जाडोका बेला देखिने समस्याहरुमा सामान्य रुघाखोकीदेखि ज्वरोसम्म पर्दछन् । कसैलाई चिसोको एलर्जी हुन्छ । साथै अहिलेको समय रुघाखोकीले सताउने बेला पनि हो । मुटुका विरामीले पनि जाडोमा आफूलाई बढी ख्याल गर्नुपर्छ । वालवालिका र वृद्धवृद्धाहरुलाई पनि जाडो मौसम कष्टदायक हुन्छ ।

रुघाखोकी र ज्वरो

चिसो मौसमका कारण मानिसलाई दम, रुघाखोकी, ज्वरो लगायतको समस्या उब्जने गर्छ । चिसो मौसममा विभिन्न रोगका जिवाणु हावामा लामो समयसम्म बाँच्न सक्ने हुँदा यसले शरीरमा विभिन्न रोग निम्त्याउने गर्छ । चिसोकै कारण मानिसहरु एक आपसमा टाँसिएर बस्नाले पनि रुघाखोकी तथा ज्वरो सजिलै सर्छ ।

यसबाट बच्न रोगको सम्पर्कमा आउनबाट आफूलाई सुरक्षित राख्नु पर्छ । खाना खानुअघि राम्ररी साबुनपानीले राम्ररी हात धुनुपर्छ । साबुन छैन भने स्यानिटाइजरको प्रयोग गर्नुपर्छ । त्यस्तै, मुख छोपेर हाछ्उिँ गर्नुपर्छ । बालबालिकालाई आवश्यक खोप लगाएर पनि चिसोका कारण हुने समस्याबाट बचाउन सकिन्छ ।

चिसोको एलर्जी

कयौं मानिसलाई चिसोका कारण शरीरमा विभिन्न एलर्जी हुने गर्छ । यसले गर्दा शरीरमा दम, रुघाखोकी लगायतको समस्या उत्पन्न हुन्छ । अझ कयौंलाई पहिले नै दम छ भने पनि चिसो बढ्दै गएपछि उक्त झन् बढ्न थाल्छ ।

त्यसबाट बच्न न्यायो लुगा लगाउनुपर्छ । सकेसम्म आफ्नो वरिपरि तातो बनाएर राख्नुपर्छ । मनतातो पानी पिउनुपर्छ । धेरै चिसोमा घरबाट बाहिर ननिस्कनु नै उपर्युक्त हुन्छ ।

मुटुसम्बन्धी समस्या

चिसो मौसमले मुटुलाई समेत असर गर्ने हुँदा चिसोबाट जोगिनु जरुरी छ । चिसोले मुटुमा सिधै असर पुर्‍याउँछ । चिसोका कारण रक्तनली साघुँरिएर यसले रक्त प्रवाहमा असर पार्छ र यसले हृदयाघातको सम्भावना बढेर जान्छ ।

यसबाट बच्न धेरैबेरसम्म चिसोमा नबस्ने । बस्नै परे पनि न्यायो लुगाको प्रयोग गर्ने ।

छालाको समस्या

चिसो मौसममा पानी कम खानाले छालामा पानीको मात्रा कम हुन्छ । चिसोकै कारण छालाको नरमपना हराएर छाला खस्रो हुने समस्या आउन सक्छ । यसले गर्दा हात तथा खुट्टा फुट्ने गर्छ ।

यसबाट छालालाई बचाउन दिनहुँ ग्लिसिरिनको प्रयोग उचित हुन्छ । त्यस्तै, मोइस्चराइजर क्रिमको प्रयोग पनि राम्रो मानिन्छ । त्यस्तै जाडो मौसममा तातोपानीले भन्दा मनतातो पानीले नुहाउनु उचित मानिन्छ ।

हाइपोथर्मिया

यति गर्दागर्दै पनि जाडो मौसममा चिसोका कारण शरीरको तापक्रम कम हुने गर्छ । यसलाई सामान्य भाषामा ‘हाइपोथर्मिया’ भनिन्छ । विशेष गरी वृद्धवृद्धामा यो समस्या धेरै हुने भएकाले जाडो मौसममा उनीहरुलाई विशेष ध्यान दिनुपर्छ । त्यसका लागि वृद्धवृद्धालाई न्यायो पारेर राख्नुपर्छ ।

यति गर्दागर्दै पनि यदि उनीहरुको शरीरको तापक्रम घट्दै गयो र शरीर कडा हुँदै गयो भने तत्काल चिकित्सकका लैजानु उचित हुन्छ । यसबाहेक अन्य मानिसलाई पनि कहिलेकाहीँ चिसोका कारण शरीरको तापक्रम कम हुने समस्या देखा पर्छ । त्यो अवस्थामा यदि शरीरको तापक्रम निकै नै घटेको देखिएमा तुरुन्त चिकित्सकको सल्लाह अनुसार उपचार गर्नुपर्ने हुन्छ यस्तो समस्या बढीजसो चिसो ठाउँमा बस्ने मानिस, सडक बालबालिकाका साथै वृद्धवद्धा लगायतमा देखिने गर्छ ।