टन्न खाना खाएपनि केही मानिसलाई छिनछिनमा भोक लागिरहेको हुन्छ । पेटको भोक शान्त पार्न तपाईं हलुका भोजन गर्नुहोला तर त्यो खाएको आधी घन्टामा फेरि भोक लाग्छ । त्यसो त भोक लाग्नु राम्रै हो तर आवश्यकताभन्दा बढी भोक लाग्नुमा कुनै रोग कारण हुनसक्छ ।

प्रोटीन र फाइबरको कमी
भोजनमा प्रोटीन र फाइबर सही मात्रामा हुनुपर्छ । खानामा यसको कमी भएमा व्यक्तिको पेट भरिन्न र जतिखेर पनि भोक लागेजस्तो हुन्छ । प्रोटीन र फाइबरयुक्त खानेकुरा खाँदा पेट भरिएजस्तो हुन्छ ।

क्यालोरीको कमी
शरीरलाई काम गर्नका लागि सम्पूर्ण आहार जरूरी हुन्छ । कम क्यालोरीयुक्त भोजनले छिट्टो भोक लगाउँछ । जतिखेर पनि खाना नखाएको अनुभव हुन्छ । त्यसैले क्यालोरीले भरपूर खानेकुरा खानुस् ।

अधूरो निद्रा
प्रत्येक व्यक्तिले कम्तीमा आठ घन्टा सुत्नुपर्छ । यसो गर्दा व्यक्ति ऊर्जाशील हुन्छ । पूरा निद्रा लिँदा पेट ठीक रहन्छ र बारम्बार भोक लाग्दैन ।

बिहान नाश्ता नगर्ने
केही मानिस बिहानको खाना खाँदैनन् । यसले गर्दा शरीरमा विभिन्न किसिमका समस्या आउँछन् र जतिखेर पनि भोक लागेजस्तो हुन्छ । नाश्तामा प्रोटीनयुक्त खानेकुरा संलग्न गर्दा बारम्बार भोक लाग्ने समस्या हट्छ ।

छिटोछिटो खाने
केही मानिस हतार हतारमा खाना खान्छन् । नचपाइकन खाँदा खानेकुरा पच्दैन । अनि पेटसम्बन्धी समस्या आइलाग्छ । त्यसैले खानेकुरा जहिलेपनि चपाएर खानुस् । खाना जति राम्ररी पच्छ, त्यति कम भोक लाग्छ ।