काठमाण्डौको एक फलफुल पसलमा काम गदैं आएका एक यूवा ३ दिनसम्म निरन्तर साईकल यात्रा गरी घर आइपुगेका छन् । लकडाउन खुलेपछि घर जाने योजना बनाएका बेनी नगरपालिका–५,पुलाचौरका हरि खत्री तीनदिन लगातार साइकलमा यात्रा गरी शुक्रबार विहान घर पुगेका हुन् ।

काठमाण्डौको सामाखुसीमा रहेको धौलागिरी डेरी एण्ड अर्गानिक पसलमा कार्यरत खत्री गत जेठ २१ गते विहान ८ बजे काठमाण्डौबाट हिडेका थिए ।

विहान डेरीबाट दुध ग्राहकको घरमा पुर्याएर साईकलमा निस्किएका खत्रीले पहिलो दिन तनहुँ आसपास, दोस्रो दिन पर्वतको मिलनचोक हुदै शुक्रबार विहानै घरमा पुगेको बताएका छन् ।

बाटोमा छोटो दुरीमा ट्याक्टरमा समेत साईकल राखेर यात्रा गरेपनि धेरै आफैले चलाएर आएको खत्रीको भनाई उद्धित गदैं एक स्थानीयले बताए । धेरै ‘रातको समयमा समेत साईकल चलाए,‘बाटोमै सुते’ उनले भने ।

विगत लामो समयदेखि काठमाण्डौमा काम गदैं आएका खत्रीले पसलबाट सेवाग्राहीलाई नियमित साईकलमै दुधजन्य पदार्थ घरमै ढुवानी गर्ने भएकाले समेत साईकलमा सजिलै यात्रा गरेको बताए । कष्टकर यात्रा गरेर भए पनि आफ्नै गाउँमा आउँन पाउँदा खुसी लागेको खत्रीको भनाई थियो।

काठमाडौवाट हिँडेको दिन उनलाई गाउँलेले समेत बाटोमा भेटेका थिए । बाटोमा होटल, पसल फाटफुट खुलेपनि उनले एकरात प्रतिक्षालयमा विताएका थिए ।

चेकपोष्टमा प्रहरीलाई घर जाने बताएपछि उनलाई छोडिदिएका थिए । पोखरा यताको सडकका बारेमा जानकारी भएकाले मध्यरातसम्म साईकल चलाउँदा खुट्टा गलिसकेका थिए ।

‘उसले साईकल राम्रो चलाउँछ,‘विना जानकारी गएपनि सुरक्षित घरमा पुगेको खवर आएको छ’ धौलागिरी डेरी एण्ड अर्गानिक पसलका सञ्चालक किशोर बानियाँले बताए ।

शुक्रबार विहान काठमाण्डौबाट आएको जानकारी पाएपछि वडा अध्यक्ष लक्ष्मण बानियाँले यूवालाई क्वारेन्टाइनमा बस्नुपर्ने बताएपनि थकित अवस्थामा रहेका उनले घरमै १४ दिनसम्म होम क्वारेन्टाइनमा बस्ने सहमति जनाएपछि छुटै कोठामा बस्ने, शौचालय छुट्टै प्रयोग गर्ने सहमति परिवारसँग भएपछि उनलाई घरमै राखिएको वडा अध्यक्ष बानियाँले बताए ।

‘जिल्ला बाहिरबाट आएकालाई मापदण्ड अनुसार क्वारेन्टाइनमा राख्ने गरिएको छ,‘उनका परिवारले केहीदिन छिमेकीको शौचालय प्रयोग गर्छन्’ बानियाँले भने । साईकलमा आउँदा सुरक्षित भएपनि होम क्वारेन्टाइन अनिवार्य रहेकाले बेलाबेलामा अनुगमन समेत गरिने बताए ।

लकडाउनको अवधिमा जिल्ला बाहिरबाट लुकिछिपी आउने क्रम रोकिएको छैन् । जिल्लाका विभिन्न गाउँमा कोरोनाको जोखिम मानिएका जिल्लाबाट समेत आउने गरेपनि समुदायको पहलमा क्वारेन्टाइनमा राख्ने गरिएको छ ।

Leave a Reply