बागलुङ जिल्लाको जैमिनी नगरपालिका–८ छिस्तीमा मंगलबार साँझ पिकअप भ्यान दुर्घटना हुँदा एकै विद्यालयका तीन छात्रा र लेखापालकोे मृत्यु भएको छ । ध १ ज ७९१ नम्बरको पिकअप भ्यान छिस्तीको रापुङ्गभिरमा दुर्घटना हुँदा जनकल्याण माध्यमीक विद्यालयका लेखापाल टिका भनिने तुलसी पुन सोही विद्यालयमा अध्ययनरत छात्राहरु एलिना पुन, प्रियंका पुन र ज्योती पुन रहेको जैमिनी नगरपालिका ८ छिस्तिका वडा सदस्य कर्ण सिंह पुनले जानकारी दिए ।

दुर्घटनामा परि १२ जना घाईते भएका छन् । घाईते मध्ये गम्भिर अवस्थामा रहेका धना श्रीष, बिष्ना श्रीष, संगम श्रीष र सम्झना पुनलाई धौलागिरी अञ्चल अस्पतालमा समान्य उपचार पछि थप उपचारका लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरा पठाईएको प्रहरीले जनाएको छ । बाँकी सात जना मध्ये कृष्ण पुन, सविना थापा, नन्दकली श्रीष, निर्मला पुन र पुजा पुनको धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

बाँकी दुईजना समान्य उपचार पछि घर फर्किएका छन् । जीपमा करिव २५–३० जना यात्रु रहेको प्रहरी चौकी बेलवगरका प्रहरी जवान शंखर थापा क्षेत्रीले जानकारी दिए । समान्य घाईते भएकाहरुलाई छिस्छी स्वास्थ्य चौकीमा उपचार पछि घर पठाईएको थियो ।निकै भिरालो जमिनमा दुर्घटना भएकाले उद्दारमा समेत समस्या भएको क्षेत्रीले बताए ।

छिस्तीको जनकल्याण माविको वार्षिकोत्सव मनाएर घर फर्किदै गरेका विद्यार्थी अभिभावक सवार पिक अप भ्यान दुर्घटनामा परेको जैमिनी नगरपालिकाका उप–प्रमुख लिला रानाले बताए । सडकदेखि करिव ७ सय मिटर तल खसेको जीपमा के कति मानवीय क्षती भयो भन्ने एकिन हुन सकेको छैन । उद्दारका लागि जिल्ला प्रहरी कार्यालय बाट प्रहरीको टोलि घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ । अफ्ठेरो भिरमा दुर्घटना भएकाले मृतकको संख्या बढ्न सक्ने स्थानियले बताएका छन् । पिकअप भ्यानका चालक प्रविन पुन सामान्य घाईते भएकाले छिस्ती स्वास्थ्य चौकीमा समान्य उपचार प्रस्चात घर फर्किएको चालकका पिता नुर बहादुर पुनले बताए ।