पश्चिम म्याग्दीको मालिका गाउँपालिकाले सुनौलो हजार दिनका बालबालिकाहरुलाई लक्षित गर्दै सर्वोत्तम पीठो वितरण सुरु गरेको छ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलन नदिन जारी लकडाउनको समयमा बालबालिकाहरुमा कुपोषण नहोस् भन्ने उद्देश्यसहित पीठो वितरण गरिएको हो ।

गाउँपालिकाको सहयोग तथा मिलन म्याग्दीको सहजीकरणमा मालिका गाउँपालिकाभित्रका विपन्न परिवारको पहिचान गरी सर्वोत्तम पीठो वितरण सुरु गरिएको छ । दुई भाग अन्न र एक भाग गेडागुडी मिश्रित अन्नलाई पिसेर पीठो बनाई वितरण गरिएको मालिका गाउँपालिकाले जनाएको छ ।

लकडाउनको समयमा ६ महिनादेखि २ वर्ष मूनिका बालबालिकाहरुमा कुपोषण हुनबाट बचाउन सर्वोत्तम पीठो वितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले जानकारी दिनुभयो ।
उपाध्यक्ष बिटालुका अनुसार सर्वोत्तम पीठो पालिकाका झण्डै २ सयजना सुनौलो हजार दिनका बालबालिकाहरुलाई वितरण गर्ने तयारी गरिएको छ ।

पहिलो चरणमा मालिका–४, ओखरबोटबाट विपन्न परिवारलाई पीठो वितरण गरिएको उपाध्यक्ष बिटाुलले बताउनुभयो । गाउँपालिकाले आफ्नो सबै वडामा रहेका विपन्न समुदायका बालबालिकालाई सर्वोत्तम पीठो वितरण गर्ने भएको छ ।

गाउँघरमा पाइने घरायसी खाद्यान्नहरु जौ, मकै, गहुँ, चामल, ऊवा, कोदो, भटमास, चना, सिमी, बोडी र केराउलाई मिलाएर सर्वोत्तम पीठो बनाउने गरिन्छ । बालबालिकाहरुलाई सर्वोत्तम पीठो थप खानाको रुपमा उपयुक्त मानिन्छ । हिमाली जिल्ला म्याग्दीमा मिलन म्याग्दीमार्फत सुआहारा कार्यक्रम सञ्चालन गरी पोषणसम्बन्धी गतिविधहरु सञ्चालन हुँदै आइरहेको छ ।

Leave a Reply