस्न नपाउँदा बिरामी हुने गरेको बताईन् ।

यता बेनी अस्पतालका क्लिनिकल कोअर्डिनेटर डा. नवराज बस्ताकोटीले नवजात शिशुलाई जन्मेको दुई वर्षसम्म निरन्तर आमाको दूध खुवाउनुपर्ने बताए ।

‘आमाको दूध शिशुका लागि पहिलो खोप पनि हो,‘आमाले आफ्नो बच्चालाई ५ महिनासम्म आमाको दूध मात्रै खुवाउनुपर्छ’ डा. बस्ताकोटीले भने ।

शिशु जन्मेपछि केही दिनसम्म आउने बाक्लो पहेंलो दूध ‘बिगौती’ मा रोगसँग लड्नसक्ने प्रतिरोधात्मक तवरहरू रहेको हुन्छ जसले हानिकारक र सकारात्मक जीवाणु र किटाणुलाई नष्ट पारी शिशुलाई संक्रामक रोगहरू लाग्नबाट बचाउँने भएपनि म्याग्दीमा नियमित स्तनपानबाट शिशु बञ्चित हुनुपर्ने अवस्था रहेको बताए ।

Leave a Reply