म्याग्दीका क्रियाशिल पत्रकार प्रताप बानियाँले सोमबार आफ्नो जन्मदिनको अवसर पारेर ओमकुमारी शान्ति कोषलाई आर्थिक सहयोग गरेका छन् । बेनी नगरपालिका–५, पुलाचौरस्थित चिप्लेटी स्थायी घरभई हाल बेनीबजारमा बसेर पत्रकारिता गर्दै आइरहेका उनले जन्मदिनमा परोपकारी संस्था शान्ति कोषलाई सहयोग गरेका हुन् ।

आर्थिक रुपमा विपन्न तथा गरिब र न्युन आय भएका व्यक्तिहरुको उपचारमा आर्थिक सहयोग अभियान सञ्चालन गरेर जीवन बचाउँदै आएको शान्ति कोषलाई पत्रकार बानियाँले नगद पाँचहजार पाँचसय ५५ रुपैयाँ सहयोग गरेको कोषले जनाएको छ । शान्ति कोषको सचिवालयमा आयोजित एक कार्यक्रममा उनले कोषका अध्यक्ष राजेश शाक्यलाई रकम हस्तान्तरण गरेका थिए।

सहयोग हस्तान्तरणपछि कोषका अध्यक्ष शाक्यले पत्रकार बानियाँलाई खादा र कोषको व्याज लगाई आजीवन सदस्यताको प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रममा शान्ति कोषका उपाध्यक्ष तथा पत्रकार हरिकृष्ण गौतम, सचिव लोकेश पुनमगर, कोषाध्यक्ष खम थापामगर र सहसचिव विनय श्रेष्ठको उपस्थिति रहेको थियो । झण्डै एक दशकदेखि म्याग्दीको पत्रकारिता क्षेत्रमा क्रियाशिल बानियाँ स्थानीय रुप्से दैनिक पत्रिकाको सहसम्पादक हुन् । उनी सरकारी सञ्चारमाध्यम नेपाल टेलिभिजन तथा उज्यालो रेडियो नेटवर्कको म्याग्दी जिल्ला संवाददाताका रुपमा कार्यरत छन् ।

यसैगरी नेपाल समाचारपत्र, धौलागिरी टेलिभिजन, धौलागिरी एफएम, बेनी अनलाइनमा पनि पत्रकार बानियाँको संलग्नता रहेको छ । बेनी नगरपालिका–४, सिङ्गा थामडाँडाकी हाईपोप्लाष्टिक एनिमिया रोगबाट पीडित ओमकुमारी पुन शान्तिको उपचारका लागि स्थापना भएको तत्कालीन शान्ति बचाउ अभियान उनको निधनपश्चात् ओमकुमारी शान्ति कोषको रुपमा रुपान्तरण भएको हो । अभियानमार्फत कोषले १ सयजना बढीको उपचारमा सहयोग गरिसकेको छ ।

Leave a Reply