प्राकृतिक उपचारको चिकित्सालयका रुपमा विकसित हुँदै गैरहेको म्याग्दीको तातोपानी कुण्डमा अबदेखि साँझको समयमा पनि डुब्न पाइने भएको छ । बेनी नगरपालिका–४, सिङ्गास्थित रहेको तातोपानी कुण्डको बाहिरपट्टी नयाँ पोखरी निर्माणसँगै महिला पुरुषले छुट्टाछुट्टै स्नान गर्न पाउने व्यवस्था गर्न लागिएको हो ।

तातोपानीको मुख्य कुण्डभन्दा बाहिरपट्टी धारा नजिकै दुईवटा पोखरी निर्माण गरिएसँगै महिला र पुरुषले छुट्टाछुट्टै डुब्न पाउने छन् । नियमित स्नान गर्ने बिरामीबाहेक जुनसुकै समयमा पनि आउने सर्वसाधारण, पर्यटक, बिरामी तथा स्थानीयलाई लक्षित गरी बनाइएको पोखरीमा अब साँझ ८ बजेसम्म स्नान गर्न पाउने व्यवस्था मिलाउन लागिएको तातोपानी कुण्ड व्यवस्थापन समितिले जनाएको छ ।

तातोपानी कुण्डमा स्नान गर्न आउने बिरामी र पर्यटकको चाप बढ्दै गएपछि कुण्डभन्दा बाहिर दुईवटा पोखरी बनाइएको कुण्ड व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रमान शाक्यले बताए । उनका अनुसार यसअघि एउटा मात्रै पोखरी बनाइएको हुँदा चाप बढेपछि अर्को पोखरी थप गरिएको हो । हालसम्म बाहिरको पोखरीमा महिला र पुरुषले सँगसँगै नुहाउनुपर्ने बाध्यता रहेकोमा नयाँ पोखरी निर्माण गरेसँगै महिला तथा पुरुषलाई छुट्टाछुट्टै नुहाउने व्यवस्था गरिने अध्यक्ष शाक्यको भनाइ छ ।

हालै मात्र निर्माणसम्पन्न पोखरीमा आवश्यक व्यवस्थापनसहित आउँदो फागुन महिनाको पहिलो सातादेखि सञ्चालनमा ल्याउने तयारी गरिएको तातोपानी कुण्ड व्यवस्थापन समितिका सचिव कुमार केसीले जानकारी दिए । उनले कुण्ड बाहिर बनाइएका पोखरीमा साँझको समयमा स्नानका लागि आवश्यक पर्ने सुरक्षा, बिजुली बत्ती, पोखरीमाथि छाना निर्माणलगायत कामलाई तीव्रता दिएको बताए ।

कुण्ड बाहिरको पोखरीमा सबै व्यवस्थापनपछि साँझमा ८ बजेसम्म स्नानको व्यवस्था गरिने हुँदा खासगरी काम सकेर बागलुङ, कुश्मा, मालढुङ्गा क्षेत्रबाट आउने र स्थानीयलाई लक्षित गरी स्नानको व्यवस्था मिलाइने छ । तातोपानी कुण्ड परिसरमा टिकट काउण्टरको व्यवस्थापन, कुण्डसम्मै सहज यातायातको पहुँच, रिटेनिङ वाल निर्माण, नयाँ पोखरी थप र बगैंचा समेत निर्माण गरिएको समितिका सदस्य गणेशबहादुर बानियाँले जानकारी दिए ।

तातोपानी कुण्डमा अपाङ्गतामैत्री संरचना निर्माण गरिएको छ । अहिले दैनिक ८ सय जनाको हाराहारीमा तातोपानी कुण्डमा सर्वसाधारण तथा पर्यटकले स्नान गर्दै आइरहेका छन् । पछिल्लोपटक तातोपानी कुण्डलाई थप व्यवस्थित बनाउँदै लगिएको छ । चालु आर्थिक वर्षमा सांसद विकास कोषबाट तातोपानी कुण्ड परिसरमा भवन निर्माणका लागि ५० लाख रुपैयाँ बजेट परेको छ ।

प्रतिनिधि सभा सदस्य भूपेन्द्रबहादुर थापामार्फत आएको बजेटले योगाहल, वैठक कक्ष र तालिम हल बनाइने बताउँदै योजना कार्यान्वयन लागि आवश्यक तयारी गरिएको अध्यक्ष शाक्यले बताए । जमिन मूनिबाट ४८ देखि ५३ डिग्री सेल्सियसको तापक्रममा बिरेनुनको स्वादसहित निस्कने तातोपानीको कुण्डमा डुबुल्की मारेपछि ग्याँस्ट्रिक, बाथरोग, गानोगोला, युरिकएसिड, हार्डजोर्नी दुख्ने, हड्डीको दुखाई, सड्केको, मर्केको, बज्रिएकोसहित चिसोबाट उत्पन्न रोगहरु निको हुने जनविश्वास छ ।

Leave a Reply