गत मंगलवार दशैंका दिन भएको वेमौसमी खण्डवृष्टि र असिनाका कारण वर्खेवाली,तरकारी र फलफूल नष्ट भएपछि किसानलाई करोडौंको क्षति भएको छ ।

जिल्लाको बेनी नगरपालिका २ ज्यामरुककोट,मंगला गाउँपालिका वडा नं २ र ३ को बरंजा,सातविसे,लगाएतका ठाउँमा खण्डवृष्टि हुनुका साथै भीषण असिना परेपछि पाक्नै लागेको धान,कोदो,भटमास,बोडी,तरकारी लगाएतका खाद्यान्न,तरकारी र लहरेबालीमा क्षति पुगेको हो ।

४२ वर्ष पछि म्याग्दीमा भयानक खण्डवृटि भएको र यसले नराम्रोसंग क्षति पुर्याएको स्थानीय बूढापाकाहरुको भनाइ रहेको छ । २०३४ सालमा पनि बडादशैंको फूलपातीका दिनमा यस्तै भीषण खण्डवृष्टि भएको बेनी नगरपालिका २ गौश्वाराका ७० वर्षिय भद्रबहादुर रिजाले बताए ।

यसपाली अनौठो वर्षा र वर्षासंगै असिना परेको किसानहरुको भनाइ रहेको छ । उनीहरुका अनुसार एउटै गाउँमा पनि कतै वाख्लो असिना परेको थियो भने नजिकैको ठाउँमा भने सामान्य रुपमा पातलो असिना परेको थियो । खेतको एउटै गह्रामा पनि असिनाले कतै धानको एउटा पनि दाना नराखिकन झारेको छ भने कतै सामान्य मात्र क्षति पुर्याएको छ ।

बेनी नगरपालिका २ ज्यामरुककोटका वडाअध्यक्ष हिराबहादुर थापाले असिनाले ज्यामरुककोटमा मात्रै रु ७५ लाख बराबरको धान नष्ट गरेको बताए । उनका अनुसार ज्यामरुककोटको फापरखेत,भकुण्डे,तमाने,विमिराबोट,गौश्वारा लगाएतको १५ हजार मुरी धान उत्पादन हुने खेतमा लगाएको धान,भटमास र लहरेवालीमा क्षति पुगेको छ ।

त्यसैगरी मंगला गाउँपालिकाको वरंजा र सातवीसेमा पनि ठूलो परिमाणमा धानबालीमा क्षति पुगेको छ । बरंजामा गरिएको सुन्तला खेती असिनाका कारण पूर्णरुपमा नष्ट हुँदा ५० लाख भन्दा बढिको क्षति पुगेको कृषि प्राविधिक जगत बानियाँले जानकारी दिए । वरंजामा धान,कोदो र सुन्तलाखेतीमा क्षति पुगेको छ । सोही गाउँपालिकाको सातवीसेमा पनि पाक्नै लागेको धान असिनाले झारेपछि पराल मात्र बाँकी रहेको स्थानीय कविर रोकाले जानकारी दिए ।

असारमा अल्पबृष्टि,असोजमा खण्डबृष्टि
धान रोप्ने समय असार÷साउनमा पानी कम परेर किसानहरुलाई खेती लगाउन हम्मेहम्मे पर्यो । पर्याप्त वर्षा नभएपछि मूल फुटेन । पानीको अभावमा एक दिनमा सकिने खेत रोप्न किसानलाई ३ दिन लाग्यो । बल्लबल्ल रोपेको धान पाकेर थन्काउने बेलामा भीषण वर्षासंगै असिना परेपछि म्याग्दीका किसानहरु चिन्तित बनेका छन् ।‘असारमा समयमा नै पानी नपर्दा खेत रोप्न ढिला भयो । बल्लबल्ल रोपेको खेतमा धान पाक्नै लाग्दा असिनाले चुटेर सखाप बनायो‘ बेनी नगरपालिका २ का धु्रब घिमिरेले भने ‘यसपाली गाउँमा अनिकाल लाग्ने भयो ।

खड्गभवानी कोतमा क्षमा पूजा
दशैंका दिनमा नै गाउँमा असिना परेर धानबाली नष्ट गरेपछि म्याग्दीको बेनी नगरापालिका २ ज्यामरुककोट स्थित खड्गभवानी कोतमा सामुहिक क्षमापूजा गरिएको छ ।दशैंको नवरात्रभरी खड्गभवानी कोतमा नवदुर्गा भवानीको पूजाआजाका साथ बोका र राँगोको बलिदिई दशमी(टीका)को दिन शक्ति र सहकालको प्रतिक मानिने मौलोमा दही अक्षता चढाएर पूजा विर्सजन गरी सामुहिकरुपमा टीका ग्रहण गर्ने गरिन्छ ।

कोतमा पूजा गर्ने क्रममा कोही कसैबाट त्रुटि भएमा देवता रिसाएर प्राकृतिक विपत्ति र प्रतिकुल अवस्था सिर्जना गरिदिन्छन् भन्ने स्थानीयको विश्वास रहदै आएको खड्ग भवानी कोत पूजा तथा गुठी व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण घिमिरेले बताए । अध्यक्ष घिमिरेका अनुसार नवरात्र अवधि भर कोही कतैबाट कुनै त्रृटी भएको भए खड्गभवानीसंग क्षमा माग्दै अव यस्तो अनिष्ट नहोस् भनि बली सहित क्षमा पूजा गरिएको हो ।

क्षमापूजामा बेनपा २ का वडाअध्यक्ष हिराबहादुर थापा,कोतपूजा तथा गुठी व्यवस्थापन समितिका अध्यक्ष घिमिरे,स्थानीय बुद्धिजीवि तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।सहकालको कामना सहित सम्भावित अनिष्टबाट बँच्न क्षमापूजा गरिएको खड्गभवानी कोतका पुजारी हरिप्रसाद शर्माले बताए । उनका अनुसार नाग,महारानी,खड्ग,बराहा,मौलो र दर्गाको पूजा गरी सामुहिक रुपमा क्षमा मागिएको हो ।

Leave a Reply