महोत्तरी गौशालाकी २६ वर्षीया रञ्जु शा संकरलाई पहिले बालमनोवैज्ञानिक तरिकाले बालबच्चालाई हुर्काउनुपर्ने ज्ञान थिएन । रञ्जुले अबोध सन्तानलाई यदाकदा ससाना गल्तीमा हप्काउने गर्थे ।

दुई सन्तानकी आमा रञ्जु आजभोलि आफूले प्राप्त गरेको ज्ञानका कारण समुदायका महिलालाई सम्झाउने कार्यमा व्यस्त छन् । गौशाला नगरपालिका–१ की ३४ वर्षीया रिमादेवी सादाले पहिल्यै छोराछोरीले हैरान गर्दा आफूले हप्काउने र यदाकदा पिट्ने गर्थे । बालबालिकाको मन कोमल भएकाले कुटपिट वा हप्काएपछि उनीहरूको मनोभावनामा ठेस पुगेको कुरा थाहा नपाउँदा उनीहरू सानै उमेरमा गलत बाटो अपनाउने कुरा बल्ल थाहा भएको रिमादेवीले बताए ।

उनी भन्छन्, ‘सेभ द चिल्ड्रेन र सामुदायिक परिवार कल्याण समाजले आफ्नै समुदायमा आएर बाल संवेदनशीलसम्बन्धी १४ हप्ते प्रशिक्षणको क्रममा बालबालिकालाई मायाले सम्झाउनुपर्छ भन्ने ज्ञान प्राप्त भयो ।’ हरेक परिस्थितिमा उनीहरूको मनोभावनमा बुझी मायालु व्यवहारले नै उनीहरूलाई सम्झाइबुझाई सिकाउनुपर्छ ।

पहिलेपहिले माया गर्नुको सट्टा छोराछोरीलाई झपार्ने कार्य गर्दै आएकोमा बालबच्चाप्रति माया गरेर नै हुकार्उने बानीको विकास क्रमिक रूपमा आफूमा विकसित भएको एक छोरीकी आमा रहेकी गौशाला नगरपालिका–५ की २३ वर्षीया चन्दादेवी सदाले बताए । सदाले भने, ‘यो ज्ञान आफूले कुनै विद्यालय वा व्यवहारमा नभई बाल संवेदनशील तालीमको क्रममा क्रमिक रूपमा ज्ञान हासिल गरेको हो ।’

सो सन्दर्भमा गौशाला नगरपालिकाको ८४ जना दलित समुदायका महिलालाई बाल संवेदनशीलसम्बन्धी तालीम प्रदान गरिएको छ । चौध सत्रमा विभिन्न किसिमको बाल मनोवैज्ञानिक ज्ञान प्रदान गरेर उनीहरूलाई अभिभावकको सहमतिमा नै तालीम प्रदान गरिएको प्रशिक्षक उमा घिमिरेले बताए । प्रत्येक हप्ता दुई घण्टाका दरले पोषणभत्ता पाउने दलित समुदायका महिलालाई पहिलो चरणमा कक्षा सञ्चालन गर्दा खासै रूपमा कुनै किसिमको समस्या सिर्जित नभएको प्रशिक्षक घिमिरेले जानकारी दिए ।

यसप्रकारका प्रशिक्षण कार्यक्रम सञ्चालन गरी दलित समुदायका बालबच्चालाई स्याहारसुसार गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले नगरपालिकाले यसवर्ष बजेट नै छुट्याएको गौशाला नगरपालिकाका उपप्रमुख आशा लामाले बताए । प्रशिक्षणका क्रममा हासिल गरेको ज्ञानलाई प्रमाणपत्रमा सीमित नराखी व्यवहारमा समेत लागू गरे समाज अवश्य नै सकारात्मक पथमा लम्किने सामुदायिक परिवार कल्याण समाजका कार्यकारी निर्देशक मिथलेश साहले प्रतिक्रिया दिएका छन् ।

जिल्लाको बर्दिवास र गौशाला नगरपालिकाका दश वडामा यस्ता कार्यक्रम सञ्चालनमा रहेको सेभ द चिल्ड्रेनका महोत्तरी संयोजक अनिता तामाङले जानकारी दिए । यस्ता कार्यक्रम विश्वको ७२ वटा मुलुकमा सञ्चालित रहेकाले यस प्रकारका कक्षा सञ्चालनले गृहीणीलाई बालबच्चा पालनपोषण गर्न सहज बनाउने संयोजक तामाङले बताए ।यस्ता कार्यक्रम यस आर्थिक वर्षमा पनि नगरपालिकाले निरन्तरता दिने उपप्रमुख लामाले बताए । आगामी दिनमा कार्यक्रमलाई थप प्रभावकारी बनाउने योजना बनाएर सञ्चालन गरिने उपप्रमुख लामाले प्रतिबद्धता जनाए । Source: a2zonlinekhabar.com

Leave a Reply