विश्वविद्यालय अनुदान आयोग, नेपालबाट म्याग्दी बहुमुखी क्याम्पसले गुणस्तर सुनिश्चितता प्रत्यायन (क्युएए)को प्रमाणपत्र प्राप्त गरेको खुसियालीमा आज क्युएएउत्सव मनाएको छ । म्याग्दी बहुमुखी क्याम्पसको आयोजनामा मङ्गलबार एक समारोहबीच ¥याली, झाँकीसहित विभिन्न कार्यक्रम गरेर क्युएएउत्सव मनाएको हो । क्याम्पसले अन्तर्राष्ट्रियस्तरको गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रणाली (क्युएए) प्रमाणपत्र पाएको खुसियालीमा म्याग्दी जिल्लास्थित विभिन्न जातीय, सामाजिक र शैक्षिक संघसंस्थाले सदरमुकाम बेनीमा झाँकीसहितको ¥याली प्रस्तुत गरेका थिए।

साविकको धौलागिरी अञ्चलमा नै म्याग्दी बहुमुखी क्याम्पसले पहिलोपटक क्युएएको प्रमाणपत्र प्राप्त गरेपछि खुसियालीस्वरुप क्युएएउत्सव आयोजना गरिएको जनाइएको छ । विश्वविद्यालय अनुदान आयोगले क्युएए प्रमाणपत्र प्राप्तिका लागि तयार गरेको १ सय २० ओटा सूचकहरुमध्ये क्याम्पसले अधिकांश सूचकहरु पुरा गरेपछि आयोगले गएको पुस २८ गते क्युएए प्रमाणपत्र दिएको थियो ।

देशैभर सञ्चालित क्याम्पसहरुमध्ये हालसम्म ४३ ओटाले क्युएएको मान्यता पाएकोमा म्याग्दी बहुमुखी क्याम्पस ४१औं स्थानमा रहेको छ । सन् २०१२ मा क्युएएका लागि आशयपत्र प्रस्तुत गरेको म्याग्दी बहुमुखी क्याम्पसले पछिल्लो समयमा आवश्यक तयारीलाई तीव्रता दिएको थियो ।

गएको असोज १ देखि ५ गतेसम्म समकक्षी परीक्षण भ्रमणका लागि प्राध्यापक डाक्टर बासुदेव काफ्लेको नेतृत्वमा क्याम्पसमा अध्ययन गर्न आएको ५ सदस्यीय टोलीले गुणस्तर परीक्षण गरेपछि अनुदान आयोगलाई प्रमाणपत्रका लागि सिफारिस गरेको थियो ।क्युएएको मान्यता प्राप्त गरेको अवसरमा क्याम्पस परिसरमा क्युएए स्मारक समेत स्थापना गरिएको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य भूपेन्द्रबहादुर थापाले विगतमा केही सुचकहरुमा म्याग्दी जिल्ला पछाडि परेको भए पनि अब पछाडि पर्ने अवस्था नरहेको बताए । उनले शैक्षिक संघसंस्थाले बेरोजगारको अन्त्य गर्नुपर्ने बताउँदै अन्तर्राष्ट्रिय श्रम बजारमा बिक्न सक्ने शैक्षिक जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिएका छन् ।कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीका अध्यक्ष गोविन्द पौडेल, नेपाली कांग्रेसका उपसभापति माधवप्रसाद रेग्मी, बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्याल, सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदी, क्युएए फोकलपर्सन गोरखबहादुर जिसी र स्ववियुका कार्यवाहक सभापति ईश्वर सुवेदीले मन्तव्य राखेका थिए । २०४८ सालमा स्थापना भएको म्याग्दी बहुमुखी क्याम्पसमा कक्षा ११÷१२ र स्नातक तहमा मानविकी, व्यवस्थापन तथा शिक्षा सङ्काय एवंं स्नातकोत्तरतर्फ एमबिएस विषयमा पठनपाठन हुँदै आएको छ । क्याम्पसमा हाल १ हजार भन्दाबढी विद्यार्थीहरु अध्ययनरत छन् ।

उक्त कार्यक्रमको अवसरमा क्युएए प्राप्तिका लागि सहयोग पु¥याउने क्याम्पसका संरक्षक, सञ्चालक समिति, प्राध्यापक–कर्मचारी र विभिन्न संघसंस्थालाई सम्मान गरिएको थियो । कार्यक्रम क्याम्पस सञ्चालक समितिका अध्यक्ष बालकृष्ण सुवेदीको अध्यक्षता, उपाध्यक्ष सोमनाथ ढुङ्गानाको स्वागत र क्याम्पस प्रमुख टिकाराम सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।

Leave a Reply