बागलुङ बजारमा जारी दोस्रो मेयर कप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ । आइतबार बेनी नगरपालिकाले पोखरा महानगरपालिकालाई टाइब्रेकरमा ६–५ गोलअन्तर पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका हुन् । पहिलो खेलमा बेनी नगरपालिकाले सुरुवाती अग्रता लिएपनि जोगाउन नसक्दा जितको लागि टाइब्रेकरसम्म कुर्नुपरेको थियो। बेनीले खेलको २४ औं मिनेटमा निसान गुरुङको गोलबाट अग्रता लिएको थियो ।

पोखराका खेलाडीले खेलको ४६ औं मिनेटमा डिबक्स भित्र ह्यान्ड गरेपछि पाएको पेनाल्टीमा गोल गर्दै बेनीका सन्तोष पुनले गोलगर्दै २–० को अग्रता बनाएका थिए । २ गोल पछि परेको पोखराले निरन्तर आक्रमक खेल खेल्दै खेल्दा बेनीका ढानेन्द्र क्षेत्रीले ५० औं मिनेटमा आत्मघाती गोल गर्न पुगेका थिए । पोखराको लागि खेलको ६७ औं मिनेटमा गंगा गुरुङले गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याएका थिए । पेनाल्टीमा म्याग्दीका विश्वास थापा, सन्तोष पुन मगर, निशान गुरुङ, अजय रामजाली र ढानेन्द्र क्षेत्रीले गोल गरेका थिए ।

यस्तै सडनडेथमा रिमान मगरले गोल गरेका थिए । पोखराको लागि पेनाल्टीमा अञ्जन देवकोटा, बेलप्रसाद गुरुङ, अर्जुन राना मगर, हिरा गुरुङ र संगम डार्गिले गोल गरेका थिएभने सडन डेथमा रमेश थापा मगरको प्रहार म्याग्दीका गोलरक्षक निशान किसानले विफल पारिदिएका थिए । प्रतियोगितामा सोमबार सेमिफाइनलका खेलहरु हुनेछन् । पहिलो सेमिफाइनल बागलुङ नगरपालिका विरुद्ध भीमाद नगरपालिका तनहुँ र दोस्रो सेमिफाइनल बेनी नगरपालिका म्याग्दी विरुद्ध चौदण्डीगढी नगरपालिका उदयपुर विच हुनेछ ।

बागलुङ नगरपालिकाको आयोजना र जिल्ला फुटबल संघ बागलुङको समन्वयमा संचालित प्रतियोगिताको विजेताले उपाधिसहित ३ लाख, दोस्रोले २ लाख र सेमिफाइनल पुग्ने समान ६० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले दश हजार तथा उत्कृष्ट फरवार्ड, मिडफिल्डर, डिफेन्डर, गोलकिपर र उच्च गोलकर्ताले समान ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल २१ गते हुनेछ । अर्जुन कार्की

Leave a Reply