म्याग्दी जिल्लामा साहित्यिक क्षेत्रमा क्रियाशील साहित्यिक संस्था म्याग्दी साहित्य सञ्चारले २०६ औँ भानु जयन्तीको अवसर पारेर यही असार २९ गते ‘रचना वाचन तथा स्रष्टा सम्मान’ कार्यक्रम गर्ने भएको छ । आफ्नो स्थापना कालदेखि नै हरेक भानु जयन्तीको दिन साहित्यिक कार्यक्रम गर्ने गरेको म्याग्दी साहित्य सञ्चारले यसपटक पनि जिल्लामा साहित्यिक ब्यक्तिहरुकाबीच कार्यक्रम गरेर म्याग्दी जिल्लाभित्र रहेर साहित्य क्षेत्रमा क्रियाशील साहित्य सर्जकलाई सम्मान गर्दै भानुभक्तका योगदानहरुलाई स्मरण गर्ने भएको हो ।
हरेक वर्षको असार २९ गते नेपाली साहित्य प्रेमीहरुले विभिन्न साहित्यिक कार्यक्रम गरेर आदिकवि भानुभक्तलाई सम्झने गर्दछन् ।भानुभक्तको जन्म धनञ्जय आचार्य र धर्मावतीदेवीका पुत्रको रूपमा तनहूँको रम्घामा विक्रम सम्वत १८७१ असार २९ गते भएको थियो भने वि.सं. १९२५ असोज ६ गतेका दिन यस धरतीबाट बिदबा भएका थिए ।
नेपाली साहित्यका प्राथमिक कालका प्रतिनिधि कवि हुन् । उनी वाल्मीकि रामायणका अनुवादकका रुपमा प्रख्यात छन् । मोतिराम भट्टले उनलाई पहिलो पटक नेपाली भाषाका आदिकवि उपाधि दिएका थिए । उनले प्रश्नोत्तर (वि.सं. १९१० ), भक्तमाला (वि.सं. १९१०), वधूशिक्षा(वि सं १९१९) ृ१े लगायतका कृतिहरू लेखेका छन् । उनका पाण्डुलिपिलाई सङ्ग्रह गरेर मोतिराम भट्टले पुस्तकाकारमा प्रकाशित गरेपछि उनी नेपाली साहित्यमा चिनिएका हुन् ।
बाजे श्रीकृष्ण आचार्यबाट शिक्षा पाएका यिनले एउटा घाँसीको घाँस काटेर पाटी पौवा बनाउने इच्छाबाट केही न केही गरी नाम कमाउने प्रेरणा पाएका थिए भन्ने भनाइ छ । उनी सानैमा नेपाली भाषाको कवितामा बोल्थे, कवितामा गाउँथे र कवितामा नाच्थे । एक पटक एक जना बटुवाले उनको परिचय माग्दा उनले कवितामा नै जवाफ दिएका थिएः
पहाड्को अति बेस देश् तनहुंमा श्रीकृष्ण ब्राहृमण् थिया ।
खुप् उच्चा कुल आर्यवंशि हुन गै सत्कर्ममा मन्दिया
विद्यामा पनि जो धुरन्धर भई शिक्षा मलाई दिया ।
इन्को नाति म भानुभक्त भनि हूँ यो जानि चिन्ही लिया ।
उनको योगदान
१९५ वर्षअघि उदाएका नेपाली वाङ्मयका ज्योति भानुभक्त आचार्य राणाकालीन् संकटपूर्ण, अस्थिर वातावरणभित्र रामको आदर्श सृष्टि गर्ने एक मार्गदर्शक हुन् । मनुष्य जीवन र सम्पूर्ण संसारका प्रतीक रागीवन र मृत्युका प्रतीक रामको राजमहलबाट वनबास यात्रा लोकहितका निम्ति जस्तो पनि काम गर्नुपर्छ भन्ने आदर्श उनले प्रचार गरे ।
नेपाली जगतमा एकैपल्ट भाषा, साहित्य, संस्कृति, धर्म, दर्शन, परम्परा, चरित्र, मर्यादा, पितृप्रेम, भ्रातृत्व, दाम्पत्य, कर्तव्य, देशप्रेम, जनवात्सल्य जस्ता समग्र विषयको समन्वय एवं समष्टि भाव प्रदान गरेर भानुभक्तले आदिकवि तथा नेपालको राष्ट्रिय विभूति जस्ता सम्मान पाएका हुन् ।