आफ्नो जन्मदिनमा महंगो खर्च गरेर मनाउने संस्कार नेपालमा भन्दा विदेशमा धेरै हुन्छ। धर्तीमा पाइला टेकेको दिनलाई आफन्त, साथीभाईलाई भोजभतेर गरेर उत्सवको रुपमा मनाउने संस्कार नै बसिसकेको छ । जन्मदिनमा फजुल खर्चलाई निरुत्साहित गदैं एक ब्यक्तिले हरेक जन्मदिनमा समुदायमा सहयोग गरी मनाउने गर्नुभएको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दाना घरभई हाल यूकेमा बस्दै आएका पूर्वब्रिटिस आर्मी कृष्ण तुलाचनले सोमबार जन्मदिनको अवसरमा ज्ञानप्रकाश माविमा एक कार्यक्रम गरी विपन्न ५० बालबालिकालाई न्यानो सुईटर वितरण गर्नुभएको हो। विद्यालयमा एक समारोहका बिच तुलाचनको तर्फबाट सुमन गिरीले विब्यस अध्यक्ष बेलबहादुर पूर्जा, प्रधानाध्यापक शान्ता नेपालीलाई न्यानो कपडा हस्तान्तरण गर्नुभएको छ।

आर्थिक अभावका कारण एकसरे कपडामा आउने गरेका विद्यार्थीलाई आवश्यक पर्ने सुईटरका बारेमा जानकारी गराएपछि जन्मदिनको अवसरमा सहयोग गर्नुभएको प्रअ नेपालले जानकारी दिनुभयो ।सहयोग हस्तान्तरण कार्यक्रममा विगतमा समेत समाजसेवी तुलाचनले जन्मदिनमा निरन्तर सहयोग गर्ने गरेको बताइएको थियो ।

करिव ५० हजार बराबरको न्यानो कपडा हस्तान्तरणको अवसरमा तुलाचनले युकेमा फ्रेन्डली ब्रदर दाना सेरोफेरो कम्युनिटमार्पmत ज्ञान प्रकाश उमाविको शैक्षिक विकासमा एक करोडभन्दा बढीको अक्षय कोष, विद्यालय जेहेन्दार विद्यार्थीलाई बर्षेनी छात्रबृत्ति वितरण, पूर्वाधार विस्तारमा विभिन्न सहयोगका साथै आफ्नो गाउँ दानालाई गीतसंगीतमार्फत प्रचारप्रसार गर्ने गरी विभिन्न म्यूजिक भिडियो समेत सार्वजनिक गरेको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष पूर्जाले बताउनुभयो । उहाँले प्रवासमा रहेका दानाबासीको सहयोगमा गाउँको विकासमा ठूलो योगदान पुगेको बताउनुभयो ।

सोही अवसरमा तुलाचनका प्रतिनिधि गिरीले यसअगाडी गाउँ बाहिर रघुगंगा गाउँपालिका वडा नं ३ मौवाफाँटमा रहेको ज्ञानोदय माविका दृष्टिविहिन विद्यार्थीका साथै जिल्ला बाहिर समेत सहयोग गरेको जानकारी दिनुभयो । ‘जन्मदिनका कुनै नयाँ योजना छैन,‘मलाई जन्मदिनमा अनावश्यक खर्च गर्न मन लाग्दैन’ तुलाचनको भनाई उद्धित गदैं गिरीले भन्नुभयो । जन्मदिनको अवसरमा विद्यालयका विद्यार्थीदेखि सामाजिक तथा मानविय सेवामा सक्रिय संघसंस्थालाई भविस्यमा समेत निरन्तर सहयोग गर्ने बताउनुभयो ।

Leave a Reply