नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले एक वर्षमा एउटा पनि सम्झन लायक काम नगरेको बताएका छन् । नेपाली काँग्रेस बागलुङले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले ओली सरकार निर्मला पन्तको हत्यारा जोगाउन लागेको बताए । ‘केपी ओलीको नेतृत्वमा सरकार गठन भएको एक वर्ष पूरा भैसकेको छ,’ उनले भने,‘अहिलेसम्म सरकारले एउटा पनि सम्झन लायक काम गरेको छैन ।

सिंहदरबारकै वरिपरि रहेको निर्मला पन्तको हत्यारालाई कारबाही नगरी जोगाउन लागेको छ । हत्या हिंसा र बलत्कार बढेको छ ।’ देउवाले सरकार प्रेस र अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित पारेर प्रजातन्त्र कमजोर बनाउने खेलमा लागेको आरोप बताए । ‘यो सरकार गठन भए देखि नै लोकतन्त्रलाई कमजोर बनाउने खेलमा लागेको छ,’ देउवा भन्छन्,‘अहिले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतलाई कुण्ठीत बनाउने र लोकतन्त्र मास्ने काममा सरकार उद्यत देखिन्छ ।’ एक वर्षमा प्रधानमन्त्रीले जे मनमा लायो त्यही बोलेर बिताएको उनको आरोप छ ।

‘समृद्धि उत्पट्याङ बोलेर आउँदैन, सरकारले कर मात्रै बनाएर जनतलाई मारमा पारेको छ । केपी ओलीको नाम करप्रसाद ओली राख्दा पनि हुन्छ,’ उनले भने । संविधान कार्यान्वयन र देशलाई अस्थीरताबाट रोक्नका लागि काँग्रेसले चुनाव हार्ने परिश्थीति हुँदा हुँदै निर्वाचन गरेको उल्लेख गरे । ‘दुईटा दल मिलेपछि हामीले चुनाव जित्न कठिन थियो, तर संविधान कार्यान्वय नहुँदा देशमा थप जटिलता आउने देखेर मैले निर्वाचन गराएको हुँ,’ देउवाले भने । उनले काँग्रेसलाई मजबुत बनाउनका लागि विधानलाई थप समावेशी बनाउँदै लगेको बताए ।

‘हामीले महिलाका लागि ३३ प्रतिशत विधानमै सुरक्षित गरेका छौं,’ देउवाले भने,‘विभीन्न जातजाति र सुमदायका लागि पनि सबैलाई समान अपनत्व हुनेगरी विधान बनेको छ । हामी पार्टीलाई बलियो बनाउने अभियानमा लागेका छौं । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी ओलीको राष्ट्रवाद सिके राउतको पाउ परेको बताए । ‘हामीले एक वर्ष अगाडी चुनाव नहार्नु पथ्र्यो हारिहल्यौं,’ शर्माले भने,‘अहिले लाग्छ हामीले चुनाव हारेर ठिकै भयो, केपी शर्मा ओलीको असली राष्ट्रवादी रुप जनताले देख्न पाएका छन् । ओलीको राष्ट्रवाद अहिले सिके राउतको पाउमा पुगेर लम्पसार परेको छ ।’