म्याग्दीमा चैत्र १ गते यता विदेशबाट आएकालाई क्वारेन्टाइनमा राखिने भएको छ। विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्नका लागि विदेशबाट आएकाले होम क्वारेन्टाइनमा बस्न पटक–पटक सुझाव दिएपनि केहीले कार्यान्वयनमा चासो नदेखाएको अवस्थामा संक्रमणको जोखिमबाट जिल्लालाई सुरक्षित राख्न सबैलाई क्वारेन्टाइनमा राखिने भएको छ ।

शुक्रबार जिल्ला प्रशासनमा बसेको कोभिड–१९ को कमाण्ड पोष्टको बैठकले चैत्र १ गते यता आएका ६० जनालाई पायक पर्ने स्थानमा बनाइएको क्वारेन्टाइनमा राखिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताउनुभयो ।

‘यो आवश्यकता देखियो,‘एकिकृत योजना कार्यान्वयनलाई थप प्रभावकारी बनाउने छौ’ प्रजिअ ढकालले भन्नुभयो । उहाँले जिल्लाका सबै स्थानीय तहमा भारत सहित तेस्रो मुलुकबाट आएका ९३ जनाको सम्पूर्ण विवरण प्राप्त भइसकेकाले क्वारेन्टाइनमा बस्ने गरी आवश्यक तयारी गरिएको बताउनुभयो ।

क्वारेन्टाइनमा राख्नु अगाडी सबैको स्वास्थ्य परीक्षण गरिने भएको छ।ग्रामिण क्षेत्रमा विदेशबाट आएकाले संक्रमणको जोखिमको त्रासलाई न्यूनिकरण गर्न र सदरमुकाम बाहिर समेत ‘लकडाउन’ को पूर्ण कार्यान्वनका लागि निर्णय गरिएको नेपाल रेडक्रस सोसाईटीका प्रतिनिधि सुरत केसीले जानकारी दिनुभयो । पश्चिम म्याग्दीको मालिका र धवलागिरी गाउँपालिकामा विदेशबाट आएकालाई दरवाङको छ्यारछ्यारेमा रहेको जनप्रिय माविको भवनमा ७ शैया क्षमताको क्वारेन्टाइनमा राखिने छ भने मंगला गाउँपालिका र बेनी नगरपालिका भित्रका लाई न्यु वेष्ट पोइन्ट आवासीय माविको भवनमा ३० शैया क्षमताको क्वारेन्टाइनमा राखिने जनाइएको छ।

वेष्ट प्वाइन्टमा शनिबारसम्म आवश्यक तयारी गरिने छ । विदेशबाट आएकाहरु न्यूनतम २ देखि १४ दिनसम्म बस्नुपर्ने छ ।ग्रामिण क्षेत्रमा विदेशबाट आएका केहीले होम क्वारेन्टाइनमा बस्न गरेको अनुरोध उल्लंघन गरेपछि यस्तो निर्णय लिनुपर्ने अवस्था आएको जिल्ला विपद् ब्यवस्थापन समितिले जनाएको छ । क्वारेन्टाइनमा बस्नेलाई स्थानीय तहले नै खाना खुवाउने जनाइएको छ ।

त्यस्तै रघुंगा गाउँपालिका ८ वटै वडामा ५ बेडको दरले ४० शैयाको क्वारेन्टाइन बनाएकाले आफ्नै वडाभित्रको क्वारेन्टाइनमा बस्नुपर्ने छ । क्वारेन्टाइनमा बस्दा लागु हुने नियमका बारेमा जानकारी गराइने र सोही अनुसार स्वास्थ्यकर्मीले निगरानी गर्ने जनाइएको छ ।

क्वारेन्टाइनमा राखिएकालाई कोरोनाको संक्रमणको जोखिम मानिने रुघाखोकी, ज्वरो लगायत आवश्यक स्वास्थ्य परीक्षण गरिने बेनी अस्पतालका प्रमुख अमृत अधिकारीले बताउनुभयो । उपचारमा जोखिम मानिएको नमुना परीक्षणका लागी काठमाण्डौको टुके पठाइने छ ।

नमुना परीक्षणमा कोरोना पोजेटिभ देखिए थप उपचारका लागि टुके पठाइने छ ।त्यस्तै कोरोना संक्रमितहरुको उपचारका लागि जिल्लामा स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरुलाई तयारी अवस्थामा राखिएको छ । गाउँबाट संक्रमितलाई अस्पतालसम्म ल्याउन एम्बुलेन्सको व्यवस्थापनका साथै कोरोना संक्रमितको चेकजाँचका लागि स्वास्थ्यकर्मीले लगाउने सुरक्षा कवजको पनि व्यवस्था गरिएको छ ।

Leave a Reply