केही सातादेखि मौसमी रुघाखोकी फैलिरहेकाले सतर्क हुन चिकित्सकहरूले सुझाव दिएका छन् । काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा यसको प्रकोप फैलिरहेको उनीहरूले बताएका छन्।

रुघा लाग्ने, खोकी लाग्ने, घाँटी दुख्ने र ज्वरो आउने लगायतका समस्या लिएर अस्पताल आउनेहरूको संख्या बढ्दै गएको चिकित्सकहरूले जनाएका छन् । काठमाडौंस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसार दैनिक औसत २५ बिरामी उपचारमा आउने गरेका छन् । यस्ता बिरामी नियमित भन्दा १५ प्रतिशतले बढिरहेको वीर अस्पताल मेडिकल विभागले जनाएको छ।

धेरैजसो बिरामी नजिकका मेडिकल तथा निजी अस्पताल जाने कारण सरुवा रोग अस्पतालमा सबै आइनपुगेको अस्पतालका अनुसन्धान विभाग संयोजक डा. शेरबहादुर पुनले बताए । ‘बिरामीको नियमित स्थिति हेर्दा मौसमी रुघाखोकी धेरै नै फैलिसकेको देखिन्छ,’ उनले भने।

गर्मी सकिने र जाडो सुरु हुने संक्रमणकालीन समयका कारण मानिसहरूले न्यानो लुगा नलगाउँदा, वर्षात् सकिएकाले धुलो उड्न थालेको तथा दसैंका कारण मानिसको आवतजावत बढेका कारण पनि मौसमी रुघाखोकी बढेको वीर अस्पतालका वरिष्ठ फिजिसियन डा. धु्रव गैर बताउँछन्।

मेडिकलबाट किनेर जथाभाबी औषधि खाने र निको नभएपछि मात्र अस्पताल वा चिकित्सककोमा आउने बिरामी धेरै भएको उनले बताए । मौसमी रुघाखोकीलाई सामान्य ठानेर जथाभाबी औषधी खाँदा स्वास्थ्यमा उल्टो असर पर्ने डा. गैरे बताउँछन्।

उनका अनुसार उपचारमा आएकामध्ये ८० प्रतिशत बिरामी पहिल्यै औषधि खाएर निको नभएका छन् । रुघाखोकी बिग्रेर निमोनिया भएपछि तथा श्वास–प्रश्वास सम्बन्धी पुराना रोग भएकाहरू दम बढेको अन्योलमा परेर उपचारमा आउने गरेका छन् । यसबाहेक घाँटी दुख्ने, आँखा चिलाउने÷दुख्ने, ज्वरो आउने, शरीर दुख्ने, सुक्खा खोकी लाग्ने, रुघा लाग्ने लगायतका समस्या लिएर अस्पताल आउने गरेका छन्।

औषधि पसलबाट आफूखुसी औषधि किनेर खाँदा मात्रा नमिलेर काम नगर्ने, कतिपय अवस्थामा औषधि नै अर्काे पर्ने हुनाले रोग झन् जटिल बन्दै जाने जोखिम हुन्छ । जथाभाबी एन्टिबायोटिक प्रयोगले शरीरमा रोगसँग लड्ने प्रतिरक्षा प्रणाली नै कमजोर हुनेजस्ता खतरा निम्तिने भएकाले चिकित्सकको सल्लाहबिना कुनै पनि औषधि नखान डा. गैरैको सुझाव छ । उनी भन्छन्, ‘नेपालमा एन्टिबायोटिक रेजिसटेन्स बढेकाले अन्य देशमा काम गर्ने एन्टिबायोटिकले नेपालमा कामै गर्न छोडेका छन्।’

मौसमी रुघाखोकीको समयमै उपचार नभएमा निमोनिया हुने तथा श्वास–प्रश्वास सम्बन्धी अन्य अंगहरूमा संक्रमण बढाउने भएकाले बेलैमा सतर्क रहन चिकित्सकले सुझाव दिएका छन् । मौसमी रुघाखोकी भनेर उपचारमा आउने बिरामीमा इन्फ्लुएन्जा भाइरसको जस्तै लक्षण समेत देखिएकाले यसलाई सामान्य ठानेर हेलचक्र्याइँ नगर्न सरुवा रोग अस्पतालका अनुसन्धान विभाग संयोजक डा. पुन सुझाव दिन्छन् । ‘ल्याब परीक्षण भएको छैन, तर लक्षण हेर्दा इन्फ्लुएन्जा जस्तो देखिन्छ,’ उनले भने।

मौसम परिवर्तन हुँदा देखिने मौसमी फ्लुको समयमै उपचार नगर्दा विशेष गरी बालबालिका र दमका रोगीहरूलाई यसले बढी दुःख दिने भएकाले यस्ता उमेरकालाई विशेष सतर्क रहन चिकित्सकको सुझाव छ । मौसमी रुघाखोकीको बेलैमा उपचार नगर्दा युवाहरूमा पनि किटाणुजन्य संक्रमणले जटिलता ल्याउने भएकाले सबैले सचेत रहनुपर्ने उनीहरू बताउँछन्।

सकेसम्म सामूहिक भेटघाटमा कम जाने, सार्वजनिक सवारीसाधनमा यात्रा गर्दा मास्कको प्रयोग गर्न नछुटाउने, सार्वजनिक गाडी तथा भवनका झ्याल, ढोका, चुक्कुल आदि छोएपछि साबुन पानीले राम्रोसँग हात धुनुपर्ने चिकित्सकहरूको सुझाव छ । किनकि यस्ता स्थानबाट फ्लुका भाइरस एकबाट अर्कोमा सर्ने खतरा हुन्छ । यस्तै प्रभावित व्यक्तिनजिक बस्दा पनि भाइरस सर्ने भएकाले मास्कको प्रयोग गर्नुपर्ने चिकित्सको सल्लाह छ।

होसियारी अपनाउँदा अपनाउँदै पनि मौसमी रुघाखोकीको संक्रमण भइहालेमा भने युवा तथा प्रतिरक्षा क्षमता बलियो भएकाहरू एक÷दुई घरैमा  आराम गरेर बस्ने, झोलकुरा प्रशस्त खाने, रुघाखोकीमा राहत दिने किसिमका खानेकुराहरू खाने, धुलो र चिसोमा बढी नहिंड्ने गरेमा केही दिनमा निको पनि हुन सक्छ।

तर दम, दीर्घरोगी, बालबालिका, वृद्धहरूले भने रुघाखोकीका लक्षण देखिनेबित्तिकै चिकित्सकको निर्देशनमा औषधि लिनुपर्ने डा. गैरेको सुझाव छ।

लक्षणहरू
– सुक्खा खोकी लाग्ने
– ज्वरो आउने
– घाँटी दुख्ने
– आँखा दुख्ने
– टाउको दुख्ने
– रुघा लाग्ने

कसरी बच्ने ?
– सकेसम्म हुलमुलमा नजाने
– जानै परे मास्कको प्रयोग गर्ने
– रुघाखोकी लागेका व्यक्तिबाट टाढा बस्ने
– सार्वजनिक शौचालय तथा सवारीसाधन प्रयोग गरेपछि राम्रोसँग हात धुने
– हात धुनुअघि नाक, आँखा र मुख नछुने
– धुलो–धुवाँबाट बच्ने
– चिकित्सकको सल्लाहमा मात्र औषधि खाने