बेनी नगरपालिका-९,तोरीपानीकी विष्णु दर्जीको तीन बर्ष अगाडि छालामा दाग आउने, हातखुट्टा दुख्ने, अनुहारमा राता–राता डाबर आउने समस्या देखिएपछि टुना–मुना लागेको भन्दै धामीझाँक्रीबाट उपचार गराईन्।

सुतेको अवस्थामा बोक्सीले टोकेर यस्तो भयो भन्दै दर्जी र उनका परिवारले डेढबर्षसम्म गाउँदेखि पोखरासम्म झाँक्रीलाई देखाउने र उनीहरूकै लहलहैमा समय विताईन्। एउटै झाँक्रीलाई ५० हजारसम्म खर्च गरे। धामीझाँक्रीको खर्च, बोका, कुखुरा लगायत अन्य पूजाका साम्रागीमा झन्डै डेढ लाख खर्च गरेकी दर्जीले लामो समयसम्म समस्या आइरहेपछि उनी गाउँकै स्वास्थ्य चौकीमा समेत गइनन्।

झन–झन् स्वास्थ्यमा खरावी देखिन थालेपछि पोखराको अस्पतालमा पुगेकी दर्जीलाई चिकित्सकले ‘लुपस’ भएको सुनाएपछि छाँगाबाट खसेजस्तै भईन् । शरीरमा समान्य समस्या देखिदाँ धामीझाँक्रीको चक्करमा विताएकी दर्जीले सामाजिक कुरिति तथा अन्धविश्वासमै करिब डेढबर्ष विताएपछि अन्तिममा अस्पतालमा पुगेपछि चिकित्सकले दिएको सुझाव अनुसारको औषधी सेवन गरिरहेकी छन् ।

‘आधादर्जन धामीले उपचार गर्न सकेनन्,‘जटिल रोगसँग लड्ने पैसा सबै सकियो’ विष्णुकी सासु सुकमायाँ दर्जीले भनिन् । ओठमा दाग आउने, मुखमा घाउ आउने, चिलाउने, खटिरा आउने समस्याको उपचारमा आवश्यक खर्चको अभावले समस्या भएको बताईन् । गाँउघरमा पूजाआजा गरेपछि निको हुने विश्वासले ऋणधन गरेर फुकफाक गरिएको बताउँदै उपचारमा आर्थिक अभाव भएपछि घरमै बस्नुपरेको गुनासो गरिन् ।

उनले झारफुक बाहेक पनि पोखराको गण्डकी मेडिकल कलेजमा १ लाख ३० हजार, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ३० हजार खर्च गरेको बताईन् ।

‘अन्धविश्वासमा लाग्दा ऋणमा डुबेका छौ,‘गाउँघरमा म जस्ता धेरैले रोग लुकाएर बस्नुपर्ने अवस्था छ’ उनले भनिन् । उपचारमा साढे ६ लाख खर्च भएकोमा वित्तिय संस्थामा धितो राखेर चार लाख कर्जा लिएको दर्जी परिवारको भनाई छ । लकडाउनमा उपचारको अभावले दर्जी छटपटाइरहेकी छन् ।

यता बेनी अस्पतालका क्लिनिकल कोअर्डिनेटर डा. नवराज बस्ताकोटीले लुपस एक प्रकारको वाथजस्तै भएकाले अन्धविश्वासका कारण धेरै बिरामी गाउँघरमै अल्झिने गरेको बताए । ‘जनचेतना तथा पहुँचको कमीले बिरामीहरू उपचार गर्न ढिला आइपुग्छन्,‘सदरमुकाम नजिकै यस्तो समस्या लुकाउने बिरामी भेटिनु दुखको कुरा हो’ डा. बस्ताकोटीले भने ।

उनले यो पुरुषको तुलनामा महिलामा धेरै देखिने बताए । लुपसका लक्षण देखिएपछि बिरामीले जीवनभर औषधि खानुपर्ने चिकित्सकको भनाई छ ।

 

Leave a Reply