नेपाल भ्रमण वर्ष–२०२० को अवसरमा हिमाली जिल्ला म्याग्दीको मंगला गाउँपालिका–१, पूर्णगाउँमा होमस्टे (घरबास) सञ्चालनको तयारी थालिएको छ । आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा वृद्धि, स्थानीय उत्पादनको प्रचारप्रसार तथा बिक्रीवितरण र स्थानीयको आयआर्जन बढाउने उद्देश्यसहित होमस्टे कार्यक्रमलाई अगाडि बढाइएको हो ।
यसैक्रममा शुक्रबार र शनिबार दुई दिनसम्म पूर्णगाउँका स्थानीयलाई होमस्टे कार्यक्रमको व्यवस्थापनसम्बन्धी तालिम दिइएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, लघु घरेलु तथा साना उद्योग विकास कोष काठमाडौंको आर्थिक सहयोग र नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा, म्याग्दीको आयोजनामा होमस्टे व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन गरिएको छ । तालिमको उदघाटन गर्दै मङ्गला गाउँपालिकाका अध्यक्ष शतप्रसाद रोकाले गाउँपालिका भित्र रहेका पर्यटकीय गन्तव्यका क्षेत्रमा गाउँपालिकामार्फत आवश्यक पूर्वाधारहरु निर्माणमा जोड दिइएको बताएका छन् ।

उनले नागरिकले राज्यलाई कर तिर्न सक्ने वातावरण बनाउन गाउँपालिकामार्फत विभिन्न आयआर्जनका कार्यक्रमहरु सञ्चालन गरिएको बताउँदै कार्यक्रमको स्थानीयवासीले अपनत्व लिएर सोही अनुसार अगाडि बढ्नुपर्ने धारणा राखे । उनले पर्यटकीय क्षेत्र टोड्केलाई लक्षित गरेर गतवर्ष म्याग्दी उद्योग वाणिज्य संघसँगको सहकार्यमा पूर्णगाउँमा होमस्टे तालिम, बराङ्जाको झाँक्रीपानीमा भ्यु–टावर निर्माण गरिएको जानकारी दिए ।

गाउँपालिका अध्यक्ष रोकाले पर्यटकीय क्षेत्र टोड्केको डिपिआर तयार गर्नका लागि मङ्गलाले १० लाख र रघुगङ्गा गाउँपालिकाले २० लाख रुपैयाँ बजेट विनियोजन गरेपनि बेनी नगरपालिकाले भने बजेट व्यवस्थापन गर्न नसक्दा डिपिआर तयार गर्ने काम रोकिएको जानकारी दिए ।

तालिमका सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै मंगला गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसीले तालिममा सिकेका ज्ञान, सिपलाई व्यवहारमा पूर्ण रुपमा उतार्न सहभागीलाई सुझाव दिएकी छिन् । उनले स्थानीयको आयआर्जन वृद्धि गर्नका लागि पालिकामार्फत आयआर्जनमूलक कार्यक्रमलाई प्राथमिकता दिइएको भन्दै स्थानीयवासी सक्रियतापूर्वक लाग्नुपर्ने बताइन् ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ गण्डकी प्रदेशका अध्यक्ष हरिहर थापाले होमस्टे कार्यक्रममार्फत स्थानीयको आयआर्जन बढाउनुपर्ने भन्दै स्थानीय उत्पादनलाई जोड दिन आग्रह गरे । तालिमका प्रशिक्षक घनश्याम गिरीले विश्वमै पर्यटन आर्थिक उपार्जनको गतिलो माध्यम भएकाले होमस्टेबाट मनग्य आम्दानी गर्न सकिने प्रशस्तै सम्भावनाहरु रहेको बताएका थिए ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ म्याग्दीका अध्यक्ष लिलाराम गौतमले महासंघको समन्वयमा उद्योगी, व्यवसायी र स्थानीयलाई लक्षित गरेर विभिन्न कार्यक्रमहरु सञ्चालन गरिने बताए । उनले आगामी दिनमा पनि स्थानीय तह र सरोकारवाला निकायसँग सहकार्य गरी आयआर्जनका कार्यक्रमलाई निरन्तरता दिने बताएका छन् ।

कार्यक्रममा मंगला गाउँपालिकाका कार्यकारी सचिव राजेन्द्र आचार्य, नेपाल टेलिभिजनका म्याग्दी जिल्ला संवाददाता प्रताप बानियाँ र होमस्टे तालिममा सहभागी टिकाकुमारी आचार्यले मन्तव्य राखेका थिए । महासंघका जिल्ला अध्यक्ष गौतमको अध्यक्षता र महासचिव अमर बानियाँको सञ्चालनमा सम्पन्न कार्यक्रम पूर्णगाउँ–टोड्के होमस्टे सञ्चालक समितिका अध्यक्ष दुर्गादत्त आचार्यको स्वागतमा सम्पन्न भएको थियो ।

Leave a Reply