एजेन्सी- कोरोना भाइरसको संक्रमणमा परेर उपचारका लागि आइसियूमा भर्ना भएकी एक महिलाले आइसियू कक्षाबाट लाइभ भिडियो पोस्ट गर्दै संक्रमणमा परेपछिको आफ्नो अनुभव बाँडेकी छन्।

स्वास्थ्य अवस्थामा कुनै समस्या नभएकी  तारा जेनी लान्सटन गत शुक्रबार एकाएक सास फेर्न समस्या भएपछि अस्पताल पुगेकी थिइन्। परिक्षणमा उनमा कोरोना भाइरसको संक्रमण देखिएपछि उपचारका लागि आइसियूमा भर्ना गरिएको थियो। एक साताको उपचारपछि स्वास्थ्यमा सुधार भएपछि उनले आफ्नो अनुभव बाँड्दै धूमपानको लतमा फसेकाहरुलाई तत्काल धूमपान गर्न छाड्न आग्रह गरेकी छन्।

लण्डनको हिलिङ्डन अस्पातलको आइसियू बेडबाट उनले आग्रह गरिन्‚ ‘सबै जनालाई पश्चिम लण्डनबासीको आग्रह अहिले कुनै हेलचेक्र्याईं नगर्नुहोला।’ उनले गत शुक्रबारको तुलनामा अहिले १० गुणा राम्रो अनुभव गरिरहेको बताउँदै भनेकी छिन्‚ ‘त्यो बेला त म आफ्नो बाँच्ने दिन गन्न नि बिर्सिसकेको थिए।’

जुन समयमा उनलाई कोरोना भाइरसको संक्रमण भइसकेको थियो त्यो बेलामा फोक्सोमा पानी हालिदिएजस्तै अनुभव भएको बताउँदै उनले अनुरोध गरिन्‚ ‘यदि कोही अहिले पनि चुरोट खाइरहनुभएको छ भने तत्काल छाड्नु, किनकी म अहिले भनिरहेको छु यो ज्यानमारा भाइरससँग लड्न तपाइलाई स्वस्थ फोक्सो चाहिन्छ।’

उनले आफ्नो जीवनमा अब यस्तो अनुभव कहिल्यै गर्नु नपरोस् भन्ने कामना गरेकी छन्। प्रारम्भमा सास फेर्न नै कुनै ठूलो संघर्ष गर्नुपरेको अनुभव बाँड्दै उनले भनिन्‚ ‘यदि हेरौं भनेर बस्यो भने तपाईंले जीवनमा निक्कै नराम्रो अनुभव गर्नुपर्नेछ।’

एम्बुलेन्समा अस्पताल पुगेकी उनलाई चिकित्सकले परिक्षण गर्दा उनको छातीमा संक्रमण देखिएको थियो। कोरोना भाइरसले उनको फोक्सोमा आक्रमण गरेको खुलेपछि उनलाई आइसियूमा राखेर उपचार सुरु गरिएको थियो। अहिले सो अस्पतालको आइसियूमा उनीसँगै अन्य २ जना कोरोना संक्रमित छन्।

उनले अन्तमा आग्रह गरेकी छन्‚ ‘कोरोना भाइरसको संक्रमणमा नपरेसम्म म पनि केही हुन्न भन्ने सोचमा थिए, अहिले म कसैलाई यस्तो नहोस् भन्नेमा पुगेको छु। हेलचेक्र्याईं नगर्नुस् आफैं आइसोलेसनमा बस्नुस्।’ Source: swasthyakhabar.com

Leave a Reply