हिमाली जिल्ला म्याग्दीमा पछिल्लो तथ्याङ्कअनुसार १५ जनालाई क्वरेण्टीनमा राखिएको छ । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमणबाट बच्न उच्च सतर्कतासहित ८४ जनालाई क्वरेण्टीनमा राखिएको थियो । तीमध्ये विदेशबाट फर्किएर क्वरेण्टीनमा बसेका ६९ जनालाई १४ दिन पुगेपछि डिस्चार्ज गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
विदेशबाट तथा अन्य जिल्लाबाट म्याग्दी भित्रिएकासहित अहिले धवलागिरी गाउँपालिकामा १३ र मङ्गला गाउँपालिकामा २ जना क्वरेण्टीनमा रहेको म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार मङ्गला गाउँपालिकाको क्वरेण्टीनमा रहेका दुईजना छिमेकी जिल्ला बागलुङबाट आएका हुन् । क्वरेन्टीनमा बसेर घर फर्किएकालाई एक हप्तासम्म घरमै बस्न तथा बाहिर ननिस्कन सुझाव दिइएको छ ।
कोरोना भाइरसको सङ्क्रमण रोकथामको लागि भन्दै म्याग्दी जिल्लामा कुल १ सय ७३ बेड क्षमताको क्वरेण्टीन निर्माण गरिएको छ । त्यसमध्ये बेनी नगरपालिकामा ५०, रघुगङ्गा गाउँपालिकामा ५०, धवलागिरीमा ४०, अन्नपूर्णमा १५, मङ्गलामा १० र मालिकामा ८ बेड क्षमताको क्वरेण्टीन रहेको छ ।
यसैबीच जिल्लामा ‘लकडाउन’लाई थप कडा बनाइएको स्थानीय प्रशासनले जनाएको छ । छिमेकी बागलुङ जिल्लामा कोरोना भाइरसको सङ्क्रमण पोजेटिभ देखिएसँगै म्याग्दीमा उच्च सतर्कता अपनाइएको हो ।
म्याग्दीमा बाहिरी जिल्लाबाट आउन रोक लगाइएको छ भने स्थानीय सरकारहरुले पनि एक ठाउँबाट अर्को ठाउँमा जान निषेध गरेका छन् । स्वयंसेवक र प्रहरी परिचालन गरी गाउँ गाउँमा समेत अनुगमनलाई तीव्र पारिएको छ । यसैबीच जिल्लाका स्थानीय सरकारहरुले ‘लकडाउन’को कारण मजदुर तथा विपन्न परिवारलाई राहतस्वरुप खाद्यान्न वितरण सुरु गरेका छन् ।
पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिकाले लुलाङको लमसुङ, खोरिया र ताकमको मच्छिममा गरी हालसम्म १ सय परिवारलाई दैनिक उपभोग्य सामग्रीहरु वितरण गरिएको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले जानकारी दिनुभयो ।यसैगरी मालिका गाउँपालिकाले निस्कोट, रुम र देवीस्थानमा झण्डै ३४ सय परिवारलाई राहत दिने जनाएको छ ।
त्यस्तै मङ्गला गाउँपालिकाले कुहुँ, बाबियाचौर, बराङ्जा र अर्मनमा राहत बाँडिएको बताउँदै करिब ४ सय घरधुरीलाई राहत बाँड्ने भएको छ । त्यसैगरी, बेनी नगरपालिकाले सिङ्गा र बेनीबजारमा ज्याला मजदुरी गर्ने तथा विपन्न परिवारलाई राहत सामग्री वितरण गरिसकेको जनाएको छ ।
यस्तै, रघुगङ्गा गाउँपालिकाले राहत वितरणको काम सुरु गरिसकेको बताएको छ । त्यस्तै उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले भने राहत सामग्री खरिद गरेर राखेको छ । अहिले वडास्तरबाट विपन्न परिवारको तथ्याङ्क सङ्कलनको काम भइरहेको हुँदा चाँडै राहत वितरण गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन सुवेदीले बताउनुभयो ।