म्याग्दी जिल्लाको उत्तरी क्षेत्रमा पर्ने नारच्याङबाट अन्नपूर्ण हिमालको आधार शिविरमा पुग्ने छोटो पदमार्ग सञ्चालनमा आएको छ। पदमार्गलाई सडकले विस्थापित गरेपछि अलमलमा परेका पर्यटकलाई लक्षित गरी सेभेन समिट ट्रेकिङ एजेन्सीमार्फत गत वर्षदेखि सो पदमार्ग संचालनमा आएपछि अन्नपूर्ण बेस क्याम्प जाने सबैभन्दा छोटो पदमार्ग पत्ता लागेको हो।

अन्नपूर्ण गाउँपालिका-४ नारच्याङबाट निलगिरी खोलाको किनारैकिनार हुँदै तीनदिनमा ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको आधार शिविरमा पुगिने कम जोखिमपूर्ण पदमार्ग संचालमा ल्याइएको हो।

विश्वको उत्कृष्ट १० गन्तब्यभित्र पर्ने अन्नपूर्ण पदयात्रामा आउने पर्यटकले प्रयोग गर्ने पदमार्ग विस्थापित भएपछि नयाँ पदमार्गको आवश्यकतालाई मध्यनजर गरी तीन वर्ष अगाडिबाट निर्माण कार्य सुरु गरिएको पदमार्गको प्रयोग गरी पहिलोपटक अपाङ कोरियाली आरोही, पथप्रर्दशक र भरिया गरी २१ जनाको टोली शिविरमा पुगेको पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले बताए।

नारच्याङबाट सुरु हुने पदमार्गको पहिलो दिन कालोखोला, दोस्रो दिन फूलबारी, तेस्रो दिन आधार शिविर आसपासमा बास बसेर चौँथो दिन आधार शिविरमा पुगिन्छ। त्यस्तै, फर्कने बेलामा भरिया र पथ प्रदर्शक साढे दुई दिनमै नारच्याङ आउन सकिन्छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र स्थानीयबासीको करिव ६५ लाखको लागतमा निर्माण गरिएको पदमार्गमा होटल तथा लज नहुँदा आन्तरिक पर्यटकलाई भ्रमणमा समस्या हुने स्थानीयको भनाइ छ। पदमार्गमा एक्यापले अस्थायी काठेपुल, टहरा, झोलुङे पुल तथा जोखिमपूर्ण मार्गको मर्मत गरेको छ।

कोरियाली टोलीमा संलग्न सोलुखुम्बु जिल्लाका तेन्जी शेर्पाका अनुसार अग्ला पहाड हुँदै झर्ने झरना, जंगली जनावर, चराचुरुङी, वनस्पति, जडीबुटी र मनमोहक हिमाल यो पदमार्गको थप आकर्षण भएको बताए। अन्नपूर्ण हिमालमा समथर फाँट निलो तलाउ, तलाउनजिकै आँखामै ठोकिने अग्ला हिमालमा रमाएर फर्किनेहरूले समेत प्रचारप्रसार गर्ने गरेका छन्। विदेशीको रोजाइमा पर्ने अन्नपूर्ण हिमालको आरोहणका लागि मुस्ताङको लेतेबाट समेत जान सकिन्छ।

Leave a Reply