पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको आयोजनामा दरवाङमा जारी अन्तर मावि स्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन भिम मावि देविस्थानले पदक तालिकामा फराकिलो अन्तर सहित अग्रता लिएको छ ।

प्रतियोगिताको शुक्रबासम्मको नतिजामा मालिका–५ देविस्थानको भिम माविले १३ स्वर्ण, ४ रजत र ४ काँस्यसहित अग्रता लिएको छ भने किसानी मावि बिमले ७ स्वर्ण, ११ रजत, ५ काँस्य सहित दोस्रो स्थानमा रहेको छ । त्यस्तै जनप्रिय मावि दरबाङले ३ स्वर्ण, ४ रजत र ७ काँस्य पदक प्राप्त गरेको खेलकुद प्रतियोगिताका मुल संयोजक एवम् वडा नं ६ का अध्यक्ष सन्तनाथ सुबेदीले जानकारी दिनुभयो । प्रतियोगितमा गाउँपालिका भित्रका ५ विद्यालय स्वर्णपदक विहिन हुने भएका छन् ।

उहाँका अनुसार प्रतियोगिताको शनिबार सम्पन्न हुने छात्र भलिबल तर्फ केवी एकेडेमी र ओखरबोट मावि, छात्रातर्फ अमर मावि डाँडागाउँ र ओखरबोट माविको फाइनल खेल हुने छ । ११ विद्यालय सहभागि प्रतियोगितामा भलिबल, कवड्डी र एथलेटिक्स बिधाका १५ वटा खेल आयोजना गरिएको छ । डिफेन्डिङ च्याम्पियन भिम माविका खेलाडीको खेल अभ्यास तथा प्रतियोगिताको नतिजा आफ्नो पक्षमा पार्ने गरी प्रयाप्त पूर्व तयारी देखिएको थियो ।

प्रतियोगितमा विभिन्न विधाका विजेतालाई गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका, उपाध्यक्ष खरमायाँ विटालु, वडा अध्यक्ष सहितको उपस्थितीमा पुरस्कार वितरण गरिएको थियो । शनिबार हुने भलिबलको फाइनल खेल लगत्तै पुरस्कार वितरण गरिने जनाइएको छ । प्रतियोगिताको बिजेता, उपबिजेता र तेस्रो हुनेलाई रनिङ्ग शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र सहित क्रमश. ५५ हजार, ४० हजार र २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

Leave a Reply