तिब्र गतिमा सडक स्तरोन्नति गर्ने प्रतिबद्धता जनाएपनि निर्माण ब्यवसायी सम्पर्कविहिन भएपछि पश्चिम म्याग्दी जोड्ने बेनी-दरवाङ सडक अलपत्र परेको छ । कोरोनाको जोखिम र मजदुरको अभाव भन्दै लामा समानान्तर जेभीका ठेकेदार सम्पर्कविहिन भएपछि सडक अस्तब्यस्त भएको छ ।

बर्खायाममा करिब आधा दर्जन स्थानमा ठूला पहिरोले आवतजावतमा समस्या भएपनि सडक स्तरोन्नतिको जिम्मा लिएको ठेकेदारले मर्मतमा चासो नदेखाएपछि जिल्ला प्रशासन कार्यालय, विपद् ब्यवस्थापन समितिमार्फत नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीका जवान, स्थानीय तह र यूवा क्लवले श्रमदान गरेर बाटो सञ्चालन गर्ने गरिएको छ ।

सडकको जिम्मा लिएको ठेकेदार लामो समयसम्म सम्पर्कविहिन हुदाँ पश्चिम म्याग्दीको मंगला,मालिका र धवलागिरी गाउँपालिकामा आवतजावत गर्न सर्वसाधारणले ठाँउठाउँमा सवारीसाधन परिवर्तन गर्नुपर्ने बाध्यता रहेको छ ।

‘सडकमा ठेकेदारका नाममात्रैका प्रतिनिधि छन्,‘अबरुद्ध भएको बाटो खुलाउन स्थानीय प्रशासन, स्थानीय तह र स्थानीयबासीको भर पर्नुपर्ने अवस्था आएको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए ।

‘सडकको जिम्मा लिएको ठेकेदार कम्पनीलाई कडा निर्देशन दिएको छु,‘जिम्मा लिएको सडकको काम नगर्नेलाई कारवाही हुन्छ’ प्रजिअ अधिकारीले भने ।उनका अनुसार बर्खायाममा सडक मर्मत तथा अवरुद्ध पन्छाउन पूर्वाधार कार्यालय मार्फत निर्देशन दिइएको छ ।

बेनी नगरपालिका र मंगला गाउँपालिका जोड्ने फाँपरखेतको पहिरो ठेकेदारको सहयोग विनै मर्मत हुने गरेको छ । प्रजिअ अधिकारीले पूर्वाधार कार्यालयका प्रमुख नवराज पौडेलमार्फत ठेकेदारलाई तत्काल कार्यक्षेत्रमा खटिन निर्देशन समेत दिइएको छ ।

अवरुद्ध सडक मर्मतका लागि कार्यालयको सम्पर्कमा रहेर कार्यक्षेत्रमा जान समेत पूर्वाधार कार्यालयका प्रमुख पौडेलले समेत ठेकेदार कम्पनीका आधिकारिक प्रतिनिधिलाई जानकारी गराएपनि प्रतिक्रिया नआएको कार्यालय स्रोतले जनाएको छ ।

२४ किलोमिटरको सडकखण्ड अन्र्तगत पहिलो चरणमा १४ किलोमिटर सडक स्तरउन्नती गरी कालोपत्रे गर्ने सडक डिभिजन कार्यालय बागलुङले लामा समानान्तर जेभीसंग ४४ करोड रुपैयाँको ठेक्का सम्झौता गरेको थियो ।

पश्चिम म्याग्दीको भविस्य संग जोडिएको सडकखण्ड अन्र्तरगत ११ मिटर फराकिलो सडक सात मिटर चौडाइमा कालोपत्रे गरिने छ । पहिलो चरणमा बेनी देखी बावियाचौरसम्म सडक कालोपत्र हुने सम्झौतामा उल्लेख छ ।

 

Leave a Reply