सडकको छेउमा एउटा सानो प्रतिक्षालयमा बसिरहेका यी मान्छेको दृश्य पोखरा शान्तिघाटको हो । प्रतिक्षालयमा बसेको देखिने व्यक्ति हुन् म्याग्दीका सन्तोष मानन्धर, चितवनको १ रेष्टुरेन्टमा कुक रहेका उनी अहिले पोखरामा अलपत्र परेका छन् । कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले घोषणा गरेको लकडाउनले उनले काम गर्ने गरेको रेस्टुरेन्ट बन्द भयो ।

चितवनबाट घर जान श्रीमती र ५ वर्षीय छोरा काखमा बोकेर हिँडेका उनी ११ दिनदेखि पोखराको शान्तिघाटको प्रतिक्षालयमा दिन काटिरहेका छन् । सुरुमा साहुसाहुनीले जेनतेन रासनको व्यवस्था गरिदिएको भएपनि पछि त्यहाँबाट निकालिदिएको सन्तोषको भनाई छ।

सन्तोषले कोठा खोज्ने प्रयास गरेपनि कतै कोठा पाएनन् । चिनेका साथीभाइसँग सापटी मागे तर उनीहरु आफै पैसा नहुँदा समस्यामा थिए । केही उपाय नलागेपछि चितवनबाट गाउँ जान हिँडेका सन्तोष र उनको परिवारलाई मानव सेवा आश्रमले बिहानको खाना उपलब्ध गराइरहेको छ । साथमा पैसा नभएकाले बेलुका भने पाए खाने नखाए भोकै सुत्ने गरेका छन् । लकडाउनले रोजीरोटी खोसिँदा घर जान हिँडेका कति बीच बाटोमा नै अलपत्र परेका छन् । स्थानीय तहले यसरी समस्यामा परेकाहरुको खोजी गरेर उचित व्यवस्थापन गर्नु आवश्यक छ ।

Leave a Reply