कोरोना भाइरसको त्राससँगै बेनी नगरपालिकामा आइतबार एकैदिन तीन जनामा डेंगु पोजेटिभ देखिएपछि सरसफाई अभियान सुरू भएको छ । लामखुट्टेको टोकाइबाट सर्ने खतरनाक डेंगुको संक्रमणबाट जोगिन आवश्यक सचेतनामुलक कार्यक्रममा सुरू गरेको हो ।

बजार क्षेत्रमा रहेका सवारीसाधन मर्मत गर्ने ग्यारेजमा राखिएको टायरमा हटाउनुका साथै सरसफाई गरिएको प्रबक्ता रामकृष्ण बराईलीले बेनीअनलाईनलाई बताउनुभयो । ‘जोखिम न्यूनिकरणका अभियानहरू सञ्चालन गछौ,‘नियमित सरसफाई र सचेननामुलक कार्यक्रमलाई प्राथमिकता दिन्छौ’ बराईलीले भन्नुभयो । उहाँका अनुसार हरेक वडामा डेंगु नियन्त्रणका अभियानहरुलाई वडास्तरबाटै सञ्चालन गरिने बताउनुभयो । नगरपालिकाले फोहोर संकलनको क्रममा आफ्नो घरभित्र रहेका सवारीसाधनका टायरहरु समेत दिन अनुरोध गरेको छ। सवारीसाधन मर्मत गर्ने ग्यारेजलाई लामखुट्टेको लार्भाको भण्डारको रुपमा समेत चिन्ने गरिन्छ । प्रयोग नहुने पुरानो टायरभित्र जम्मा भएको पानी आसपासमा लामखुट्टेको फुल भेटिएपछि तत्कालै सबै टायरलाई नष्ट गर्न निर्देशन दिइएको नगरपालिकाले जनाएको छ ।

पहिलो चरणमा कालिपुल बसपार्क क्षेत्रबाट करिव ८० वटा पुरानो टायरलाई नष्ट गरिएको छ । अनुगमनका क्रममा केही टायरभित्र लामखुट्टेको लार्भा भेटिएकाले ग्यारेज आसपासमा संक्रमणको उच्च जोखिममा रहेको नगर स्वास्थ्य शाखाले जनाएको छ । बेनीबजारमा सर्वसाधारणको बाख्लो आवतजावत हुने स्थानमा ग्यारेज भएकाले पनि डेंगु रोग सार्ने एडिस लामखुट्टेको जोखिम रहेको बेनी अस्पतालका डा. नवराज बस्ताकोटीको बताउनुभयो।

‘ग्यारेजभित्र रहेका टायरहरू सबैभन्दा जोखिम छन्,‘जनचेतनामुलक कार्यक्रमको अति आवश्यक छ’ डा. बस्ताकोटीले भन्नुभयो । पानीको मुहान, फोहोर संकलन केन्द्र, कवाडी राखिएका ठाउँहरूमा तत्काल लार्भा नष्ट गर्नुपर्ने अवस्था आएको डा. बस्टाकोटीको भनाई छ ।

लामखुट्टेले दिउँसोको समयमा टोकेमा डेंगु लाग्ने सम्भावना बढि हुने भएकाले रोगी लामखुट्टेले सफा र फोहोर दुबै पानीमा अण्डा पार्ने र अण्डा पारेको भाडा, प्लाष्टिक, गमला, पोखरी जुनसुकै ठाउँमा अण्डा भित्तामा टाँसिएर रहने भएकाले एक बर्ष सम्म पनि नमर्ने शरीर ढाक्ने लुगा लगाउने, सुत्दा झुलको प्रयोग गर्नुपर्ने, शरीरको खुल्ला भागमा मलम प्रयोग गर्नुपर्ने लगायत उपाय अपनाउनुपर्छ ।

सर्वसाधारणलाई डेंगु रोगका बारेमा समान्य जानकारी समेत नहुदाँ भविस्यमा महामारी फैलिनसक्ने भन्दै तत्काल बजार भएका सबै स्थानीय तहमा कार्यक्रम गर्नुपर्नेमा जोड दिइएको छ । बेनी नगरपालिकामा ३, मंगला र मालिका गाउँपालिकामा २ जना गरी बैशाख महिनामा पाँच डेंगु संक्रमित भेटिएकोमा १ महिला र ४ पुरुष छन् । गतबर्ष म्याग्दीमा १२ जनामा डेंगु देखिएको थियो ।

Leave a Reply