चन्द्रप्रकाश बानियाँ, सोह्रौं लोकसभाको लागि भारतमा चलिरहेको निर्वाचनमा प्रधानमन्त्री मोदीले ‘मैं चौकिदार हुँ’ भन्ने नारा अघि सारेपछी पटक–पटक नेपालको नाम पनि जोडिएर आउने गरेको छ ।नेपालीहरुको लागि पहिलो वैदेशिक रोजगारदाता मुलुक भारत हो । सदियौंदेखि मुग्लान र लाहुर जाने परम्परा नेपालमा चल्दै आएको छ ।नेपालीहरुले चौकिदारीभन्दा अनेकौ निम्न कोटीका मजदुरी गर्दै आएको कुरा तीतो सत्य हो ।
चौकिदारी (सेक्युरिटी) पेशा नेपाली कामदारहरुका लागि अपेक्षाकृत सम्मानजनक पेशा मानिदै आएको छ ।भारतबाहेक मलेशिया र खाडीका मुलुकहरुमा काम गर्ने नेपालीहरुबीच सेक्युरिटीको जागिर अहिले पनि विशेष मानिन्छ ।चौकिदारीको पेशा इमान्दारीसँग पनि जोडिएको छ । त्यसमाथि योग्यता अनुसारको श्रम कुनै पनि निन्दनीय मानिदैन । चौकिदारीभन्दा विदेशी सेनामा काम गर्नु अर्थात् भाडाको सैनिक पेशा मर्यादाका हिसाबले तुच्छ हो ।
थुप्रै नेपालीहरुले भारतका विभिन्न शहरहरुमा अहिलेसम्म पनि भरिया, कान्छा, घरेलु कामदारको रुपमा काम गरिरहेकै छन् । त्यस्ता कामहरु भन्दा चौकिदारी तुच्छ हो भन्न मिल्दैन ।चौकिदारीको लागि नेपाली खोजिनुको कारण सस्तो श्रमको लागि मात्रै होइन, नेपालीहरु इमान्दार र बहादुर हुन्छन भन्ने मान्यता पनि हो ।
त्यसैले प्रसङ्गबस कसैले नेपाललाई चौकिदारहरुको मुलुक भन्यो भनेर चित्त दुखाउनु आवश्यक छैन ।भारत र चीनजस्ता ठूला मुलुकको सिमामा लम्पसारिएको नेपाललाई ती दुबै देशले सिमा सुरक्षा गरिदिने चौकिदार मानेकै छन् । दुबै मुलुकको सुरक्षा चासोको ख्याल नेपालले राखिदिनुपर्छ भन्ने कूटनैतिक भाषाको अर्थ त्यही हो ।
नेपाल हाम्रा पुर्खाको बलिया पाखुरीको बलमा जोगिएको हो भन्ने संकथन प्रायोजित हो । सुगौली सन्धी भनेकै नेपालले लडाई हारेर गरिएको अपमानजनक सन्धी थियो । बलुचिस्तान, कस्मिर, नेपाल, सिक्किम र भूटानजस्ता साना मुलुकहरुको अस्तित्व जोगिनुमा चीन र इष्टइन्डिया कम्पनीहरुबीचको ‘जोगीदेखी भैंसी, भैसीदेखी जोगी डराई’ भनेजस्तै मनोविज्ञानको परिणाम थियो भन्ने कुरा नबुझ्नु भ्रममा बाँच्नु मात्र हो ।